राष्ट्रपतिले जारी गरे ६ अध्यादेश

मेचीकाली संवाददाता

२० बैशाख २०८३, आईतवार
16 shares

काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् । शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अन्य दुईवटा अध्यादेश भने अध्ययनकै क्रममा छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि राष्ट्रपति पौडेलको चासो छ । यसअघिका सरकारबाट पनि पटकपटक सिफारिस भएको यो अध्यादेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्योल भएपछि पौडेलले कानुनविद्हरूसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर अघि बढ्ने सुझाव कानुनविद्हरूले दिए पनि यसको ठोस निष्कर्षमा भने राष्ट्रपति पौडेल पुगेका छैनन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने शनिबारको निर्णय भएको सूचीमा छैन । स्रोतले भन्यो, ‘शुक्रबार र शनिबार भएका निर्णयहरूमा त्यो अध्यादेश छैन ।’ त्यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न भन्दै सिफारिस भएको अध्यादेशमाथि पनि राष्ट्रपतिले छलफल गरिरहेका छन् । ‘संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश छलफलकै चरणमा छ,’ स्रोतले भन्यो, ‘केही नेपाल ऐनमा २५ बढी कानुन संशोधनका लागि सिफारिस भएको छ ।’

कुन कुन भए सिफारिस ?
राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् । राष्ट्रपति कार्यालयबाट १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो । त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो ।

१८ वैशाख (शनिबार) भने एकैसाथ तीन वटा अध्यादेश जारी भएको हो । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् । विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेका हुन् ।