गोकर्ण विष्ट: गाउँदेखि सहरसम्मका मतदाता भेट्न व्यस्त

मेचीकाली संवाददाता

२१ माघ २०८२, मंगलवार
105 shares

बुटवल । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । विकासप्रेमी नेताको छबी बनाएका गुल्मी क्षेत्र नम्बर २ का एमाले उम्मेदवार गोकर्ण विष्ट मतदातासँगको भेटघाटमा व्यस्त देखिएका छन् । उम्मेदवारी दर्तापछि उनलाई दिनहुँ मतदाताहरुलाई भेटेर पीरमर्का र समस्या बुझ्न र सुझाव संकलन गर्न भ्याईनभ्याई छ ।
मतदाता पहाडमै भएर पनि अध्ययन, रोजगारी र व्यापारका लागि रुपन्देहीमा बस्ने गुल्मेली धेरै छन् । त्यसैले निर्वाचन क्षेत्रका गाउँगाउँमा पहिलो चरणको कार्यक्रम सकेर विष्ट रुपन्देहीमा रहेका मतदाता भेट्न बुटवल झरेका छन् । उनलाई प्रत्यक्ष रुपमा भेटेरै आफ्ना समस्या सुनाउन पाउँदा मतदाताहरु पनि उत्साहीत देखिन्छन् ।

बुटवलमा गुल्मी धुर्कोट–रुपन्देही सम्पर्क समाज, इस्मा–रुपन्देही सम्पर्क समाज, मदाने–रुपन्देही सम्पर्क समाज, मालिका–रुपन्देही सम्पर्क समाज, मुसीकोट–रुपन्देही सम्पर्क समाज, रेसुंगा–रुपन्देही सम्पर्क समाजमार्फत् मतदाताहरुसँग भेटघाट र छलफल गरीरहेका छन् । अझै केही दिन बुटवल र यस आसपासमा रहेका मतदाताहरुसँग छलफल अन्तक्र्रिया गरेपछि मात्रै उनको गुल्मी फर्किने कार्यक्रम छ । एमाले उपाध्यक्षसमेत रहेका नेता विष्टले भने, ‘बुटवल आसपासमा रहनुभएका मतदाताहरुसँग भेटघाटपछि मात्रै जिल्ला फर्किन्छु ।’

पूर्वमन्त्रीसमेत रहेका विष्टले मतदातासँग भेटघाटसँगै चुनावी योजनासमेत बनाइरहेको बताए । जनताको अपार माया, सद्भावले उत्साहित बनाएको उनको भनाइ छ । ‘विगतका निर्वाचनमा पनि जनताको अपार मायाले चुनाव जित्दै आएको हुँ’, विष्टले भने, ‘अहिले पनि त्यस्तै सद्भाव पाएको छु । आफ्नो क्षेत्रका बाँकी रहेका केही अधुरा काम पूरा गर्न जनताले फेरि अवसर प्रदान गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।’ गुल्मीमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै नेता विष्टले अबको योजना बसाइसराइको समस्यालाई नीतिगत सुधार, आयआर्जन र रोजगारी सृजनामा केन्द्रित हुने बताए ।

विष्ट भन्छन्, ‘हरेक गाउँमा सडकका ट्रयाक खुलेका छन्, कतिपय कालोपत्रे हुँदैछन् । अब मेरो प्राथमिकता भौतिक पूर्वाधारसँगै मानवीय विकासमा हुनेछ ।’ बाँदर र बँदेलको आतंक नियन्त्रण, वैकल्पिक खेती प्रणाली, पकेट क्षेत्र निर्माण र कृषिको आधुनिकीकरणमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने र बसाइँसराइ रोक्ने उनको योजना छ ।
विष्ट यसपालि गुल्मी–२ बाट आफ्नो पाँचौं संसदीय जितको खोजीमा छन् । विष्टले २०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई २ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । त्यसबेला विष्टले २८ हजार ४७६ मत ल्याउँदा झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी थिइन् । अहिले झाँक्री एमालेमै फर्किसकेकी छा् । २०५६ सालयता भएका निर्वाचनमध्ये २०६४ सालको संविधानसभा निर्वाचनबाहेक २०५६, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा विष्टले बाजी मारेका छन् ।

विष्टले आफ्नो अगुवाईमा गुल्मीमा भएका विकास निर्माणका योजनाहरु र आगामी दिनमा गर्नसकिने विकासका योजनाहरुको बारेमा मतदातालाई जानकारी गराएका छन् । कुनैबेला गुल्मीको दुर्गम क्षेत्रको रुपमा चिनिने पश्चिम क्षेत्र अहिले विकास निर्माणका योजनापछि स्वरुप फेरिएको छ ।

विष्टले २०६८ सालमा चार महिना ऊर्जामन्त्री हुँदा विद्युत चुहावट नियन्त्रण, बक्यौता असुली र प्राधिकरणको नेतृत्व छनोटमा खुला प्रतिस्पर्धाको सुरुवात गरेका थिए । आफू ऊर्जामन्त्री हुँदा विष्टले गुल्मीका गाउँगाउँमा विद्युत्त विस्तार गर्न विशेष भूमिका खेलेका थिए । ऊर्जामन्त्री हुँदा गरेको कामले नै उनको छबी जिल्लामा विकासप्रेमी नेताको रुपमा परिचित छ ।

त्यस्तै, २०७४ मा श्रममन्त्री हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र श्रमिकको न्यूनतम तलब वृद्धिजस्ता कामले उनको चर्चा चुलिएको थियो । साथै उनले खोपानीको समस्या समाधान गर्नसमेत महत्वपूर्ण भूमिका खेलेका थिए । नेता विष्टकै पहलमा अहिले यहाँका अधिकांश गाउँका घरमा एक घर एक धारा निर्माण गरीएको छ । सहज रुपमा घर–घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन् । शालिन स्वभावका विष्ट मतदातामाझ छिट्टै घुलमिल हुन सक्छन् ।

गुल्मीको मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाको केही वडासहित मदाने, मालिका, धुर्कोट र इस्मा गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्छन् । उनको निर्वाचन क्षेत्रमा कुल १ लाख ७ हजार ३६३ मतदाता छन् । भने ६२ वटा मतदानस्थल र १२९ वटा मतदान केन्द्र रहेका छन् ।