घनश्याम कोइराला
हामीमध्ये कतिले ‘रामराज्य’ भन्ने सुनेका छौँ । प्राचीन सन्दर्भहरू हेर्दा रामराज्य भनेको अयोध्याका राजा दशरथका छोरा मर्यादा पुरुषोत्तम रामले गरेको जस्तो राज्य भनिएको देखिन्छ । रामराज्य भनेको सुखी, सम्पन्न, समृद्ध राज्य भनिएको हो । रामले गरेको राज्यको अवस्थाका बारेमा केही रामायणहरूमा लेखिएका विषयवस्तु अध्ययन गर्दा पाइएका संक्षिप्त टिपोट सहित यहाँ विमर्श गरिएको छ । वाल्मीकिरामायण, युद्धकाण्ड, १२८ औँ सर्गमा यस्तो लेखिएको रहेछ ।
‘न पर्यदेवन् विधवा न च व्यालकृतं भयम् । न व्याधिजं भयं चासिद् रामे राज्यं प्रशासति अर्थात् रामको शासन कालमा विधवाहरूको विलाप कहिल्यै सुन्नु परेन । सर्प आदि दुष्ट जीवहरूको पनि डर थिएन । अनि, रोगहरूको त शंकै थिएन ।’
‘निर्दस्युरभल्लोको नानर्थं कश्चिदस्पृशत् । न च स्म वृद्धा बालानां प्रेतकार्याणि कुर्वते अर्थात् कतै पनि चोर र लुटेराहरूको नामसम्म पनि सुन्न पर्थेन । कुनै मानिस अनर्थकारी काममा लाग्दैन थिए । वृद्ध मानिसहरूले बालउमेरका मानिसहरूको अन्त्येष्टिमा सहभागी पर्दैन थियो ।’
‘सर्वं मुदितमेवासीत् सर्वो धर्मपरोअभवत् । राममेवानुपश्यन्तो नाभ्यहिंसं परस्परम् अर्थात् सबै मानिस सधै प्रसन्न रहन्थे । सबै धर्मपरायण थिए । सबैले राममाथि नै ध्यान दिन्थे । कसैले कसैलाई दुःख दिँदैन थिए ।’
अहिले एकल भनिने ‘विधवा’ महिलाहरू सुरक्षित थिए । सर्प र अन्य खतरनाक प्राणीहरूबाट हुने जोखिम थिएन–उचित व्यवस्था थियो । रोग नलाग्ने, समयमै उपचार हुने व्यवस्था थियो, सचेतना थियो । लुटपाट र चोरीका घटना हुँदैनथ्यो । मानिसहरू आवश्यक र उत्पादनशील काममा लागेका हुन्थे । मानिसहरूको मृत्यु पनि उमेरअनुसार हुन्थ्यो बालमृत्यु आदि थिएन । सबै मानिसहरू कर्तव्यपरायण थिए । शासनलाई पछ्याउँथे ।
रामराज्यबारे भानुभक्तको रामायण, युद्धकाण्डमा यसरी बयान गरिएको रहेछ:
राजा राम् भइ बक्सनू जब भयो प्राणी प्रजा खुस् भया ।
जो पथ्र्यो अघि ताप् अनेक तरहका ती सब् प्रजाका गया ।।
गर्दैनन् विधवा विलाप् मुलुकमा लाग्दैन रोग व्याध् पनी ।
सब् डाकू दबिया परेन कहिं ताप् यो चिज् हरायो भनी ।।
बूढो बाँचि मरेन बालक कहीं यस्तो मुलुक्मा भयो ।
छोरा झै गरि पालि बक्सनु हुँदा सब् ताप् प्रजाको गयो ।।
गर्छन् राघवको भजन् जनहरू बर्षन्छ मेघ् कालमा ।
वर्णाश्रम् सब धर्म छन् दिन बित्या सब्का सुखै चालमा ।।
गोस्वामी तुलसीदासरचित रामायण, उत्तरकाण्डमा यस्तो उल्लेख छ ।
अल्पमृत्यु नहिं कवनिउ पीरा ।
सब सुंदर सब बिरुज सरीरा ।।
नहिं दरिद्र कोउ दुखी न दीना ।
नहिं कोउ अबुध न लच्छन हीना ।।
सब निर्दंभ धर्मरत पुनी । नर अरु नारि चतुर सब गुनी ।।
सब गुनग्य पंडित सब ग्यानी । सब कृतग्य नहिं कपट सयानी ।।
(कसैको पनि अकाल मृत्यु हुँदैन, न कसैलाई कुनै पीडा हुन्छ । सबैको शरीर सुन्दर र निरोग छ । न कुनै दरिद्री छन्, न दुःखी र न दीन नै छन् । न कुनै मूर्ख छन् तथा न कुनै शुभ लक्षणबाट हीन नै छन् अर्थात् सबै सर्वगुण सम्पन्न छन् । सबै दम्भरहित छन्, धर्मपरायण छन् (दम्भरहित धर्म गर्छन्, देखाउनको लागि होइन) र पुण्यात्मा छन् । सबै स्त्री–पुरुष चतुर र गुणवान् छन् अर्थात् सबै आ–आफ्नो गुणमा प्रवीण छन् । सबै गुणहरूका ज्ञाता छन् अर्थात् गुणलाई जान्दछन् र गुणहरूका पारखी छन्, सबै पण्डित छन् तथा सबै ज्ञानी अर्थात् शास्त्रीय ज्ञानलाई जानेका) छन् । सबै कृतज्ञ (उपकार मान्नेवाला) छन्, कपट–चतु¥याइँ (धूर्तता) कुनैमा छैन ।)
अध्यात्म रामायणमा लेखिएअनुसार रामराज्यमा सबै जनतालाई आनन्द भएको, चोरी नहुने, गुण्डागर्दी नहुने, कसैसँग कसैको झगडाको आवश्यकता नै नभएको, कोही डराउन नपर्ने, जनताको सेवाका लागि सेना र वाहनहरू भएको, सबै स्वस्थ भएको, सबैले गरगहना र सुन्दर पोसाक लगाएको, समाजसेवा र धार्मिक कार्य भइरहने, अनाज र फलफूल लटरम्म फलेका, अनुशासन राम्रो भएको, राम्रा र व्यवस्थित गौरचरन भएको, गाईबाट प्रसस्त आम्दानी हुने, सबैतिर मठमन्दिरहरू भएको र त्यहीँबाट शिक्षा दिने गरिन्थ्यो । यसरी रामराज्यको वर्णन गरिएको पाइन्छ ।
रामराज्य भनेको सुन्दर, सहज, समृद्ध राज्य हो । त्यस्तो राज्य सञ्चालनको मुख्य नेतृत्व रामबाट भए पनि शासन संयन्त्रका जिम्मेवार निकाय तथा व्यक्तिहरू जनताको हितप्रति प्रतिबद्ध शासनप्रति उत्तरदायी थिए । मानिसहरू आत्मानुशासनमा थिए । सहिष्णु, सहयोगी र कर्तव्यनिष्ट थिए । रामराज्यको सार यस्तै बुझिन्छ ।
अहिले हामी लोकतन्त्र राज्यमा छौँ । हामीले हाम्रा शासक मतदानको माध्यमबाट हामी आफैँ छान्दछौँ । हामी निर्देशनात्मक शासन प्रणालीमा नभई सहभागितात्मक शासन प्रणालीमा छौँ । हामी सबैमा शासकीय अधिकार छ तर हामीमा ती गुणहरू छन् कि छैनन् ? त्यस्तो क्षमता छ कि छैन ? हामी आफैँ अनुशासित छौँ कि छैनौँ ? हामी आपूmले केही अवसर पाउँदा अरुलाई सम्झन्छौँ कि आफैँलाई पोस्छौँ ? अरुले उचित अवसर पाउँदा खुसी हुन्छौँ कि आपूmले नपाएकोमा डाहाडिन्छौँ ? यस्ता विषयमा सम्वेदनशील नभई लोकतन्त्र बलियो हुँदैन, समाज लोकतान्त्रि बन्दैन । अहिलेको ‘रामराज्य’ सुदृढ लोकतन्त्र र समृद्ध जीवन हो अर्थात् सुशासनको माध्यमबाट प्राप्त हुने साझा प्रतिफल हो ।
अधिकार भनेको कहीँ लेखिएको छ भनेर चित्त बुझाउने विषय नभई उपभोगको अवस्था हो । यदि व्यवहारमा अधिकार पाइएको छैन र संविधान तथा नियम कानुनमा लेखिएको मात्र छ भने त्यो ‘भाग्य’मा लेखिएको अधिकार हो, मस्त निद्रामा सपनामा देखिएको अधिकार हो । अधिकारबारे संविधान तथा नियम कानुनमा लेखिनु महत्वपूर्ण हो, तर त्यहीँ सीमित रहनु भनेको अधिकार पाउनुपर्ने पक्षको कमजोरी र लागू गर्नु–गराउनुपर्ने पक्षद्वारा गरिएको अन्याय हो, घोर अत्याचार हो ।
कर्तव्य भनेको अधिकारकै अर्को पाटो हो । यो अधिकार प्राप्तिका लागि पूरा गर्नुपर्ने जिम्मेवारी हो । प्राप्त भएको अधिकारलाई न्यायपूर्ण ढङ्गले उपभोग गर्नु र अरुको अधिकारका लागि जिम्मेवार बन्नु हो ।
यसरी अधिकार र कर्तव्य एउटा चराको दुई पखेटा हो, एउटा सिक्काको दुई पाटा हो । अघिल्लो र पछिल्लो पाइला हो । गति, स्थिरता र गतिको चक्र हो । अधिकार र कर्तव्य सुशासन र समृद्धिको आधार हो । अधिकारभित्र पाउनुपर्ने उपलब्धिको सूचि हुन्छ, अवसरको चाङ हुन्छ भने कर्तव्यभित्र न्यायपूर्ण सदुपयोगको प्रत्याभूति–सुनिश्चितता हुन्छ ।
सुशासन बहुआयामिक विषय हो । शब्दको अर्थका हिसाबले सुशासन भनेको असल शासन हो । असल शासनका लागि राजनीतिक नेतृत्व असल प्रशासनिक संयन्त्र असल हुनुपर्छ । राजनीतिक नेतृत्व मात्रै वा प्रशासनिक नेतृत्व मात्रै असल भएर पुग्दैन, दुवै उत्तिकै असल हुनुपर्छ ।
असल हुनु भनेको के हो त ? जानकारहरू सुशासनका केही निश्चित आधार वा स्तम्भ हुने बताउँछन् । दूरदर्शिता, पारदर्शिता, जबाफदेहिता, सहभागिता, क्षमता र प्रतिबद्धता सुशासनका आधारस्तम्भ हुन् । सम्भवतः यी आधार न्यूनतम हुन् ।
सुशासनको सबैभन्दा महत्वपूर्ण पक्ष हो— उचित भूमिका र भूमिकाको मूल्याङ्कन । दण्ड र पुरस्कार दुवै सुशासनका देय हुन् । दण्डहीनता सुशासनको छिद्र हो । पुरस्कार सुशासनको प्रवद्र्धन । दण्डित हुनुपर्ने दण्डमुक्त हुने र पुरस्कृत हुनुपर्ने तिरस्कृत हुनुप¥यो भने सुशासन धराशायी हुन्छ । सुशासन सबै नागरिकहरूको सुझबुझ र सचेतन प्रयत्नबाट प्राप्त हुन्छ, अनुभूति गर्न सकिन्छ । सुशासन नै सही लोकतन्त्र हो । (लेखकः कोइराला अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)
