बुटवल । यही पुस १४ र १५ गते (डिसेम्बर २९ र ३०) मा भारतको पुनेमा हुने १७ औं अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनसिप–२०८२ प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापान गोजुरियो कराते डो मिसन संघ, नेपालको नेतृत्वमा नेपाली करातेको टीमले उक्त प्रतियोगितामा भाग लिने संघले मंगलबार रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक केबि राना काजीका अनुसार प्रतियोगितामा २२ जना खेलाडी, अफिसियल र सञ्चारकर्मीसहित २८ जनाको टोली भारत जानेछ । विगतका प्रतियोगितामा जस्तै यस वर्ष पनि नेपाली कराते खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी स्वर्ण पदक जितेर नेपालको नाम उचो बनाउने रानाले विश्वास व्यक्त गरे । पुस ९ गते बुधबार तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले खेलाडीलाई नेपालको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने अधिकांश खेलाडी लुम्बिनी प्रदेशबाट छन् ।
संघका केन्द्रीय सचिव गिरीप्रसाद पुनले कराते पुस ११ गते बिहीबार बिहान १० बजे बेलहिया नाकामा बिदाई कार्यक्रमपश्चात टोली भारत प्रस्थान गर्ने जानकारी दिए ।
संघका प्रमुख सल्लाहकार भरतबहादुर केसीले जापान गोजुरियो कराते डो मिसन संघ, नेपाल संघर्षमै हुर्किएको संस्था भएको बताए । उनले मित्रराष्ट्र भारतमा हुने प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर नेपालको नाम विश्वमै चिनाउन सफल हुने विश्वास व्यक्त गरे । सो प्रतीयोगीतामा भारत ,नेपाल, बंगलादेश,भुटान माल्दिभस ल गायतका देशहरुबाट खेलमा सहभागी हुनेछन् ।
संघका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापा लाटोमगरले सन् २००३ सालदेखि जापान गोजुरियो कराते डो मिसन संघ, नेपालको टीम अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुँदै आएको जानकारी दिए ।
