रमेश पराजुली
बुटवल। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा झण्डै ३४ लाख मतदाता कायम भएका छन् । १७ लाख १५ हजार १६३ जना पुरुष, १६ लाख ७१ हजार ४७९ जना महिला र अन्य मतदाता ३८ जना गरी कुल ३३ लाख ८६ हजार ६८० जना रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले जनाएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार बागमती र कोसी प्रदेशपछि मतदाता संख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको छ ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ वटा निर्वाचन क्षेत्रमा झण्डै ६ सय उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसमा ३९४ जना उम्मेदवार राजनीतिक दलका र २०५ जना स्वतन्त्र रहेका छन् । कुल उम्मेदवारमध्ये ५४३ जना पुरुष र ५६ जना महिला उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा कुल १ हजार ६७१ वटा मतदान स्थल र ३ हजार ९९८ वटा मतदान केन्द्र तोकिएको छ । तराईका जिल्लाहरू रुपन्देही, कपिलवस्तु, बाँके, दाङ मतदाता संख्यामा अगाडि छन् भने पहाडी जिल्लामा मतदाता संख्या केही कम छ ।
यसअघि २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा लुम्बिनीमा ३२ लाख ४९ हजार ६३७ जना मतदाता थिए । उक्त निर्वाचनपछि १ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् । ०७९ को निर्वाचनमा यो प्रदेशमा १ हजार ६४९ मतदानस्थल कायम गरिएको थियो भने, ३ हजार ८६१ मतदान केन्द्रहरू स्थापना गरिएका थिए ।
कुन जिल्लामा कति मतदाता, उम्मेदवार र मतदान स्थल ?
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रूपन्देहीमा छन् भने प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा सबैभन्दा कम मतदाता छन् । यस्तै उम्मेदवार पनि रुपन्देहीमा सबैभन्दा धेरै र रुकुम पूर्व र रोल्पामा सबैभन्दा कम रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी कुँवरले जानकारी दिए । यस्तै मतदान स्थल भने कपिलवस्तुमा सबैभन्दा धेरै रहेका छन् ।

रुपन्देहीमा ३ लाख ४६ हजार २०३ जना पुरूष, ३ लाख २६ हजार ३११ जना महिला र ९ जना अन्य मतदाता गरी कुल ६ लाख ७२ हजार ५२३ जना मतदाता छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा राजनीतिक दलतर्फ ९४ जना र स्वतन्त्रतर्फ ६३ जना गरी कुल १५७ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ २०९ वटा मतदान स्थल र ७३२ वटा मतदान केन्द्र तोकिएको छ । रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
दोस्रोमा दाङमा २ लाख १३ हजार ३८० पुरूष, २ लाख १८ हजार ३०३ जना महिला र ३ जना अन्य गरी ४ लाख ३१ हजार ६८६ जना मतदाता छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दलतर्फ ४३ जना र स्वतन्त्रतर्फ १९ जना गरी कुल ६२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १५९ वटा मतदान स्थल र ४८२ वटा मतदान केन्द्र तोकिएको छ । दाङ क्षेत्र नम्बर–३ का २ जना उम्मेदवारले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै, मतदाता संख्याका आधारमा कपिलवस्तु तेस्रो नम्बरमा छ । यहाँ २ लाख ११ हजार ८४६ जना पुरूष, १ लाख ८४ हजार ४१५ जना महिला र ४ जना अन्य गरी कुल ३ लाख ९६ हजार २६५ जना मतदाता छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा राजनीतिक दलतर्फ ४९ जना र स्वतन्त्रतर्फ पनि ४९ जना गरी कुल ९८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ २३५ वटा मतदान स्थल र ४९० वटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले बताए ।
यस्तै बाँकेमा १ लाख ७ हजार १३९ जना पुरूष, १ लाख ७२ हजार २२३ जना महिला र ९ जना अन्य गरी कुल ३ लाख ५० हजार ३७१ जना मतदाता छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा राजनीतिक दलतर्फ ४९ जना र स्वतन्त्रतर्फ ११ जना गरी कुल ६० जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १३९ वटा मतदान स्थल र ४०० वटा मतदान केन्द्र तोकिएको छ ।
यस्तैगरी, गुल्मीमा १ लाख १४ हजार ३३७ जना पुरूष, १ लाख १५ हजार २१० जना महिला र २ जना अन्य गरी कुल २ लाख २९ हजार ५४९ जना मतदाता छन् । २ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा राजनीतिक दलतर्फ २० जना र स्वतन्त्रतर्फ २३ जना गरी कुल ४३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १५४ वटा मतदान स्थल र २८४ वटा मतदान केन्द्र तोकिएको छ ।
पाल्पामा १ लाख १ हजार ८९३ जना पुरूष र १ लाख ५ हजार ५४३ जना महिला गरी कुल २ लाख ७ हजार ४३६ जना मतदाता छन् । २ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा राजनीतिक दलतर्फ २३ जना र स्वतन्त्रतर्फ ७ जना गरी कुल ३० जना उम्मेदवार चुनावी मैदानमा होमिँदा ११८ वटा मतदान स्थल र २५१ वटा मतदान केन्द्र तोकिएको छ ।
अर्घाखाँचीमा ८७ हजार १ सय ५७ जना पुरूष र ८४ हजार ४९५ महिला गरी कुल १ लाख ७१ हजार ६५२ जना मतदाता छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राजनीतिक दलतर्फ १२ जना र स्वतन्त्रतर्फ ३ जना गरी कुल १५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १०२ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै प्युठानमा ८१ हजार ३६६ जना पुरूष, ८४ हजार ३९ जना महिला र १ जना अन्य गरी कुल १ लाख ६५ हजार ४०६ जना मतदाता छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानमा राजनीतिक दलतर्फ १४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । प्युठानमा स्वतन्त्र उम्मेदवार छैनन् । यहाँ १०५ वटा मतदान स्थल र २३० वटा मतदान केन्द्र तोकिएको छ ।
रोल्पामा ७४ हजार ६९० जना पुरूष र ७४ हजार ९०७ जना महिला गरी कुल १ लाख ४९ हजार ५९७ जना मतदाता छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा राजनीतिक दलतर्फ १० जना र स्वतन्त्रतर्फ २ जना गरी कुल १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ ८६ वटा मतदान स्थल र १८० वटा मतदान केन्द्र तोकिएको छ ।
बर्दियामा १ लाख ५९ हजार ३८७ जना पुरूष, १ लाख ६३ हजार ८७३ जना महिला र ६ जना अन्य गरी कुल ३ लाख २३ हजार २६६ जना मतदाता छन् । २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा राजनीतिक दलतर्फ ३६ जना र स्वतन्त्रतर्फ ४ जना गरी कुल ४० जना उम्मेदवार चुनावी मैदानमा होमिँदा यहाँ १५४ वटा मतदान स्थल र ३०७ वटा मतदान केन्द्र तोकिएको छ ।
यस्तैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १ लाख २९ हजार १८३ जना पुरूष, १ लाख २४ हजार ९७० महिला र ४ जना अन्य गरी कुल २ लाख ५४ हजार १५७ जना मतदाता छन् । २ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासी पश्चिममा राजनीतिक दलतर्फ ३३ जना र स्वतन्त्रतर्फ २३ जना गरी कुल ५६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ १२२ मतदान स्थल र २९७ वटा मतदान केन्द्र तोकिएको छ ।
रूकुम पूर्वमा १७ हजार ५८२ जना पुरुष र १७ हजार १९० जना महिला गरी कुल ३४ हजार ७७२ जना मतदाता छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रूकुम पूर्वमा राजनीतिक दलतर्फ ११ जना र स्वतन्त्रतर्फ १ जना गरी कुल १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने यहाँ ४४ वटा मतदानस्थल र ५६ वटा मतदान केन्द्र तोकिएको सूचना अधिकारी कँवरले बताए ।
