बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मोहनलाल आचार्य ‘अनुभूति हुने कानुन’ र विकासको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । उनको उम्मेदवारीसँगै कपिलवस्तु–१ यतिबेला विशेष राजनीतिक चासोको केन्द्र बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका आचार्य पेशाले संविधानविद् तथा अधिवक्ता हुन् । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् । आचार्यको उपस्थितिलाई धेरैले कपिलवस्तुको राजनीतिक इतिहासमै फरक र उच्च योग्यता बोकेको उम्मेदवारका रूपमा व्याख्या गर्न थालेका छन् ।

निर्वाचन नजिकिँदै गर्दा आचार्य आफ्ना मतदाताहरुसँग भेटघाट, छलफल र सुझाव संकलन गर्दै मत माग्न व्यस्त छन् । संविधानविद् तथा परराष्ट्र कानुनविज्ञका रूपमा परिचित आचार्य लामो समयदेखि कानुन व्यवसाय, संवैधानिक व्याख्या, नीतिगत बहस तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनी अभ्यासमा सक्रिय रहँदै आएका छन् । यही अनुभवलाई जनताको दैनिक जीवनसँग जोड्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् । उनको चुनावी एजेन्डाको केन्द्रमा ‘सर्वसाधारणले अनुभूति गर्ने कानुन’ रहेको छ । कानुन निर्माण प्रक्रियालाई जनमुखी, व्यवहारिक र कार्यान्वयनयोग्य बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । ‘कानुन किताबमा सीमित होइन, नागरिकको जीवनमा न्याय, सुरक्षा र भरोसा दिलाउने माध्यम हुनुपर्छ,’ भन्ने उनको धारणा छ ।

शिक्षा र स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा प्रभावकारी कार्यान्वयन गर्ने उनको योजना रहेको छ । सर्वसाधारणसम्म सरल, सुलभ र गुणस्तरीय पहुँच विस्तार, सरकारी सेवाको गुणस्तर सुधार तथा निजी क्षेत्रको व्यवस्थित नियमन उनका प्रमुख एजेन्डा हुन् । कृषि प्रधान क्षेत्र कपिलवस्तुको अर्थतन्त्र सुदृढ बनाउन कृषकमुखी कृषि प्रणाली विकास, उत्पादनमा आधुनिकीकरण, बजारीकरणको सुनिश्चितता र कृषि बिमालाई प्रभावकारी बनाउने कार्यक्रमलाई उनले प्राथमिकतामा राखेका छन् । साना किसानलाई सहकारी र प्रविधिसँग जोड्ने योजना पनि उनको घोषणापत्रमा समावेश छ ।

ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण कपिलवस्तुमा पर्यटन प्रवर्धन उनको अर्को मुख्य एजेन्डा हो । बुद्ध सर्किटको अन्तर्राष्ट्रिय प्रचारप्रसार, पर्यटकीय पूर्वाधार विकास, होटल तथा सेवा उद्योग विस्तारमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य उनले अघि सारेका छन् । ‘कपिलवस्तुलाई विश्व पर्यटन नक्सामा स्थापित गर्न सकिन्छ,’ भन्ने विश्वास उनको छ । भौतिक पूर्वाधारतर्फ आधुनिक सडक सञ्जाल, व्यवस्थित शहरीकरण, सुरक्षित खानेपानी, सिंचाइ विस्तार र डिजिटल पूर्वाधार विकासलाई उनले विशेष प्राथमिकतामा राखेका छन् । विकास निर्माणमा पारदर्शिता, गुणस्तर र कडा अनुगमन अनिवार्य हुने उनले बताएका छन् ।
सुशासन आचार्यको अर्को केन्द्रीय मुद्दा हो । कानुनी राज्यको प्रत्याभूति, भ्रष्टाचारको अन्त्य र दण्डहीनताविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । सार्वजनिक पदलाई सेवामुखी बनाउने र नागरिकप्रति प्रत्यक्ष जवाफदेही शासन प्रणाली विकास गर्ने उनको भनाइ छ । युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, सीप विकास, स्टार्टअप प्रवर्धन तथा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै अवसर विस्तार गर्ने कार्यक्रम पनि उनको चुनावी एजेन्डामा समेटिएको छ । शिक्षित युवाशक्तिलाई उत्पादन र उद्यमसँग जोड्ने रणनीतिलाई उनले प्राथमिकतामा राखेका छन् ।

समग्रमा, उच्च शैक्षिक, कानुनी र नीतिगत पृष्ठभूमिसहित चुनावी मैदानमा उत्रिएका अधिवक्ता मोहनलाल आचार्यलाई मतदाताले कसरी मूल्यांकन गर्नेछन्, त्यसको निर्णय निर्वाचन परिणामले गर्नेछ । तर, योग्य उम्मेदवार, नीतिगत बहस र विकासमुखी एजेन्डाका कारण कपिलवस्तु–१ को निर्वाचन यसपटक विशेष चासो र बहसको केन्द्र बनेको छ ।
कपिलवस्तु–१ मा नेकपा एमालेबाट विश्रामप्रसाद चौधरी, नेपाली कांग्रेसबाट अतहर कमाल मुसलमान, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शत्रुघन बिलाससिंह कुर्मी, जनता समाजवादी पार्टी, नेपालबाट बब्बुसिंह यादव, स्वत्रन्त्र आशिष शर्मासहित राजनीतिक दल र स्वतन्त्र गरेर ३० जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका बलराम अधिकारी विजयी भएका थिए । कपिलवस्तुको क्षेत्र नम्बर १ मा शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, बाणगङ्गा नगरपालिकाका र कपिलवस्तु नगरपालिकाका ७ देखि ११ नम्बर वडा पर्छन् । निर्वाचन आयोगका अनुसार कपिलवस्तु–१ मा कुल १ लाख ४७ हजार ६५९ जना मतदाता रहेका छन् ।




