सैनामैना । युवाशक्तिलाई सकारात्मक दिशामा उन्मुख गराउँदै सामाजिक सहकार्य र नेतृत्व विकासलाई केन्द्रमा राखेर सैनामैना नगरपालिका–२ का युवाहरूले ‘उडान समूह’ गठन गरेका छन् । समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसन, मादक पदार्थ सेवन र विभिन्न कुलतविरुद्ध सचेतना फैलाउने तथा युवाहरूलाई रचनात्मक सामाजिक काममा सक्रिय बनाउने उद्देश्यसहित उक्त समूह स्थापना गरिएको हो ।
स्थानीय युवा गौरव बेल्बासेको अध्यक्षतामा गठन भएको समूहको उपाध्यक्षमा नारायण गौतम, सचिवमा आयुष बेल्बासे, सहसचिवमा सन्देश विक तथा कोषाध्यक्षमा तुषार बोगटी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा विशाल भुजेल, सार्थक रिजाल, सुशान्त चौधरी, सुवाश सुनार, आकाश बुढामगर, आशिष थापा, रविन चौधरी, मञ्जिल खनाल, सुवाश चौधरी र निरन्जन पन्थी रहेका छन् ।

समूहलाई मार्गदर्शन गर्ने संरक्षक तथा सल्लाहकारका रूपमा क्षेत्रका समाजसेवी तथा वडाध्यक्ष अमर कंडेल, राजबहादुर क्षेत्री, प्रेमकुमार शर्मा, टिका राना, शिव क्षेत्री, लक्ष्मण ठकुरी, थम्मन बराल, रेशम भलामी, सुरेश बोगटी, राजा पन्थी, नारायण बराल, शम्भु खाम्चा, राजन श्रेष्ठ, किशोर कार्की, अनिल रोका, चित्र सुनार, रोजन श्रीस र सागर विक रहेका छन् ।
समूहमा आबद्ध युवाहरूको उमेर १८ देखि २८ वर्षसम्म रहेको छ । यही उमेर समूहलाई सामाजिक परिवर्तनको अग्रपंक्तिमा उभ्याउने लक्ष्यसहित समूह गठन गरिएको अगुवा सागर विकले जानकारी दिए । उनका अनुसार युवाहरूलाई कुलतबाट टाढा राख्दै सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकास गराउने मुख्य उद्देश्य रहेको छ ।
समूहले आगामी दिनमा लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना अभियान, वातावरण संरक्षण, सरसफाइ अभियान, रक्तदान, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, विपद् व्यवस्थापनमा सहयोग र विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ ।
समूहका अध्यक्ष बेल्बासेका अनुसार अध्ययनरत युवाहरूले पढाइपछि बाँकी समय सामाजिक सेवामा लगाउने र पढाइ छाडेर पेशा–व्यवसायमा संलग्न युवाहरूले आफ्नो कामलाई अझ व्यवस्थित बनाउँदै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्ने वातावरण सिर्जना गर्नु समूहको लक्ष्य हो ।
‘समाजका अग्रजहरूलाई मार्गनिर्देशक मान्दै सकारात्मक चिन्तनसहित समाजसेवामा समर्पित हुनु नै हाम्रो मूल उद्देश्य हो,’ अध्यक्ष बेल्बासेले भने, ‘युवाहरू परिवर्तनका संवाहक हुन् भन्ने सन्देश व्यवहारमै देखाउने गरी हामी काम गर्नेछौं ।’
स्थानीय बासिन्दाले पनि युवाहरूको यस्तो पहललाई सकारात्मक रूपमा लिँदै यसले समुदायमा सामाजिक एकता, सचेतना र विकासको नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । युवाहरूको सहकार्य, जिम्मेवारीबोध र सामाजिक प्रतिबद्धताले सैनामैनामा सकारात्मक परिवर्तनको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।
