ग्याँस विक्रेता संघ रूपन्देहीको अध्यक्षमा कुँवर

मेचीकाली संवाददाता

१२ बैशाख २०८३, शनिबार
10 shares

बुटवल। ग्याँस बिक्रेता संघ रुपन्देहीको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले कल्पना कुँवरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा राममिलन यादव र ज्ञानेन्द्र बन्जाडे, महासचिवमा सूर्य खनाल, सचिवमा प्रकाश तिवारी र कोषाध्यक्षमा सुनिता पाण्डे चयन भएका छन् । नवनिर्वाचित समितिमा विष्णु घिमिरे पन्थी, कमल अधिकारी, मधु उपाध्याय र निराजन कँडेल लगायतका १५ सदस्यहरू रहेका छन् ।

कार्यक्रममा बोल्दै ग्याँस विक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्याँस व्यवसायमा हाल देखिएका नीतिगत र व्यवहारिक समस्याहरू औंल्याए । उनले व्यवसायीका समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने र दुवै पक्ष मिलेर अघि नबढेसम्म सहज आपूर्ति र समस्या समाधान सम्भव नभएको कुरामा जोड दिए ।
त्यस्तै, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले ग्याँस व्यवसायको संवेदनशीलताबारे ध्यानाकर्षण गराए । उनले ग्याँस प्रज्ज्वलनशील पदार्थ भएकाले व्यवसाय सञ्चालन गर्दा सुरक्षा मापदण्डमा कुनै सम्झौता नगर्न र सधैं चनाखो रहन व्यवसायीहरूलाई आग्रह गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रदिप प्रसाद पन्थले आफ्नो कार्यकालमा भएका उपलब्धी र चुनौतीहरूको चर्चा गरे । रूपन्देही भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ अवैध रूपमा हुने ग्याँस तस्करी प्रमुख समस्या रहेको र त्यसका विरुद्ध संघले सक्रिय भूमिका खेलेको उनको भनाइ थियो ।

अधिवेशनमा उद्योग संघका पूर्व अध्यक्ष सागरमल अग्रवाल, तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज पंगेनी, पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल र बुटवल ग्याँसका सञ्चालक भुपाल क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सूर्य खनालले गरेका थिए ।