मिलन गाहा
बुटवल (धुर्कोटबाट फर्केर) । धुर्कोट गाउँपालिकाको बर्बोट डाँडामा उभिँदा लाग्छ–यो केवल एउटा गाउँ होइन, सम्भावनाको खुला दृश्य हो । बिहानको घामसँगै गाउँका घरघरबाट उठ्ने धुवाँ, हरियालीले भरिएका बारी, पहाडका काखमा टाँसिएका बस्ती र टाढासम्म फैलिएको मनोरम दृश्यले जो–कोहीलाई केहीबेर टोलाएर बस्न बाध्य बनाउँछ ।
समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको धुर्कोट प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिको अनुपम संगम हो । संविधानअनुसार गठन भएका स्थानीय तहमध्ये एक धुर्कोट गाउँपालिकामा साविकका नयाँगाउँ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला गाविस समेटिएका छन् । ८६.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ब्राह्मण, मगर, क्षेत्री, दशनामीलगायत विभिन्न जातजातिको बसोबास छ । पछिल्लो जनगणनाअनुसार यहाँ करिब १७ हजारभन्दा बढी जनसंख्या रहेको छ ।
गुल्मी जिल्लाको मध्यभागमा अवस्थित धुर्कोट पुग्न बुटवल बाट करिब पाँच घण्टाको यात्रा गर्नुपर्छ । पाल्पा हुँदै रिडी, बलेटक्सार, सिरिङ्गा, लुम्छा, चोयगा, पदमपुर र बिरबासतर्फको यात्रा आफैँमा रमणीय अनुभव बन्ने गर्छ । घुमाउरा सडक, साना बजार, पहाडी बस्ती र हरियालीले भरिएको यात्रा पर्यटकका लागि गन्तव्यभन्दा कम छैन ।

पर्यटनको नयाँ गन्तव्य बन्दै धुर्कोट
धुर्कोट अहिले गाउँ पर्यटनको नयाँ आकर्षण बन्दै गएको छ । यहाँको सबैभन्दा चर्चित पर्यटकीय स्थल हो– फरक विचित्र गुफा । अनौठो संरचना र रहस्यमय बनावटका कारण परिचित यस गुफामा वार्षिक करिब ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको गुफा व्यवस्थापन समितिको तथ्यांक छ ।
गुफासँगै धुर्कोट कोट पनि धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित छ । प्रत्येक वर्ष दशैंमा यहाँ भव्य मेला लाग्ने गर्छ भने पूर्णिमाका दिनमा सराय नाच प्रस्तुत गर्ने परम्परा अझै जीवित छ । पहाडी संस्कृतिको मौलिक स्वाद लिन चाहनेका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्छ ।

त्यस्तै अजमिर कोट, धुर्कोट दरबार संग्रहालय, शहीद शमशेर पार्क, कुमारी देवी मन्दिर तथा झल्याकोट जस्ता स्थलले यहाँको ऐतिहासिक र धार्मिक महत्वलाई अझ उचाइ दिएका छन् । झल्याकोटबाट देखिने सूर्योदय, पहाडी शृंखला र हरियाली दृश्यले पर्यटकलाई मोहित बनाउने स्थानीय बताउँछन् ।
पाँच करोडको ‘ग्रेटवाल’ पदमार्ग
धुर्कोटको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी प्रदेश सरकार ले लगानी बढाउन थालेको छ । हाल करिब पाँच करोड रुपैयाँ लागतमा ‘धुर्कोट ग्रेटवाल बुढीकोट पदमार्ग’ निर्माण भइरहेको छ । पदमार्ग निर्माण सम्पन्न भएपछि गाउँमा पदयात्रा पर्यटनको सम्भावना अझ बढ्ने अपेक्षा गरिएको छ । स्थानीय सरकारको अपेक्षा छ–यदि पर्यटन पूर्वाधारलाई व्यवस्थित गर्न सकियो भने धुर्कोट ग्रामीण पर्यटनको उदाहरणीय गन्तव्य बन्न सक्छ ।

सुन्तलाको गाउँ, सम्भावनाको खेती
धुर्कोट पर्यटनमा मात्र होइन, कृषि उत्पादनमा पनि सम्भावनायुक्त क्षेत्र हो । विशेषगरी यहाँ उत्पादन हुने सुन्तलाले गाउँपालिकाको पहिचान बनाएको छ । गाउँपालिकाका प्रवक्ता प्रेम खनालका अनुसार धुर्कोटमा वार्षिक करिब ६ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।

धुर्कोट गाउँपालिका वडा नं. १, २ र ३ लाई सुन्तला पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । अर्घाखाँचीसँग जोडिएका यी क्षेत्रमा व्यावसायिक खेती विस्तार हुँदै गएको छ । तर जंगली जनावरबाट खेती जोगाउनु किसानका लागि अझै चुनौती बनेको छ । पानीको अभाव पनि अर्को समस्या हो । पहाडी भूगोलका कारण सिँचाइ व्यवस्थापन कठिन हुँदा कृषकले वर्षायाममा निर्भर हुनुपर्ने अवस्था अझै कायम छ ।
विकास पुगे पनि गाउँ रित्तिँदै
धुर्कोटमा अहिले अधिकांश स्थानमा सडक पुगेको छ । विगतको कठिन यात्रा अहिले धेरै सहज बनेको छ । धेरै सडक कालोपत्रे भइसकेका छन् भने विद्युत् सेवा लगभग सबै घरसम्म पुगेको छ ।

तर विकासका आधारभूत संरचना विस्तार भए पनि रोजगारी अभावले गाउँबाट बसाइसराइ रोकिएको छैन । युवा पुस्ता अध्ययन, रोजगारी र अवसरको खोजीमा शहर तथा विदेशिन थालेपछि गाउँमा वृद्धवृद्धा मात्र घर धानिरहेको दृश्य सामान्यजस्तै बनेको छ । स्थानीयवासीको बुझाइमा यदि गाउँमै रोजगारी सिर्जना गर्न सकियो, कृषि र पर्यटनलाई व्यावसायिक बनाउन सकियो भने बसाइसराइ रोकिने मात्र होइन, गाउँ फेरि जीवन्त बन्न सक्छ ।
प्राकृतिक सौन्दर्य, शान्त वातावरण, सांस्कृतिक विविधता र कृषि सम्भावना बोकेको धुर्कोट अहिले पनि आफ्नो पहिचान जोगाइरहेको छ । आवश्यक पूर्वाधार, लगानी र सरकारी ध्यान पुग्न सके यो गाउँ केवल गुल्मीको मात्र होइन, लुम्बिनी प्रदेशकै आकर्षक ग्रामीण पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना बोकेर बसेको छ ।
