ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना कार्यान्वयनतर्फ

–१२ अर्ब ३५ करोडको परियोजना,लगानीका लागि विश्व बैंक तयार

मेचीकाली संवाददाता

१७ फाल्गुन २०८२, आईतवार
328 shares

अमृत गिरी

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु जिल्ला, रुपन्देही जिल्ला र नवलपरासी जिल्ला समेटिने गरी तयार पारेको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ । सहरी विकास मन्त्रालय मार्फत अगाडि बढेको यो परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भएर अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकको मुख्यालयमा पुगेको छ । यो परियोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रुपन्देही, कपिलवस्तु र नवलपरासी (बसुप) का बुद्ध जन्मस्थलसंग सम्बन्धित पालिकाहरुले सहकार्य गरिरहेका छन् ।

यो १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बजेट अनुमान गरिएको परियोजना हो । विश्व बैंक र एसीयाली विकास बैंकले परियोजनामा सहकार्य र लगानीका लागि सकारात्मक प्रतिबद्धता जनाइसकेका छन् । केही समयअघि प्रारम्भिक प्रतिवेदन तयार भएर विश्व बैंकको मुख्यालयमा पुगेको छ । अध्ययनमा नेपाल सरकार र विश्व बैंकको संयुक्त टोली खटिएको थियो ।
यो पूर्वमा नवपरासी (बसुप) को बर्दघाटदेखि पश्चिममा कपिलवस्तुको शिवराज र बीचको रुपन्देहीसहित तीन जिल्लाको भूभागलाई ‘बृहत् लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्य सहत केही वर्ष अघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगाडि सारेको एउटा ड्रिम प्रोजेक्ट हो ।

लगानीका स्रोत खोज्ने, थप क्षेत्रहरु समावेश गरेर पर्यटन गन्तव्यहरुको पहिचान, विकास र प्रबद्र्धन गर्नेलगायतका काममा विज्ञहरुले निरन्तर अध्ययन, अन्तरक्रिया गरिरहेका थिए । अहिले सोही अध्ययनको एउटा चरण पूरा भएको छ ।
उनै पूर्वअर्थमन्त्री पौडेलको पहलमा विश्व बैंकबाट समेत विज्ञहरु संयुक्त अध्धयनमै सहकार्य गर्न तयार भएका थिए । अहिले संयुक्त अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार भएर विश्व बैकको मुख्यालयमा पुगेको र केही समयपछि नेपाल सरकारसंग सम्झौता हुने सम्मको अवस्था छ ।

अब विश्व बैंकको मुख्यालयबाट अगाडिको प्रक्रिया आएपछि नेपाल सरकार र दातृ निकायका बीचमा ऋण सम्झौता हुने परियोजनाको समग्र समन्वय गरिरहेका नेपाल सरकारको सहरी विकास मन्त्रायलका महाशाखा प्रमुख समेत रहेका सहसचित नवराज प्याकुरेलले जानकारी दिए ।
अध्ययन प्रतिवेदनमा अन्तर्राष्ट्रिय दातृ निकाय सकारात्मक हुनु, रुपन्देही, कपिलवस्तु र नवलपरासी (बसुप)का यससंग सम्बन्धित पालिकाका प्रमुखहरु र अगुवाहरु सहकार्यका लागि एकजुट हुनुले परियोजनाका लागि सुखद सन्देश दिएको सहसचिव प्याकुरेलले बताए ।

केही वर्ष अघि ग्रेटर लुम्बिनीसहित काठमाण्डौं उपत्यका भिजन–२०४० को पनि परियोजना तय भएको थियो । तर, यो परियोजनामा उपत्यकाका १८ वटा भन्दा धेरै पालिकाहरुका बीचको समन्वयको काममै अल्झिइरहेको छ । यता लुम्बिनीको काममा भने गुणात्मक फड्को मारेको सहरी विकास मन्त्रालयको महाशाखाको समेत नेतृत्व गरिरहेका सहसचिव प्याकुरेलको भनाइ छ ।
परियोजनाले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा स्थापित गर्दै समग्र क्षेत्रको पूर्वाधार, आर्थिक गतिविधि, रोजगारी र दिगो सहरी विकासलाई एकीकृत ढंगले अघि बढाउने उद्देश्य राखेको छ । सम्पदाहरुको संरक्षण, दिगो विकास, सुशासन र समुदायको जीविकोपार्जनका विषयलाई यसमा प्राथिमकतामा राखिएको छ ।

यसलाई अझ विस्तार गर्नुपर्नेछ: पूर्वअर्थमन्त्री पौडेल
दातृ निकायहरूसँग समन्वय, चरणबद्ध छलफल र विज्ञ परिचालनमार्फत अवधारणा परिपक्व बनाइएको यो योजना पूर्वअर्थमन्त्री पौडेलको ‘ड्रिम प्रोजेक्ट’ मध्येको एक महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ । ‘बहुक्षेत्रीय सहकार्य, अन्तरसरकारी समन्वय र अन्तर्राष्ट्रिय साझेदारीमार्फत लुम्बिनीलाई केन्द्रमा राखी समग्र क्षेत्रलाई धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र दिगो आर्थिक समृद्धिको नमूना क्षेत्र बनाउने संकल्प हो’ पूर्वअर्थमन्त्री पौडेल भन्छन्–लगानीका लागि भरपर्दो अन्तर्राष्ट्रिय दातृ निकाय पनि तयार हुनुले यसको सुनिश्चितता अझ बलियो भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला समेटेर अघि बढाइएको ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना र यी जिल्लासंग जोडिएका पहाडी जिल्लामा समेत बृहत् चक्रपथसहितका हिलस्टेशन मार्फत पूर्वाधार सुदृढीकरण, सांस्कृतिक सम्पदा संरक्षण, एकीकृत सहरी योजना, वातावरणीय तथा सामाजिक प्रभाव व्यवस्थापन र संस्थागत समन्वयका ढाँचा तयार पारिएको पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ ।

धार्मिक सहिष्णुता, सांस्कृतिक बहुलता र सहभागितामूलक व्यवस्थापनमार्फत लुम्बिनीलाई विश्व शान्ति, सांस्कृतिक संवाद र दिगो पर्यटनको केन्द्रका रूपमा अझ सशक्त बनाउने दिशामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहल सार्थक बन्दा यसक्षेत्रको मुहार फेरिने पौडेलको दाबी छ ।

तीनवटै जिल्लामा महत्वपूर्ण सम्पदा
विश्व सम्पादन सूचिमा रहेको लुम्बिनी जसलाई सर्वोच्च तीर्थस्थल मानिन्छ । यहाँको माया देवी मन्दिर, बुद्धको जन्मस्थल, पवित्र पुष्करिणी पोखरी र अशोक स्तम्भ, मार्कर स्टोनहरुसहितका सम्पदाहरु महत्वपूर्ण छन् ।

कपिलवस्तुमा रहेको तिलौराकोट प्राचीन शाक्य राज्यको पुरातात्विक भग्नावशेष हो । यहाँ राजकुमार सिद्धार्थले आफ्नो प्रारम्भिक जीवन बिताएका थिए । प्राचीन समयमा समृद्ध राज्य थियो यो ।

यस्तै नवलपरासीको रामग्राममा रहेको स्तूप अर्को महत्वपूर्ण सम्पदा स्थल हो । यहाँ बुद्धको मूल अवशेषहरू भएको एक मात्र अक्षुण्ण स्तूप मानिन्छ । यसको गुरुयोजना तयार भएको छ । ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाले अहिले यिनै तीन जिल्लाका मुख्य स्थानलाई केन्द्रमा राखेर काम गर्नेछ । पछि अरु क्षेत्रलाई पनि समावेश गर्ने छ ।

पालिकाहरु सहकार्यका लागि तयार, प्रतिपालिका १ अर्बभन्दा धेरै बजेट माग
बुद्ध सर्किटअन्तर्गतका रामग्राम नगरपालिका, देवदह नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका ले ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनालाई स्थानीय आवश्यकता आधारित, पारदर्शी र दिगो बनाउने उद्देश्यसहित प्रत्येक नगरपालिकालाई ८ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब भन्दा धेरै नेपाली रुपैयाँ बजेट सुनिश्चित गर्न हालै विश्व बैंक समक्ष संयुक्त ज्ञापनपत्र पेश गरेका छन् ।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको नेतृत्वमा, देवदहका नगर प्रमुख ध्रुवप्रसाद खरेल तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कावा प्रमुख कल्पना हरिजन, सोही नपाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीसहितको टोलीले विश्व बैकका प्रतिनिधिलाई केही महिनाअघि संयुक्त ज्ञापन पत्र बुझाएका थिए । गौतम बुद्धको जन्मस्थल तथा विश्व सम्पदा सूचीकृत लुम्बिनी क्षेत्रको संरक्षणसँगै स्थानीय पूर्वाधार, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र समुदायको जीवनस्तर सुधारलाई परियोजनाको मूल लक्ष्य बनाउन आग्रह गरिएको छ ।

पालिकाहरूले परियोजना छनोट र कार्यान्वयन स्थानीय तहबाटै हुनुपर्ने, सडक, ढल, पैदलमार्ग र सार्वजनिक सुविधाजस्ता पर्यटन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने तथा एकीकृत कार्यान्वयन संरचना आवश्यक रहेको उल्लेख गर्दै संघीय, प्रादेशिक र स्थानीय तहबीच सुदृढ सहकार्यबाट मात्र दिगो विकास र आर्थिक वृद्धि सम्भव हुने कुरामा सबै प्रतिवद्ध रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका कावा प्रमुख हरिजनको भनाइ छ । नगरपालिकाहरूले परियोजनाले एकीकृत विकास, सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार सुदृढीकरण तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

के हो यो परियोजना ?
ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (न्ीब्म्) नेपाल सरकारको शहरी विकास मन्त्रालयको नेतृत्वमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, सम्बन्धित स्थानीय तह र विश्व बैंकको सहयोगमा कार्यान्वयन भइरहेको एक समग्र पर्यटन–पूर्वाधार तथा सम्पदा संरक्षण कार्यक्रम हो ।

परियोजना पहिलो चरणमा मुख्यतः मायादेवी मन्दिर (लुम्बिनी), तिलौराकोट, देवदह र रामग्रामलगायतका बौद्ध सम्पदा स्थलहरूमा केन्द्रित छ । त्यसपछि यसलाई विस्तार गरेर पहाडी जिल्लाहरुलाई पनि समेटिनेछ । यसको उद्देश्य पर्यटन–सम्बन्धित पूर्वाधार र सेवामा सुधार गर्दै वार्षिक पर्यटक आगमन वृद्धि, आगन्तुक सन्तुष्टि अभिवृद्धि, तथा स्थानीय रोजगारी र उद्यमशीलता विस्तार गर्नु रहेको सहरी विकास मन्त्रालयको भनाइ छ ।
परियोजनाले गन्तव्य योजना तथा स्थानीय आर्थिक विकास गरि बौद्ध सर्किटका लागि एकीकृत पर्यटन दृष्टिकोण, महिला र युवा–नेतृत्व उद्यम, सीप विकास र निजी क्षेत्रको जिम्मेवार संलग्नता प्रवद्र्धन गर्ने छ । यस्तै महत्वपूर्ण पर्यटन पूर्वाधार सुधार गर्दै आगन्तुक सुविधा, साइनेज, भूदृश्य, गतिशीलता समाधान र सार्वजनिक स्थान स्तरोन्नति गरिनेछ । यस्तै परियोजना व्यवस्थापन तथा समन्वयले संस्थागत क्षमता, पारदर्शी कार्यान्वयन, अनुगमन र गुनासो सम्बोधन संयन्त्रलाई सुदृढ बनाउनेछ ।

परियोजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापनका लागि स्थानीय बासिन्दा, कारीगर, अनौपचारिक विक्रेता, किसान, मठ–मन्दिर तथा धार्मिक संस्थाहरू, सरकारी निकाय र आगन्तुकहरूलाई सूचना, परामर्श र निर्णय प्रक्रियामा सहभागी गराइएको छ ।
विश्व बैंकका वातावरणीय तथा सामाजिक मापदण्डअनुसार लिङ्ग समानता, जलवायु लचिलोपन र दिगोपनलाई मुख्यधारमा समावेश गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा महिलाको सहभागिता करिब २० प्रतिशत मात्र रहेकाले महिला–नेतृत्व व्यवसायलाई तालिम, बजार पहुँच र सल्लाहकार सहयोगमार्फत सशक्त बनाइनेछ उल्लेख छ ।

साथै, पानी–सरसफाइ, ढल निकास, ऊर्जा–कुशल पूर्वाधार जस्ता जलवायु–स्मार्ट उपायहरू, पूर्ण जलवायु तथा विपद् जोखिम मूल्याङ्कन र बहुभाषिक हेल्पलाइनसहितको गुनासो समाधान प्रणालीमार्फत परियोजनाले सामाजिक जवाफदेहिता र दीगो विकास सुनिश्चित गर्ने लक्ष्य राखेको सहरी विकास मन्त्रालयले परियोजना सम्बन्धी सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

कसरी पत्ता लागेको थियो लुम्बिनी ?
विश्व शान्तिका प्रवर्तक गौतम बुद्ध को जन्म ई.पू. ६२३ मा लुम्बिनीमा भएको मानिन्छ, जसलाई ई.पू. २४९ तिर सम्राट् अशोकले आफ्ना गुरु उपगुप्तसहित भ्रमण गरी शाक्यमुनि बुद्धको जन्मस्थल भएको प्रमाणित गर्ने शिलालेखसहितको स्तम्भ स्थापना गरेर ऐतिहासिक रूपमा प्रमाणित गरेका थिए ।

कलिङ्ग युद्धपश्चात् बौद्ध धर्म अपनाएका अशोकको शासनकाललाई बौद्ध धर्मको स्वर्णिम युग मानिन्छ । सन् १८९६ मा जनरल खड्गशमशेर र डा. एन्टोन फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी विश्व विद्वत् समुदायको ध्यानमा आयो । त्यसपछि बाबु पूर्णचन्द्र मुखर्जी, केशरशमशेर, देवलामित्रलगायतका अनुसन्धानकर्ताले उत्खनन कार्य अघि बढाए भने सन् १९९२–९६ मा लुम्बिनी विकास कोष, पुरातत्व विभाग र जापान बुद्धिष्ट फेडरेसनको संयुक्त प्रयासबाट बुद्धको वास्तविक जन्मस्थल मानिने ‘मार्कर स्टोन’ पत्ता लाग्यो ।

सन् २०१०–१३ मा प्राध्यापक रविन कनिङहम नेतृत्वको टोलीले अशोकपूर्वकालीन इँटा तथा काठबाट निर्मित मन्दिरका अवशेष र ईसापूर्व १३०० तिरको प्राचीन बस्ती फेला पार्दै लुम्बिनीको ऐतिहासिकता अझ प्राचीन रहेको प्रमाण प्रस्तुत गरेको थियो । यसले यसको विश्वव्यापी महत्त्व थप उजागर ग¥यो ।

लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय चासो
लुम्बिनीको आधुनिक विकासमा उ थान्तको सन् १९६७ को भ्रमण निर्णायक रह्यो, जसपश्चात् अन्तर्राष्ट्रिय सहयोग जुट्दै सन् १९७२ मा जापानी वास्तुविद् केन्जो टांगेले तयार पारेको गुरुयोजना १९७८ मा स्वीकृत भई कार्यान्वयनमा आयो । सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत ग¥यो र हाल तिलौराकोट कपिलवस्तु क्षेत्रको विश्व सम्पदा मनोनयन प्रक्रिया अघि बढिरहेको छ । यी बाहेकका अन्य क्षेत्रलाई समेत समावेश गरेर अहिले ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना अगाडि बढेको हो ।