दुष्प्रचारको जालो बन्दै सामाजिक सञ्जाल

मेचीकाली संवाददाता

२ फाल्गुन २०८२, शनिबार
30 shares

अमृत गिरी

बुटवल । सूचना पहुँचको शक्तिशाली माध्यम बनिरहेको सामाजिक सञ्जाललाई अहिले मिथ्था र झूट फैलाउने माध्यम बनाउने गिरोह सक्रिय देखिएको छ । अझ खतरनाक कुरा त के छ भने यस्तो गिरोह विदेशमा बसेर संगठित रुपमा भ्रमको उत्पादन गरिरहेको पाइएको छ । अस्ति झापामा एमालेले पैसा बाँडेको थाहा पाएर प्रहरी गएपछि गोली चलेको भन्दै गोली हानाहानको भिडियो पोस्ट भयो । झणभरमै कैयौं लाइक, कमेन्ट, शेयर भयो । कतिले हेरे हेरे । त्यसरी भिडियो बनाएर पोस्ट गर्ने व्यक्ति स्पेनमा बसेको थाहा भयो ।

पछिल्लो उदाहरणका रुपमा झापामा एमालेले पैसा बाँडेको थाहा पाएर प्रहरी पुगेपछि गोली हानाहान भएको दाबी गर्दै फैलाइएको १८ सेकेन्डको भिडियोलाई लिन सकिन्छ । विदेशमा बसेर बनाइएको यो भिडियोको तथ्य जाँचपछि नक्कली सावित भयो । उक्त दृश्य ग्रीसको एथेन्सस्थित सडक प्रदर्शनको रहेको पुष्टि भएको छ । भिडियोमा ‘फक्स न्यूज’ को लोगो देखिनु, रिभर्स इमेज सर्चबाट मूल स्रोत फेला पर्नु, तथा विश्वसनीय नेपाली सञ्चारमाध्यममा त्यस्तो कुनै घटना नदेखिनुले दाबी पूर्णतः मिथ्या ठहरियो । अझ रोचक तथ्य के छ भने उक्त सामग्री पोस्ट गर्ने फेसबुक पेज स्पेनबाट सञ्चालन भएको देखिएको छ र त्यो सामाग्री उत्पादन गर्ने दीपक नामका दीपक पाण्डेले यसअघि पनि यस्तै यस्तै सामाग्रीहरु पोस्ट गरेको देखिएको छ । झूट र तथ्यहीन हो भनेर पुष्टि हुँदा पनि उनले यो भिडियो यो समाचार तयार पार्दासम्म हटाएका छैनन् ।

सन् २०१९ मा सिर्जना भई पछिल्ला दिनमा नाम परिवर्तन गरिएको पेजमार्फत नेपाली राजनीतिक सन्दर्भ जोडेर सामग्री फैलाइएको पाइएको छ ।
तर भिडियो गलत सावित भइसकेपछि पनि सम्बन्धित व्यक्तिले सामग्री हटाएका छैनन् उल्टै ‘झूट रहेछ’ भन्दै पुनः पोस्ट गरेका छन् । पेजमा एकोहोरो रूपमा निश्चित दल र नेताविरुद्ध केन्द्रित सामग्रीहरूको शृंखला देखिन्छ । यसले ‘भुल’ भन्दा बढी संगठित सूचना–हेरफेरको आशंका बलियो बनाउँछ । उनी कुनै मिसन बनाएर लागेको वा परिचालित भएको शंका देखिन्छ ।
३५ हजारभन्दा बढी प्रतिक्रिया, हजारौँ कमेन्ट र लाखौँ भ्युजले एल्गोरिदमले उत्तेजक सामग्रीलाई प्राथमिकता दिन्छ, सत्यता जाँचिनुअघि नै धारणा निर्माण गरिदिन्छ । यहीँ झूट नै अहिले धेरैतिर यसैगरी फैलिइरहेको छ ।

चुनाव नजिकिँदै जाँदा यस्तो दुष्प्रचारको जोखिम अझ बढ्ने भन्दै विज्ञहरुले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । आरोप, अविश्वास र आक्रोशको वातावरण सिर्जना गरेर मतदाताको मनोविज्ञान प्रभावित पार्ने प्रयास लोकतान्त्रिक मूल्यमाथि प्रहार हो भन्दै सचेतना फैलाउन र नियमन गर्न पनि धेरैले आग्रह गरिरहेका छन् । तर, सरकारको ध्यान त्यसतर्फ गएको देखिँदैन । तथ्य र प्रमाणमा आधारित बहसमा भन्दा झूट र भ्रममा रमाउने गिरोहले जोखिम बढाइरहेको छ ।
यस सन्दर्भमा नेपालमा विद्युतीय कारोबार ऐन, फौजदारी संहिता (अफवाह र सार्वजनिक शान्ति भंगसम्बन्धी प्रावधान), निर्वाचन आचारसंहिता लगायतका कानुनी व्यवस्था विद्यमान छन् ।

तर प्रभावकारी कार्यान्वयन, डिजिटल फरेन्सिक क्षमता र अन्तरदेशीय समन्वय सुदृढ गर्नु समयको माग हो । निर्वाचन आयोग, प्रेस काउन्सिल र साइबर ब्युरोले ‘¥यापिड रेस्पोन्स’ तथ्य–जाँच संयन्त्र सक्रिय बनाउनु आवश्यक छ ।

कस्तो बनाइँदैछ मनोवैज्ञानिक घेरा ?
एआइको दुरुपयोग गर्दै अहिले बनिरहेका कैयन् । सामाग्रीहरु देख्दा दुरुस्तै देखिन्छन् तर, वास्तवमा ती झूट र फेक सावित भइरहेका हुन्छन् । यस्ता सामाग्रीको तथ्यजाँच गर्दै जनतामा सही सन्देश प्रवाह गर्ने विषयमा अहिले दिनदिनै चुनौती थपिएको छ ।

एल्गोरिदमले व्यक्तिको रुचि र मनोवृत्तिलाई लक्षित गरी सामग्री देखाउने हुँदा ‘मनोवैज्ञानिक घेरा’ निर्माण हुने खतरा विज्ञहरूले औंल्याएका छन् । संज्ञानात्मक प्रक्रियामै प्रभाव पर्दा ध्रुवीकरण, अविश्वास र मानसिक तनाव बढ्न सक्छ । आधुनिक मनोविज्ञानले आलोचनात्मक सोच र मानसिक स्वास्थ्य साक्षरतामा जोड दिन्छ । बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशमा गौतम बुद्धले दिएको ‘सम्यक दृष्टि’ र ‘सचेतता’को शिक्षा पनि आज उत्तिकै सान्दर्भिक छ । बाह्य उत्तेजनाबीच विवेकपूर्ण निर्णय गर्ने क्षमता नै स्वस्थ समाजको आधार हो ।

कुनैपनि सामाग्री शेयर गर्नुअघि जाँचौं, रिभर्स इमेज सर्च गरौं, विश्वसनीय स्रोतसँग क्रस–चेक गरौं । उत्तेजक शीर्षकमा सतर्क बनौं र दुष्प्रचारलाई रिपोर्ट गरौं ।
सही सूचनाबाट मात्रै सही जनादेश सम्भव हुन्छ भन्ने कुरालाई पनि निर्वाचन आयोगले अभियानका रुपमा अगाडि बढाउन आवश्यक देखिन्छ । सामाजिक सञ्जाललाई भ्रमको रणमैदान होइन, सचेत नागरिकताको सशक्त माध्यम बनाउनु आजको आवश्यकता हो ।

कानुनी व्यवस्था र कार्यान्वयनको चुनौती
नेपालमा विद्युतीय कारोबार ऐन, फौजदारी संहिता (अफवाह र सार्वजनिक शान्ति भंगसम्बन्धी प्रावधान), निर्वाचन आचारसंहिता र संवैधानिक व्यवस्थाहरू विद्यमान छन् तर दुष्प्रचार प्रायः सीमापारबाट सञ्चालन हुने भएकाले कार्यान्वयनमा अन्तरदेशीय समन्वय र डिजिटल फरेन्सिक क्षमता आवश्यक छ । निर्वाचन आयोग, प्रेस काउन्सिल र साइबर ब्युरोले द्रुत तथ्य–जाँच संयन्त्र सुदृढ पार्नु अपरिहार्य देखिन्छ ।

बौद्ध दर्शन र डिजिटल युगको मनोविज्ञान
नेपाल बुद्ध जन्मिएको भूमि हो । आजको डिजिटल अराजकताबिच बुद्धको शिक्षा झन् सान्दर्भिक देखिन्छ । सम्यक दृष्टि राख्दै कुनै कुरा सत्य हो कि होइन भन्ने विवेकपूर्ण परीक्षण गर्नुपर्ने छ । सामाजिक सञ्जालमा देखिएको सबै कुरा सत्य नहुन सक्छ भन्ने चेतना नै सम्यक दृष्टि हो ।
सम्यक वाचामार्फत झूट, विभाजनकारी र अपमानजनक अभिव्यक्तिबाट टाढा रहने कोसिस गरौं । यसका साथै पञ्चशीलको पालना गरौं । झूट नबोलौं, मिथ्या सूचना नफैलाउने काम एकदमै गलत हो भन्ने जानौं । यस्तै प्राणीहत्या नगरौं, चरित्रहत्या पनि हिंसाकै रूप हो भनेर मानौं । चोरी नगर्नु, अरूको छवि र सत्य चोर्नु पनि अनैतिक हो भन्ने बुझौं ।

कुशीलाचार नगर्नु अर्थात् डिजिटल दुरुपयोग पनि नैतिक पतन हो भन्ने बुझौं र बुझाऔं । मद्यपान नगर्नु, अन्ध आवेग र उत्तेजनाबाट बच्नु पनि पञ्चशीलको पालना हो भनेर जानौं । तर्कशास्त्र बुझौं, आलोचनात्मक सोच राखौं । बौद्ध परम्परामा अन्धविश्वास होइन, परीक्षण र अनुभवलाई महत्व दिइन्छ । ‘सुनेको मात्रमा विश्वास नगर; परीक्षण गर’ भन्ने सन्देश आजको डिजिटल साक्षरताको मूल मन्त्र हुन सक्छ ।