नियमित रक्तदाता संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२२ चैत्र २०८२, आईतवार
146 shares

बुटवल । नेपाल नियमित रक्तदाता संघको आयोजनामा बुटवलमा नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय जनसहभागिता रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान श्रीबास्तवले रक्तदान मानव जीवन बचाउने सबैभन्दा महान् कार्य भएको उल्लेख गर्दै नियमित रक्तदानको संस्कार विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘रक्तदान कुनै दान मात्र होइन, यो जीवनदान हो । प्रत्येक स्वस्थ नागरिकले वर्षमा कम्तीमा एक पटक रक्तदान गर्ने बानी बसाल्नुपर्छ ।’ साथै उनले युवाहरूलाई रक्तदान अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताए ।

बुटवल उपमहानगरपालिका–११ की जनप्रतिनिधि माया दर्नालले यस्ता मानवीय कार्यले समाजमा सहकार्य र सद्भाव बढाउने धारणा व्यक्त गरे । कार्यक्रममा सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान नेपालका उपाध्यक्ष शरद ओली, सल्लाहकारहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले स्वागत मन्तव्य राख्दै एक घर एक रक्तदाता भन्ने नारालाई व्यवहारमा उतार्दै रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले संस्था विगत १८ वर्षदेखि ६५ बर्ष भित्रका दाताहरुलाई समन्वय गर्न निरन्तर सक्रिय रहेको जानकारी दिए । उक्त कार्यक्रम ५२ युनिट रगत संकलन भएको थियो।

कार्यक्रममा उपाध्यक्ष महेश खनाल, सचिव मञ्जु गिरी, सदस्यहरू राजेश गैरे, गंगा विश्वकर्मा, रुपेन्द्र अधिकारी, जिल्ला अध्यक्ष असेस सिलवाल तथा जिल्ला उपाध्यक्ष भास्कर साहीलगायतको सक्रिय सहभागिता रहेको थियो । सोही अवसरमा संस्थाको वार्षिक क्यालेन्डर समेत विमोचन गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता तथा महासचिव दीपक अधिकारीको सञ्चालनमा सम्पन्नभएको थियो ।