सरसफाइ र सनातन संस्कृति !

मेचीकाली संवाददाता

२९ माघ २०८२, बुधबार
43 shares

घनश्याम कोइराला

सनातन संस्कृतिमा सरसफाइको ठूलो महत्व रहेको छ । सरसफाइको अभावमा फैलन सक्ने सङ्क्रामक रोगहरूबारे हाम्रा पुर्खाहरू साह«ै सचेत रहेको देखिन्छ । पुर्खाले सरसफाइलाई धर्मसँग जोडे र अनिवार्य बनाए । त्यो क्रम अगाडि बढ्दै आयो र अहिले संस्कृति, सभ्यता बन्न पुगेको छ । आज पूर्वीय अर्थात् सनातन संस्कृतिमा सरसफाइका विषयमा उल्लेख भएका केही सन्दर्भहरू यहाँ जोड्ने जमर्को गरिएको छ ।

केही वर्षअघि संसारले कोरोना महामारी देख्यो, भोग्यो । कोरोना संक्रमणको विश्वव्यापी विस्तारले मानिस—मानिस बिचको निकटता पुष्टि गरेको छ । भूगोलको जुनसुकै ठाउँमा भए पनि, हामी कसैमा पनि पर्ने विपत्तिले मानव जातिलाई आक्रान्त पार्न सक्दछ । यसको अर्को पाटो हो— सकारात्मक परिघटनाहरूको लाभ पनि कुनै न कुनै प्रकारले सबैका भागमा पर्न सक्दछ । त्यसैले त हाम्रा पुर्खाहरूले भने— वसुधैव कुटुम्बकम्, अर्थात् सारा संसार, एउटै परिवार !

कोरोना, कोभिड—१९ नाम दिइएको, विषाणुको संक्रमणबाट जोगिनका लागि सरसफाइ वा शुद्धिका लागि विभिन्न उपायहरू सुझाइएको थियो । ती सुझावहरू कम्तीमा ६० प्रतिशत अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्न पर्ने भनिएको थियो । त्यस्तै, साबुन—पानीले कम्तीमा २० सेकेण्डसम्म मिचीमिची हात धुनुपर्ने भनियो । यी सुझावहरू साह्रै राम्रा छन् । प्रश्न उठ्छ, के हातशुद्धिका लागि अरु केही मौलिक उपाय प्रयोगमा थिएनन् त ? खरानी, उपयुक्त माटो, गोबर—गहुँतको मिश्रण, रिट्ठा आदि प्रयोग गर्न सकिन्थ्यो । तर हामी आधुनिक भयौँ । हामीलाई प्रकृत्ति प्रदत्त यी वस्तुको संरक्षण र प्रयोगमा भन्दा कारखानामा बनेका वस्तुहरू प्रयोगमा आनन्द आउन थाल्यो ।

शौच (शुचि) अर्थात् सरसफाईका लागि हाम्रा पूर्वजले ध्यानै नदिएका हुन् त ? हामी हाम्रा पुख्र्यौली कारणले नै फोहरी रहेका हौँ त ? यस्तो होइन, हामीसँग पनि आधार छ, प्रयोगको अनुभव छ । तर यी सबैलाई हाम्रा पुर्खाले विषयलाई अनिवार्यसँग जोडेर दिगो बनाउन धर्मसँग जोडे । शास्त्रीय विषय बनाए । त्यतिबेला अहिले जस्तो हिन्दु, बौद्ध, इस्लाम, इसाई आदि धर्महरू थिएनन् । तर समाजमा विकास भएका अनकौँ धर्महरू र कलकारखानाहरूको विकासका कारण मानिस नयाँतर्फ आकर्षित हुँदै आइयो । नयाँको नक्कलतिर लागियो । आफ्नो र पुरानो छोड्दै आइयो । आफ्नो र पुरानो छोड्दा साह्रै मनमोहक र कर्णप्रिय ‘विज्ञान अपनाउने’ र ‘अन्धविश्वास त्याग्ने’ शब्द प्रयोग गरियो । कहाँ चुकियो भने कुनै पनि विषयको भौतिक आधार ‘अन्धविश्वास’ हुँदैन, प्रयोगका शैली वा तरिकाहरू अन्धविश्वास हुनसक्दछन् ।

सरसफाइका विषयमा पूर्वीय प्रवन्धमा रहेका केही विषयहरूबारे यहाँ चर्चा गर्ने प्रयत्न गरिएको छ । सरसफाइका बारेमा महर्षि भृगुले भनेका छन्—
‘द्वे लिङ्गे मृत्तिके देये गुदे पञ्च करे दश । उभयोः सप्त दातव्या विट्शौचे मृत्तिकाः स्मृताः अर्थात् शुद्ध हुन चाहने व्यक्तिले एकपटक मूत्रद्वार, तीनपटक गुदद्वार, दसपटक हात र सातपटक गोडा धुनुपर्दछ ।’ (आन्हिक सूत्रावली) हामी हाम्रा आप्mनै पुर्खाका यस्ता विषयलाई मिल्काएर हात धुने, शारीरिक सरसफाइका विषयलाई समेत अन्यत्रबाट अयातित स्रोतको भर पर्दछौँ ।
यसैगरी नागदेवले भनेका छन्, ‘एकैकया मृदा पादौ हस्तौ प्रक्ष्याल्य यत्नत ः अर्थात् माटोले एक—एक गरी राम्रोसँग हात—गोडा धुनुपर्दछ ।’ (आन्हिक सूत्रावली) । ‘स्नानाचारविहीनस्य सर्वाः स्युः निष्फलाः क्रियाः अर्थात् स्नानादि शुद्धाचारविना सबै कार्य असफल हुन्छन् । जुनसुकै काम स्नानादि शुद्धिपूर्वक गर्नुपर्दछ ।’ (वाधूलस्मृति) । ‘न आद्रम् परिदधीत —चिसो लुगा नलगाउनू ।’ (गोभिलगृह्य सूत्र) । यस्ता अनेकौँ प्रावधान छन्, तर यसतर्फ कत्ति पनि ध्यानै नदिई विश्वस्वास्थ्य संगठनको निर्णय र निर्देशन पछ्याउन पर्ने भएपछि किन ठूला गर्नु र ?

चिसो लुगा नलगाउन शास्त्रले पहिल्यै निर्देश गरिसकेको विषय हो । पद्मपुराण भन्दछ, ‘न धारयेत् परस्यैवं स्नानवस्त्रं कदाचन अर्थात् अर्काले स्नानादिमा प्रयोग गरेको लुगा नलगाउनू वा प्रयोगमा नल्याउनू ।’ अहिले ‘ड्रेसकोर्ड’का नाममा मानिसहरू लुगा फेरी फेरी लगाउँछन् र आपूmलाई अत्याधुनिक भएको ठान्दछन् । तर, महाभारतको यो प्रावधान हेर्न भ्याउँदैनन्— ‘अन्यदेव भवेद् वासः शयनीये नरोत्तम । अन्यद रथ्यास देवानाम अर्चायाम् अन्यदेव हि अर्थात्, असल मानिसले सुत्दा र बाहिर घुम्न जाँदा र पूजा गर्दा लगाउने लुगा फरक फरक हुनुपर्दछ ।’
मनुस्मृति भन्दछ, ‘न वार्यञ्जलिना पिबेत् अञ्जुलिले पानी नपिउनू ।’ सुश्रुतसंहितामा उल्लेख छ, ‘नाअलिपुटेनापः पिबेत् अर्थात् अञ्जुलिले पानी नपिउनू ।’ पद्मपुराणमा लेखिएको छ, ‘हस्तपादे मुखे चैव पञ्चाद्रो भोजनं चरेत् । अर्थात् हात, गोडा र मुख धोएर मात्र भोजन गर्नुपर्दछ ।’

‘लवणं व्यञ्जनं चैव घृतं तैलं तथैव च । लेह्यं पेयं च विविधं हस्तदत्तं न भक्षयेत् अर्थात्, नुन, अचार—तरकारी, घिउ, तेल, चटनी, पानी—मही—सर्बत आदि हातले दिएको नखानू ।’ (धर्मसिन्धु) यी वस्तुहरू दिँदा डाडु, चम्चा आदि प्रयोग गर्न भनिएको बुझिन्छ ।
व्यक्तिगत सरसफाई गरी संक्रमणबाट जोगिन यस्ता अनेकौँ उपायहरू शास्त्रमा सुझाइएका छन् । तर, अहिलको हाम्रो शिक्षा र जानकारीका माध्यमहरूका कारण ‘६० प्रतिशत बढी अल्कोहल भसेनिटाइजर प्रयोग गर्ने या साबुनपानीले २० सेकेन्ड मिचीमिची हात धुने’ अभ्यास मात्र विज्ञान, अनि हाम्रा आफ्ना ‘मौलिक ज्ञान, वस्तु र शैली अन्धविश्वास’मा परिणत भएका छन् ।
हाम्रो पूर्वीय संस्कृतिको मान्यतामा शुद्धीकरणका विभिन्न उपायहरू छन् । अग्निस्पर्श, स्नान, सचैलस्नान (लुगैसित नुहाउने), गहुँतको प्रयोग (खाने, छर्कने) आदि विधिहरू प्रचलनमा रहेका छन् । कर्मकाण्डमा कर्मपात्र बनाइएको हुन्छ । आँप, बर, पिपल, समी, डुम्रीका पात (पञ्चपल्लव÷पाँच प्रकारका पात) तामाको भाँडा (कलस) मा राखिएको हुन्छ र त्यसमा अनेकौँ उपचार गरी सोही जल छर्कने र शुद्धीकरण गर्ने गरिन्छ । कर्मपात्र बनाएर त्यसमा राखिएको जौ, तिल, कुश, फूल, अक्षता आदि मिसाइएको शुद्ध पानी छर्कने गरिन्छ । हरेक सानो कर्मपछि ‘…हस्त प्रक्षालनम्’ अर्थात् अब हात धोऔँ भन्ने गरिन्छ । यी सबै दैनिक जीवनका उपयोगी विषयहरू आजा—पूजा आदि कर्मकाण्डमा सीमित पारियो । अन्य अनेकौँ विधिहरू पनि छन् । तर, यी सबै अन्धविश्वास भए ।

अब अवसर आएको छ हामी एकोहोरो भएर होइन, अध्ययन—अनुसन्धान र विश्लेषण गरेर यी मौलिक सांस्कृतिक परम्परामा रहेका जीवनोपयोगी प्रावधानहरू व्यवहारमा लागू गरौँ । हाम्रा पुर्खाको खोज—अनुसन्धानमा आधारित व्यवस्था विज्ञानसम्मत छन् । जन्मेकै आधारमा कसैलाई छुत र कसैलाई अछुत बनाइएको विभेदकारी प्रावधान वैज्ञानिक छैनन् । तर सापेक्ष अस्पृश्यताको अर्थ त हामीले अहिले बुझ्दैछौँ नि ! संक्रमण भनेको लसपस (छातछुत) बाट सर्ने रहेछ । जातीय आधारमा हुने छुवाछुत होइन, छुवाछुतबाट जोगिनपर्ने अन्य विषय पनि रहेछन् नि ! यी र यस्ता विषय हामीले संसारलाई हाम्रा मौलिकता भित्रबाट खोज र व्यवस्थापन दिन सक्नुपर्दछ ।

हाम्रा प्राचीन शिक्षामा किटाणुहरूबाट जोगिने, विषाणुबाट जोगिने अनेकौँ उपायहरू वर्णित छन् । संक्रमणबाट जोगिने अन्य उपायहरूका साथै एकान्तवास आदिबारे पनि धेरै विषय रहेका छन् । तर, हामी बुझेर पनि नबुझेजस्ता, भएर पनि नभएजस्ता भएका छौँ ।
‘यो ध्रुवाणि परित्यज्य अध्रुवं परिसेवते । ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेव हि अर्थात्, जो आपूmसँग भएकोलाई छोडेर अनित्यलाई अँगाल्दछ, उसको नित्य त नष्ट हुन्छ, अनित्य त नष्ट नै छ ।’ (चाणक्यनीति) यो कुरा स्मरणीय र विचारणीय छ । आप्mनो भनेको आप्mनै हो, त्यो संस्कृति होस् या राष्ट्र !
हामीले धेरै प्रकारका औद्योगिक विकास र वैज्ञानिक खोज—अनुसन्धानमा अन्य मुलुकहरूलाई जित्न वा प्रतिस्पर्धा गर्न नसकिएला वा लामो समय लाग्ला, तर कृषि उत्पादन बढाउन यसप्रति स्वदेशी कर्मशील युवा जनशक्तिलाई संलग्न गराउन परिणाममुखी उपायहरू अवलम्बन गर्न ढिलो गर्नुहुँदैन । विश्वको कुनै भूखण्डमा सानोतिनो समस्या आउने बित्तिकै नेपालको भान्सामा प्रभाव पर्ने अवस्थाको अन्त्य गर्न हदैसम्मको प्रयास सफल पार्नु पर्दछ ।

हाम्रो शिक्षा नीति, शैक्षिक विषय र पद्धतिका विषयमा नेपालकै परिस्थिति सुहाउँदो बनाउनु पर्दछ । यहाँ बसेर अन्यत्रको नक्कल गर्ने वा अन्यत्रका लागि मात्र अनुकूल हुने शिक्षाले हाम्रो ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय अभीष्ट पूरा हुन सक्दैन । सरकारी÷सार्वजनिक शैक्षिक केन्द्रहरू भौतिक पूर्वाधार सम्पन्न पार्नु पर्दछ । कोभिडजस्ता संक्रामक महामारीका बेलामा ती स्थलहरूको उपयोग गर्न सकिन्छ । सार्वजनिक खुला स्थानहरूको संरक्षण योजनाबद्ध ढंगले गर्नुपर्दछ । कुनै पनि खण्डखातिर परिआएको अवस्थामा सबैको हक लाग्ने पूर्वाधार÷सार्वजनिक स्थल हुनुले जनताको मनोबल बढाउन सकिन्छ । उच्च मनोबल भएका जनता मात्र जुनसुकै अवस्थाको सामना गर्न सक्षम हुन्छन् ।

यसो कतै गोष्ठी सेमिनारहरूमा सहभागी हुँदा धेरैजसो मानिसहरू आपूmलाई विज्ञ र भलाद्मी देखाउन विदेशी लेखकहरूका उद्धरण घोकेर गएको पाइन्छ, तर आप्mनै व्यास, मनु, चाणक्यका कुरा गरेको पाइँदैन । यिनका विषयमा कतै चर्चा नै नभएपछि के हुन्छ ? अन्यत्रको हस्तक्षेप बढ्दछ । हामी नजानिदो पाराले अरुबाट चलिरहेका हुन्छौँ । यही कारण हो कि, आप्mनो संस्कृति ओझेलमा पारिएको देखेपछि मानिसहरू झन् कट्टरतापूर्वक आप्mना धर्म—संस्कृतिको पक्षपोषणमा लाग्दछन् । तथाकथित आधुनिक, धर्मनिरपेक्ष, विज्ञहरूको उदारता र उदासीनताले कट्टरता बढिरहेको छ र थप बढ्न सक्ने देखिन्छ ।