काठमाडौ । अमेरिकाका विभिन्न सहरहरूमा डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनविरुद्ध व्यापक विरोध प्रदर्शन भएका छन् । ‘नो किङ्स’ नाम दिइएको यी ¥यालीहरूको तेस्रो चरणमा देशभर लाखौं मानिस सडकमा उत्रिएका छन् ।
आयोजकहरूले ट्रम्प प्रशासनका नीतिहरू–विशेषगरी ईरानसँगको सम्भावित युद्ध, कडा आप्रवासन नीति तथा बढ्दो महँगी–प्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरिएको बताएका छन् । उनीहरूले ट्रम्प ‘निरंकुश शासक’ जस्तो व्यवहार गर्न खोजेको आरोप लगाउँदै अमेरिका लोकतान्त्रिक मुलुक भएकाले सत्ता जनताको हातमा रहने स्पष्ट सन्देश दिएका छन् ।
यसैबीच, ह्वाइट हाउसका प्रवक्ताले यी प्रदर्शनलाई ‘ट्रम्पविरुद्धको मानसिक प्रतिक्रिया’ भन्दै खारेज गरेका छन् । तर शनिबार न्युयोर्क, वाशिङ्टन डीसी र लस एन्जेलस लगायत प्रमुख सहरहरूमा दिनभर विशाल भीड देखिएको थियो । वाशिङ्टन डीसीस्थित लिंकन मेमोरियल वरपर प्रदर्शनकारीहरूको बाक्लो उपस्थिति देखिएको थियो भने नेशनल मल क्षेत्र पूर्ण रूपमा भरिएको थियो ।
यसअघि जस्तै यस पटक पनि प्रदर्शनकारीहरूले ट्रम्प, उपराष्ट्रपति जेडी भान्स तथा प्रशासनका अन्य अधिकारीहरूको आलोचना गर्दै विभिन्न प्लेकार्ड र पुतला प्रदर्शन गरेका थिए । विशेषगरी मिनेसोटामा भएको प्रदर्शन उल्लेखनीय रह्यो, जहाँ जनवरीमा संघीय आप्रवासन कारबाहीका क्रममा दुई नागरिकको मृत्यु भएपछि आक्रोश चुलिएको थियो । उक्त घटनापछि देशभर आप्रवासन नीतिविरुद्ध विरोध चर्किएको हो ।
न्युयोर्कको टाइम्स स्क्वायर क्षेत्रमा पनि हजारौं मानिस भेला भएर म्यानह्याटनका सडकहरूमा मार्च गरेका थिए । भीड व्यवस्थापन गर्न प्रहरीले व्यस्त सडकहरू बन्द गर्नुपरेको थियो । यसअघि अक्टोबरमा भएको ‘नो किङ्स’ प्रदर्शनमा मात्र न्युयोर्कका पाँचै बरोमा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए भने देशभर करिब ७० लाख मानिस सहभागी भएको अनुमान गरिएको थियो ।
विरोध प्रदर्शन साना सहरहरूमा पनि फैलिएको छ । शेल्बीभिल, केन्टकी र हाउल, मिशिगन जस्ता साना स्थानहरूमा समेत नागरिकहरू सडकमा उत्रिएका छन् । बोस्टन, न्यासभिल र ह्युस्टनमा पनि ठूला ¥यालीहरू आयोजना गरिएका छन् ।
यसबीच केही राज्यहरूले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेशनल गार्ड परिचालन गरेका छन्, यद्यपि आयोजकहरूले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गरेका छन् । ट्रम्प प्रशासनले सन् २०२५ जनवरीमा पुनः सत्ता सम्हालेपछि कार्यकारी आदेशमार्फत राष्ट्रपति अधिकार विस्तार गरेको, राज्यहरूको सहमतिबिनै नेशनल गार्ड परिचालन गरेको तथा राजनीतिक विरोधीहरूमाथि मुद्दा चलाउन दबाब दिएको आरोप लाग्दै आएको छ ।
तर राष्ट्रपति ट्रम्पले यी आरोपहरू अस्वीकार गर्दै देशलाई संकटबाट बाहिर निकाल्न कडा कदम आवश्यक भएको बताएका छन् । उनले आफूलाई ‘राजा’ बनाउने आरोपलाई ‘अतिरञ्जित’ भन्दै खारेज गरेका छन् । यद्यपि आलोचकहरूले यस्ता कदमहरू असंवैधानिक हुन सक्ने र अमेरिकी लोकतन्त्रका लागि खतरा बन्न सक्ने चेतावनी दिएका छन् ।
अमेरिकाभित्र मात्र होइन, विदेशमा रहेका अमेरिकी नागरिकहरूले पनि विरोध प्रदर्शन गरेका छन् । पेरिस, लन्डन र लिस्बनमा आयोजित प्रदर्शनमा सहभागीहरूले ट्रम्पविरुद्ध नाराबाजी गर्दै महाभियोग र पदबाट हटाउने मागसमेत गरेका छन् । (बीबीसीको सहयोगमा)
