ट्राफिक समस्या समाधान गर्ने बुटवलको अर्को बाइपास

मेचीकाली संवाददाता

२३ माघ २०८२, बिहीबार
15 shares

मिलन गाहा

बुटवल । बढ्दो सहरीकरण र जनघनत्वका कारण बुटवलमा जटिल बन्दै गएको सवारी चाप व्यवस्थापनका लागि निर्माणाधीन बाइपास सडकले दीर्घकालीन समाधानको संकेत दिएको छ । विभिन्न स्थानमा बाइपास सडक निर्माण भइरहेका बेला अभियान पथ हुँदै लखनचोक–तिलोत्तमामा रहेको वनबाटिका जोड्ने बाइपास सडक अन्तिम चरणमा पुगेको छ ।

२०७९ साल फागुनदेखि निर्माण सुरु भएको उक्त बाइपास सडकको करिब २ किलोमिटर खण्ड सम्पन्न हुने चरणमा पुगेको हो । नेपाली सेना मध्यपश्चिम पृतना र नेपाल प्रहरीको स्वामित्व तथा प्रयोगमा रहेको जग्गाको समुचित व्यवस्थापन गरी सडक निर्माण गरिँदा स्थानीयका ४५ घर जोगिएका छन्, जुन यो योजनाको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

सडक निर्माणसँगै नेपाली सेना र नेपाल प्रहरीका आवश्यक संरचना सुरक्षित गरी बाउन्ड्री वाल निर्माण कार्य पनि तीव्र रूपमा भइरहेको छ । हाल विद्युत्का पोल स्थानान्तरणको काम बाँकी रहेको जनाइएको छ । करिब ८ करोड रुपैयाँको लागतमा नाली तथा बाउन्ड्री व्यवस्थापनसहितको संरचना निर्माण भइरहेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बलबहादुर पुनका अनुसार पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा नेपाली सेना र नेपाल प्रहरीका नेतृत्वसँग समन्वय गर्दै आवश्यक बजेट व्यवस्थापन भएपछि यो दीर्घकालीन योजना अघि बढेको हो । उनका अनुसार करिब ४६ महिनामा योजना सम्पन्न हुने चरणमा पुगेको छ ।
यो बाइपास सडक सञ्चालनमा आएपछि बुटवलको सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा बुटवल–तिलोत्तमा आवतजावत सहज हुने विश्वास गरिएको छ ।

लखनचोक चौराहादेखि वनबाटिका हुँदै प्रस्तावित सरकारी स्वामित्वको मेडिकल कलेज क्षेत्रसम्म राजमार्गभन्दा बाहिरबाट यात्रा गर्न मिल्ने भएकाले ठूलो संख्यामा सर्वसाधारणले यस मार्गको प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय बासिन्दा रञ्जना ढकालले लामो समयदेखि विवादमा रहेको यो परियोजना सम्पन्न गराउन वडाध्यक्ष पुनले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरिन् । त्यस्तै, स्थानीय महेश श्रेष्ठले पूर्वअर्थमन्त्री पौडेललाई धन्यवाद दिँदै विकास निर्माणमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरे । बाइपास सडक निर्माणले आफूहरूलाई ठूलो राहत मिलेको उनीहरूको भनाइ छ ।

लामो समयदेखि निर्माण हुन नसकेको अभियान पथ वडाध्यक्ष पुनको सक्रियताका कारण अघि बढेको भन्दै स्थानीयले बुटवल उपमहानगरपालिकाप्रति समेत आभार व्यक्त गरेका छन् । अभियान पथ करिब ३६ वर्षदेखि विवादमा रहेको योजना हो ।
साँघुरो सडक, अत्यधिक सवारी चाप र बारम्बार हुने दुर्घटनाको समाधानका लागि ५२ फिट सडक कायम गर्ने कि स्थानीय घर हटाउने कि सेना–प्रहरीले प्रयोग गरिरहेको जग्गा व्यवस्थापन गर्ने भन्ने विषयमा सहमति जुटाउन लामो समय लागेको थियो ।

अन्ततः सर्वसाधारणका घर जोगाउँदै र सेना–प्रहरीका प्रभावित संरचनाको उचित व्यवस्थापन गर्दै बाइपास सडक निर्माण सम्भव भएको हो । यस क्रममा राज्यको करोडौँ रुपैयाँ लगानी भए पनि दीर्घकालीन सहरी व्यवस्थापन र सार्वजनिक हितका दृष्टिले यो योजना बुटवलका लागि महत्वपूर्ण उपलब्धि बनेको छ ।