अस्पताल चहार्दा–चहार्दै अस्ताइन् २९ वर्षीया गीता

मेचीकाली संवाददाता

८ बैशाख २०८३, मंगलवार
13 shares

बुटवल । बुटवलमा गर्भपतन गराउने क्रममा एक महिलाको ज्यान गएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–२ घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा बस्दै आएकी २९ वर्षीया गीता पाण्डेको बुटवलका एकपछि अर्को क्लिनिकमा धाउँदा धाउँदै मृत्यु भएको हो । चिकित्सकको लापरबाही तथा क्लिनिकको कमाउ धन्दाको चक्करमा गीताले अकालमा ज्यान गुमाउनु परेको मृतकका परिवारको आरोप छ ।

गर्भमा दोस्रो बच्चा बसेपछि पाण्डे दम्पती गर्भ परीक्षणको लागि गत चैत २७ गते बुटवलको इँटाभट्टीमा रहेको खत्री नर्सिङ होम पुगेका थिए । परिवारका अनुसार त्यहाँ डा.डीबी खत्रीले चेकजाँज गरेपछि गर्भमा करिब १२ हप्ताको भ्रुण रहेको र भ्रुण असामान्य रहेको भन्दै नर्सिङ होमले गीतालाई गर्भपतन गराउन सुझाव दिएको थियो । त्यसपछि उनीहरूलाई वैशाख ४ गते नर्सिङ होममा बोलाइएको थियो । बोलाए अनुसार उनीहरू ४ गते नर्सिङ होममा जाँदा गीतालाई जाँच गरेका डा.डीबी खत्री नभएको भन्दै स्वास्थ्यकर्मीहरूले फेरि ५ गते बोलाएका थिए । वैशाख ५ गते नर्सिङ होममा पुगेर चेकजाँज गरेपछि डा.खत्रीले ‘प्रेस्क्रिप्सन लेटर’ र ‘लोकेसन कार्ड’ दिएर बुटवलकै जोनल फार्मेसीमा रिफर गरे ।

जोनल फार्मेसी पुगेपछि त्यहाँका स्वास्थ्यकर्मीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरी औषधि दिई वैशाख ६ गते आउन भनी घर पठाएको गीताका श्रीमान् प्रकाश पाण्डेले बताए । सोही अनुसार भोलीपल्ट थप उपचारका लागि जोनल फार्मेसी पुगेकी गीता घर फर्किन भने पाइनन् । ‘जोनल फार्मेसीले दुई वटा औषधि दिएर घर पठाएको थियो । ‘फार्मेसीले भनेबमोजिम साँझ १ गोली र बिहान १ गोली खाएको हो । अर्को दिन बोलाएकै समयमा जोनल फार्मेसीमा गयौं, फेरि अर्को औषधि दिए ।,’ प्रकाशले भने । जोनल फार्मेसीमा पुगेपछि गीताको स्वास्थ्य अबस्था अचानक बिग्रिएको उनले बताए ।

औषधिको प्रतिक्रिया देखिएपछि उनलाई पखाला लाग्न थालेको र केही समय फार्मेसीमै राखिएको थियो । त्यहाँ उनको उपचार प्रक्रिया सफल नभएपछि नजिकैको इन्दुलेखा क्लिनिकमा लगिएको थियो । जहाँ डा.सतीश रुपाखेतीले उपचार सुरु गरेका थिए । त्यहाँ समेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि वैशख ६ गते दिउँसो ३ बजेतिर गीतालाई अन्ततः बुटवलकै लुम्बिनी सिटी अस्पतालमा पु¥याइएको थियो ।

अस्पताल पुगेलगत्तै गीताको स्वास्थ्य जाँच गर्दा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । क्लिनिकको लापरबाही र गलत उपचारका कारण यस्तो अवस्था आएको उनका श्रीमान् प्रकाशले बताए । ‘गीतालाई कुनै दीर्घ रोग थिएन, उनी स्वस्थ थिइन् ।,’ प्रकाशले भने, ‘चिनेको डाक्टरसँग नियमित उपचार गराउँदा बिरामीको मृत्यु हुने अवस्था आयो । यो सरासर उपचारमा गम्भीर लापरबाही हो । दोषीलाई कारबाही हुनुपर्छ ।’ श्रीमतीको मृत्युले विक्षिप्त बनेका प्रकाशको काँधमा ५ वर्षिय छोरा हुर्काउने जिम्मेवारी आएको छ । प्रारम्भिक अनुसन्धानले अनुभवी तथा विशेषज्ञ चिकित्सकको सल्लाहबिना नर्सिङ होम, क्लिनिक र फार्मेसीमार्फत असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले पीडित परिवारले डाक्टर र स्वास्थ्यकर्मीसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएको बताए । पीडित परिवारले खत्री नर्सिङ होमका डा. डीबी खत्री, इन्दुलेखामा कार्यरत डा. सतिश रुपाखेती, जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत, निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेविरुद्ध जाहेरी दिएका छन् ।

‘अहिले हामीले ३ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ,’ प्रहरी नायव उपरीक्षक श्रीवास्तवले भने, ‘कमजोरी कसको हो भन्ने अनुसन्धान पछि खुल्नेछ ।’, पक्राउ परेकाहरूमा सन्ध्या बस्नेत, निलम घर्तीमगर र खगेन्द्र पाण्डे रहेका छन् । प्रकाशले श्रीमती गीताको मृत्युमा मुख्य दोषी आरोप लगाउँदै डा. डीबी खत्री र डा. सतिश रुपाखेतीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

चिकित्सकको लापरवाहीले गीताको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले मंगलबार खत्री नर्सिङ होम, इन्दूलेखा र जोनल फार्मेसी घेराउ गर्दै तालाबन्दी गरेका छन् । मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन् ।