अमृत गिरी
बुटवल । खिमलाल भट्टराई यतिबेला एमालेका तर्फबाट प्रतिनिधिसभा निर्वाचन–२०८२ मा रुपन्देहीको क्षेत्र नं. ५ मा उम्मेदवार छन् । यहीँ क्षेत्रका बासिन्दा र यहाँका समुदायको काममा समर्पित रहेका नेताका रुपमा उनलाई लिइन्छ । बुद्धको जन्मस्थल लुम्बिनी, ऐतिहासिक सहर सैनामैना तथा कृषि, सिमसार र सांस्कृतिक विविधताले समृद्ध कञ्चन, गैडहवा, मायादेवी र लुम्बिनी क्षेत्र समेटिएको निर्वाचन क्षेत्र नं. ५ लाई समृद्ध र योजनाबद्ध बनाउने स्पष्ट दृष्टिका साथ युवा नेता भट्टराई जनताको बीचमा रहेका छन ।

लुम्बिनी केन्द्रित समग्र विकासको दृष्टि
भट्टराईको प्रतिबद्धताको केन्द्रमा लुम्बिनी छ । लुम्बिनी विश्वको पवित्र स्थानमध्येको एक सम्पदा स्थल हो । जहाँ आजभन्दा २६०० वर्षपहिले सिद्धार्थ गौतमको जन्म भएको थियो । उनै सिद्धार्थ पछि बुद्ध बनेर संसारम मानवताको, बुद्धत्वको, शान्तिको, करुणाको, ध्यानको, अहिंसाको सन्देश प्रवाह गरेका थिए ।
लुम्बिनीलाई राष्ट्रिय प्राथमिकताको परियोजनाका रूपमा अघि बढाउँदै तिलौराकोट, देवदह, रामग्राम र सैनामैनासँग जोडेर ‘वृहत् लुम्बिनी क्षेत्र’ विकास गर्ने योजना अघि सारिएको छ । यसअन्तर्गत धार्मिक–ऐतिहासिक स्थलको संरक्षण, पर्यटकीय पूर्वाधार, अन्तर्राष्ट्रिय स्तरका होटल तथा सूचना केन्द्र निर्माण र बुद्ध सर्किट सडक विस्तार प्रमुख प्राथमिकतामा छन् ।
लुम्बिनी विश्वविद्यालयलाई बुद्धिज्म अध्ययनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने, प्राविधिक र बहुविषयक कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय युवालाई पर्यटन र सेवा क्षेत्रमा रोजगारी दिने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको एमालेको क्षेत्रीय निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
स्पष्ट कार्ययोजना प्रस्तुत गरेका छौं : भट्टराई
युवा नेता भट्टराईले काम गर्ने हुटहुटी भएको, तौरतरिका भएको, स्थानीय स्तरदेखि सम्बन्धित निकायका सबैतहमा समन्वयकारी क्ष्ँमता भएको भन्दै आफुलाई भोट दिन आग्रह गरे । उनले लुम्बिनी केन्द्रित समग्र विकास, गरिबी निवारण, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, गुणस्तरीय शिक्षा–स्वास्थ्य, युवा रोजगारी र सुशासनको स्पष्ट कार्ययोजना प्रस्तुत गरिएको बताए । स्थानीय बासिन्दा र जनसरोकारमा सक्रिय नेताको छविका कारण पनि भट्टराई विकासको भरोसायोग्य नेतृत्वका रूपमा प्रस्तुत गरिएको एमालेको दाबी छ ।
पूर्वाधार : सडक, सिँचाइ र शहरीकरण
क्षेत्रको तीव्र विकासका लागि विस्तृत सडक गुरुयोजना बनाउने, कलौनी–लुम्बिनी सडक चार लेनमा स्तरोन्नति गर्ने, पूर्व–पश्चिम लोकमार्गसँग पाल्पा–अर्घाखाँची जोड्ने सडक सुधार गर्ने तथा कञ्चन करिडोर निर्माणलाई अगाडि बढाउने योजना अघि सारिएको छ ।
यस्तै सतही तथा भूमिगत सिँचाइ विस्तार, डिप ट्युबवेल सञ्चालन, नदी नियन्त्रण तटबन्ध, किसान कार्ड, कृषि बीमा र शीत भण्डार स्थापना जस्ता कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र व्यावसायीकरणमा जोड दिइएको नेता भट्टराईको भनाइ छ ।

शिक्षा र स्वास्थ्य : पहुँच र गुणस्तर
सामुदायिक विद्यालयलाई पूर्वाधार, शिक्षक दरबन्दी र प्रविधिमैत्री बनाउने, स्थानीय क्याम्पसलाई स्नातकोत्तर तहसम्म विस्तार गर्ने तथा प्राविधिक शिक्षा र मेडिकल कलेज स्थापनाको पहल गर्ने लक्ष्य छ । स्वास्थ्य क्षेत्रमा १०० शैयाको सुविधा सम्पन्न अस्पताल, ट्रमा सेन्टर, सर्पदंश अस्पताल स्तरोन्नति, स्वास्थ्य बीमा विस्तार र प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने योजना प्रस्तुत गरिएको छ ।
नगरपालिका र गाउँपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रबद्धर्न केन्द्रहरुलाई थप स्तरीय बनाउने र सकभर समुदायमा निरोगी जनताको अभियान मार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्य लिइएको नेता भट्टराई बताउँछन् । उनले रोग लागेर उपचार गर्ने तर्फ भन्दा पनि सकभर त रोग नै नलाग्ने खालको आनीबानी, खानपान र रहनसहन आत्मसात गर्दै निरोगी जनताको लक्ष्य लिनुपर्नेमा जोड दिन्छन् ।
युवा, रोजगारी र उद्यम
‘स्वदेशमै श्रम, स्वदेशमै रोजगार’ भन्ने मूल नारासहित एक घर एक रोजगार, युवा उद्यम कोष, सीप विकास तालिम, सहुलियत ऋण, उद्योग स्थापना र स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने कार्यक्रम अघि सारिएको छ । खेलकुद पूर्वाधारअन्तर्गत राष्ट्रिय स्तरको रंगशाला, कभर्ड हल र खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने प्रतिबद्धता पनि उल्लेख गरिएको छ । गर्न सकिने कामलाई प्रतिबद्धतामा राखिएको उल्लेख गर्दै निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण घिमिरेले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुकै पहलमा सुरु भएका कामलाई पूर्णता दिने, नयाँ योजना तय गर्ने र जनताको अपनत्व हुनेगरी साकार पार्न लाग्ने अठोट सहितको प्रतिबद्धता सार्वजनिक गरिएको बताए ।
सामाजिक न्याय र सुशासन
भूमिहीन, सुकुम्बासीलाई लालपुर्जा वितरण, जनता आवास कार्यक्रम विस्तार, सामाजिक सुरक्षा भत्ता वृद्धि, महिला उद्यम प्रवद्र्धन, छुवाछुत र कुरीति विरुद्ध अभियान तथा डिजिटल सरकारी सेवा प्रणाली लागू गर्ने योजना घोषणापत्रको अर्को महत्वपूर्ण पक्ष हो । लालपुर्जा वितरणको काम सुरु भइसकेपछि अहिलेको सरकारले आयोग नै खारेज गरिदिएको र सर्वोच्च अदालतबाट खारेजीको निर्णय बदर भएर पनि काम गर्ने वातावरण भने सरकारले नबनाएको गुनासो छ ।
निर्वाचन परिचालन किमटीका सहसंयोजक तथा पार्टीका सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपानेले अहिलेको पुस्ताले सरोकारवाला कार्यालयहरु जो सेवादेही निकायका रुपमा रहेका छन् तिनीबाट सरल, सहज, सुलभ र प्रभावकारी सेवा प्रवाह गराउनेतर्फ ध्यान दिइने बताए । उनले सुशासन र सामाजिक न्यायका लागि आफुहरु अवसर पाएपनि र नपाएपनि निरन्तर केन्द्रित रहेको उल्लेख गरे ।
प्रतिस्पर्धामा छन् २७ जना उम्मेदवार
रुपन्देही क्षेत्र नं. ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि भरतकुमार शाह (नेपाली कांग्रेस), मुहम्मद वकील मुसलमान (नेपाली कम्युनिस्ट पार्टी), तौफिक अहमद खान (राष्ट्रिय स्वतन्त्र पार्टी), मिनप्रसाद घिमिरे (राष्ट्रिय प्रजातन्त्र पार्टी), मुहम्मद बहिद फकिर (जनता समाजवादी पार्टी, नेपाल), ओमप्रकाश यादव गुल्जारी (जनमत पार्टी), वीरेन्द्रकुमार धोवी (नागरिक उन्मुक्ति पार्टी, नेपाल), खेम प्रसाद गुरुङ (आम जनता पार्टी), जगीलाल थापा (नेपाल मजदुर किसान पार्टी), जयश्वर रेग्मी (राष्ट्रिय जनमोर्चा), केशव भट्टराई (उज्यालो नेपाल पार्टी), शिवलाल विश्वकर्मा (श्रम संस्कृति पार्टी), सुनिल चौधरी थारु (प्रगतिशील लोकतान्त्रिक पार्टी), केशु रासकोटी मगर (नेशनल रिपब्लिक नेपाल), विष्णु प्रसाद भट्टराई (नेपाल कम्युनिस्ट पार्टी–माओवादी), जय नारायण काफ्ले (स्वतन्त्र), जगदीश यादव (स्वतन्त्र), धिरेन्द्र प्रसाद चौधरी (स्वतन्त्र), बसन्त कुमार यादव (स्वतन्त्र), बसन्ती चमार (स्वतन्त्र), लक्ष्मण बहादुर नेपाल (स्वतन्त्र), विक्रम प्रसाद यादव (स्वतन्त्र), सकिल अहमद खा (स्वतन्त्र), राजु श्रेष्ठ (नेपाल जनता पार्टी), इन्द्रबहादुर नेपाली (मंगोल नेशनल अर्गनाइजेसन) तथा चन्दा थापा (राष्ट्रिय जनमुक्ति पार्टी) चुनावी प्रतिस्पर्धामा छन् ।

एक लाख ३४ हजार ४४२ मतदाता
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा कुल एक लाख ३४ लाख ४४२ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनको तुलनामा मतदाता संख्या ४.१ प्रतिशतले वृद्धि भएको देखिएको छ । २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा ६६ प्रतिशत मतदान भएको थियो, जुन राष्ट्रिय औसत (६१ प्रतिशत) भन्दा बढी हो ।
लैङ्गिक आधारमा पुरुष मतदाता ५२.६४ प्रतिशत (७० हजार ७७५) र महिला मतदाता ४७.३५ प्रतिशत (६३ हजार ६५६) र अन्य २ जना रहेका छन् । उमेर समूहअनुसार १८–२५ वर्षका १० हजार ३७९ (७ प्रतिशत), २६–४० वर्षका ४९ हजार ५६ (३६ प्रतिशत), ४१–६० वर्षका ४६ हजार ३८५ (३४ प्रतिशत) र ६० वर्षमाथिका २८ हजार ६०६ (२१ प्रतिशत) मतदाता रहेका छन् ।
२०७९ मा रुपन्देही–५ मा एमालेका बासुदेव घिमिरे विजयी भएका थिए । त्यसबेला प्रत्यक्षतर्फ ८५ हजार ७५४ (६६.४१ प्रतिशत) र समानुपातिकतर्फ ८५ हजार ५९१ (६६.२८ प्रतिशत) मत खसेको थियो । प्रत्यक्षतर्फ ८० हजार ५०४ मत सदर (९३.८८ प्रतिशत) र ५ हजार २५० बदर (६.१२ प्रतिशत) भएका थिए भने समानुपातिकतर्फ ८० हजार ४४० सदर (९३.९८ प्रतिशत) र ५ हजार १५१ बदर (६.०२ प्रतिशत) भएका थिए ।
निर्वाचन परिणामअनुसार नेकपा एमालेका बासुदेव घिमिरे ३६ हजार ८२२ मत सहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार शाहले २७ हजार १२० मत प्राप्त गरेका थिए । घिमिरे र शाहको मतान्तर ९ हजार ७०२ थियो । भने जनता समाजवादी पार्टीका चन्द्रशेखर सोनारले ८ हजार ३९० मत पाएका थिए ।
यो क्षेत्रमा ४६ वटा मतदान स्थल र १४५ वटा मतदान केन्द्र तोकिएको छ । यो क्षेत्रले सैनामैना नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका समेटेको छ ।
