जुनतारा सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२६ चैत्र २०८२, बिहीबार
38 shares

बुटवल । बुटवल–११ देविनगरस्थित जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिभिन्न कार्यक्रम गरी १४औँ स्थापना दिवस मनाएको छ । सोही अबसरमा बिहीबार बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष यमप्रसाद पोखरेलले रगतको अभावले कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । सहकारीको सेवालाई समय सापेक्ष गुणस्तरीय र प्रभावकारी बनाउन प्रविधिमैत्री बनाउँदै लगिएको उनले बताए । संस्थाले हरेक वर्ष रक्तदान, सरसफाइलगायत विभिन्न रचनात्मक कामहरु गर्दै आएको बताउँदै अध्यक्ष पोखरेलले संस्थालाई थप उचाइमा पु¥याउन सबै सदस्यहरुलाई एकजुट भई अघि बढ्न आग्रहसमेत गरे ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष चेतनारायण खनालले सहकारी संस्थाहरू वित्तीय गतिविधिमा मात्र केन्द्रित नभइ समाजसेवामा पनि अग्रसर हुनुपर्ने धारणा राखे । रक्तदान जस्तो पवित्र कार्यलाई निरन्तरता दिइ बिरामीको ज्यान जोगाउने कार्यमा अग्रसर हुन उनले आग्रह गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष रघुनाथ पोखरेल, संस्थाका सल्लाहकार माधव खनाल, उपाध्यक्ष खुमानन्द खनाल, कोषाध्यक्ष बाबुलाल खनाल, भित्तेपात्रो प्रकाशन समिति संयोजक जगदीश खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक इश्वरीप्रसाद खनालले जानकारी दिए । सोही अबसरमा सहकारीले प्रकाश गरेको नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान समेत गरीएको थियो । २०६९ सालमा स्थापना भएको सहकारीमा हाल १ हजार ५९ जना शेयर सदस्य रहेका छन् । रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार, सञ्चालक समिति सदस्य, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरु लगायत सेयर सदस्यहरुको सहभागीता रहेको थियोे । संस्थाका सचीव बिष्णुबहादुर चुदालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।