लुम्बिनीबाट विश्व शान्तिको सन्देश

–बुद्ध जन्मस्थलमा जारी अन्तर्राष्ट्रिय महोत्सवले नयाँ आशा जगायो

मेचीकाली संवाददाता

७ चैत्र २०८२, शनिबार
77 shares

अमृत गिरी

लुम्बिनी । मध्यपूर्वमा भएको तनावले यतिबेला युद्धरत पक्ष मात्रै होइन, युद्धमा संलग्न नरहेका र युद्धको कुनै साइनो समेत नभएका देशहरु समेत प्रभावित भएका छन् । एकप्रकारले भन्ने हो भने सारा विश्व प्रभावित भएको अवस्था छ । यहीँ बेलामा बुद्धको दर्शन, शिक्षा, उपदेश र ज्ञानको ज्योतिमार्फत विश्वमा शान्ति कायम गर्न सकिने सन्देश सहित बुद्धजन्मभूमि लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रियस्तरको विशेष कार्यक्रम भएको छ ।

भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट पुनः एकपटक विश्व शान्ति, करुणा र सहअस्तित्वको सशक्त सन्देश प्रवाहित गर्ने प्रयास भएको छ । यस्तो प्रयासमा नेपालसहित विभिन्न मुुलकका अगुवाहरु संलग्न छन् । ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६’ मार्फत अहिले विश्व शान्तिको आह्वान गरिएको छ ।
यो कार्यक्रम केवल आध्यात्मिक अभ्यास मात्र नभई अन्तर्राष्ट्रिय सहकार्य, सांस्कृतिक संवाद र मानव एकताको नयाँ आयाम रहेको लुम्बिनी विकास कोषको दाबी छ । विकास कोषका उपाध्यक्ष डा.ल्याहारक्याल लामाले बुद्धको दर्शन र शिक्षाले सारा विश्वको प्राणी जगत्लाई नै न्याय गर्ने दाबी गरे ।

चिनियाँ दूतावासको संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड र नेपाल ओलम्पिक कमिटीको सहकार्यमा आयोजित महोत्सवमा ध्यान, सांगीतिक प्रस्तुति र शान्ति म्याराथन जस्ता कार्यक्रम समावेश छन् । यसले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा स्थापित गर्ने प्रयासलाई अझ बलियो बनाएको डा.लामाको दाबी छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले वर्तमान विश्वमा बढ्दो द्वन्द्व, असहिष्णुता र मानसिक विभाजनका बिच बुद्धका शिक्षाहरू झन् सान्दर्भिक बनेको बताए । ‘लुम्बिनी केवल ऐतिहासिक स्थल होइन, यो सम्पूर्ण मानवताको साझा धरोहर हो,’ उनले भने, ‘यहाँबाट प्रसारित करुणा र सहिष्णुताको सन्देशले विश्वलाई एकताबद्ध गर्न सक्छ ।’
करिब २६०० वर्षअघि सिद्धार्थ राजकुमारका रुपमा यहीँ क्षेत्रमा बुद्धको जन्म भएको थियो । त्यसबेलाको समाज, विश्व परिवेशमा बुद्धको ज्ञानको त्यो ज्योति एउटा युगिन महत्वको प्याराडाइम सिफ्ट मानिन्छ ।

अहिले पश्चिमा मुलुकहरुले समेत बुद्धका ध्यान, प्रणायाम, माइण्डफूलनेशलाई आत्मसात् गर्दै आएका छन् भने विभिन्न विश्वविद्यालयहरुमा विभिन्न तहमा पाठ्यक्रम नै बनाएर पठनपाठन र सोध भइरहेको छ । बौद्ध कूटनीतिका माध्यमबाट विश्वमा शान्ति कायम गर्न सकिने सम्भावना र शान्दर्भिकता उत्तिकै रहेको विषयमा लुम्बिनीको उक्त कार्यक्रममा सहभागीहरुको एकमत थियो ।
महोत्सवले लुम्बिनीलाई आध्यात्मिक पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा उभ्याउने लक्ष्य राखेको आयोजकको भनाइ छ । साथै तिलौराकोट, देवदह र रामग्राम जस्ता बौद्धकालीन क्षेत्रहरूलाई ‘विश्व शान्ति सहर’ का रूपमा विकास गर्ने अवधारणालाई पनि अघि बढाइएको छ ।

बौद्ध दर्शन विश्वका लागि व्यावहारिक मार्गदर्शनः चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विश्वभर बढ्दो द्वन्द्वका बिच शान्ति आज हरेक परिवारको आधारभूत आवश्यकता बनेको उल्लेख गर्दै बौद्ध दर्शनमा आधारित करुणा र सहअस्तित्वलाई विश्वका लागि व्यावहारिक मार्गदर्शनको रूपमा प्रस्तुत गरे । उनले चीन र नेपालबिचको सम्बन्धलाई केवल भौगोलिक सीमामा सीमित नभई गहिरो सांस्कृतिक र आध्यात्मिक सम्बन्धका रूपमा व्याख्या गरे ।

महोत्सवले नेपाललाई कूटनीतिक तथा सांस्कृतिक रूपमा पनि महत्वपूर्ण अवसर प्रदान गरेको छ । सहभागीहरूको बुझाइमा, यस्ता कार्यक्रमहरूले लुम्बिनीलाई केवल धार्मिक गन्तव्य नभई अन्तर्राष्ट्रिय शान्ति संवादको केन्द्रका रूपमा विकास गर्ने सम्भावना बढाएको लुम्बिनीका बारेमा लामो समयदेखि रिर्पोटिङ गर्दै आएका वरिष्ठ पत्रकार कुलमणि ज्ञवालीको भनाइ छ ।
कार्यक्रमअन्तर्गत ध्यान साधना, अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागितासहितको ‘पिस कन्सर्ट’ तथा अन्तिम दिन आयोजना हुने शान्ति म्याराथनले शान्तिको सन्देशलाई व्यवहारमा उतार्ने प्रयास गरेको ज्ञवाली बताउँछन् । विश्वका विभिन्न देशबाट आएका भिक्षु, साधक, कलाकार र खेलाडीहरूको सहभागिताले महोत्सवलाई अझ अन्तर्राष्ट्रिय बनाएको छ ।

आजको अस्थिर विश्व परिवेशमा बुद्धका मध्यम मार्ग, करुणा र सहअस्तित्वको दर्शनलाई पुनर्जीवित गर्दै विश्वलाई सकारात्मक दिशा दिन खोजेको उनको दाबी छ ।