सिटि क्याम्पसमा नमुना निर्वाचन

–कक्षाबाट मतदान केन्द्रसम्मको लोकतान्त्रिक अभ्यास

मेचीकाली संवाददाता

२७ माघ २०८२, सोमबार
338 shares

निश्चल ज्ञवाली

सैनामैना । प्रतिनिधि सभा निर्वाचनको वास्तविक झल्को दिने गरी लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कुल अफ ल ९सिटी क्याम्पस, बुटवल० मा प्रथम एल।बि।यु नमुना निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ ।
स्कुल अफ ल अन्तर्गत बिए।एल।एल।बी सातौँ सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा आइतबार सम्पन्न उक्त नमुना निर्वाचन प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा आधारित थियो ।

बुटवलको नयाँगाउँस्थित सिटी क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले दल गठनदेखि उम्मेदवारी दर्ता, घोषणापत्र सार्वजनिक, प्रचारप्रसार र मतदानसम्मको सम्पूर्ण निर्वाचन प्रक्रिया व्यवहारिक रूपमा अभ्यास गरे । निर्वाचन प्रहरीको उपस्थितिसहित सम्पन्न कार्यक्रमले वास्तविक निर्वाचनकै वातावरण सिर्जना गरेको सहभागीहरूको भनाइ छ ।
कार्यक्रममा बोल्दै क्याम्पसका मानविकी तथा कानून संकायका डिन डा। हरी शरण चखुँले निर्वाचन प्रक्रिया बुझ्नु केवल शैक्षिक अभ्यास मात्र नभई लोकतन्त्रलाई जीवित राख्ने आधार भएको उल्लेख गरे । विद्यार्थीहरूले प्राप्त गरेको अनुभव भविष्यमा जिम्मेवार नेतृत्व र सामाजिक उत्तरदायित्व वहन गर्न सहयोगी हुने डा। चखुँको विश्वास थियो ।

यस्तै, स्कुल अफ लका निर्देशक बद्री प्रसाद शर्मा गौतमले नमुना निर्वाचन अभ्यासले कानूनका विद्यार्थीहरूलाई कानूनी ज्ञानमा मात्र सीमित नराखी लोकतन्त्रको व्यवहारिक अभ्यास बुझ्न महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।
छ वटा दलबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न नमुना निर्वाचनमा नव युवा नेतृत्व पार्टीका उम्मेदवार विविश पाण्डे अत्याधिक मतका साथ विजयी भए । समतामूलक समाज दलकी उम्मेदवार मनिषा न्यौपाने उत्कृष्ट घोषणापत्र प्रस्तुत गर्ने उम्मेदवारको रूपमा चयन भइन् । विजेता तथा उत्कृष्ट उम्मेदवारलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

स्कुल अफ लका निर्देशक बद्री प्रसाद शर्मा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारी, प्राध्यापक डा।नारायण संग्रौला, अधिवक्ता मेघनाथ खनाल, लालबहादुर बस्नेत, प्राध्यापक जे।बी।क्षेत्री, राजीव भारद्वाज, सुवर्ण सापकोटा, श्रद्धा सुमन गुरुआचार्य, विनय पाठक, सागर पन्थीलगायतले कार्यक्रम सफलताको कामना गरेका थिए ।
प्रमिशा घिमिरेको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अंशु भण्डारी र गिरीराज रेग्मीले गरेका थिए भने नमिता गैरेले स्वागत मन्तव्य राख्दै निर्वाचनको अभ्यास फलदायी भएको बताइन् ।
विषय शिक्षक सुवर्ण सापकोटा तथा विद्यार्थीहरू ईसराफिल आलम र विष्णु गौतम निर्णायक मण्डलमा रहेका थिए । नमुना जिल्ला निर्वाचन अधिकृत असमी खड्काले विजयी उम्मेदवारको नतिजा घोषणा गरिएको थियो ।

बिए।एल।एल।बी सातौँ सेमेस्टरअन्तर्गत अध्यापन हुने निर्वाचन कानून विषयलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यले आयोजना गरिएको उक्त नमुना निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउन सचेत, जिम्मेवार र जानकार मतदाता आवश्यक रहेको सन्देश दिएको छ । विद्यार्थीहरूलाई आगामी राष्ट्रिय निर्वाचनमा सक्रिय र सचेत नागरिकका रूपमा भूमिका निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।