रेसुङ्गाका गाई सङ्कटमाः जीवन जोगाउन घाँस र दाना सहयोग

मेचीकाली संवाददाता

३१ बैशाख २०८३, बिहीबार
54 shares

टोपलाल अर्याल

गुल्मी । वन डढेलोले जङ्गली जनावर र पंक्षीहरु समेत सकेन् । रुख र भुइँ घाँस समेत सक्यो । जसले रेसुङ्गा गौशालाका गाईको जीवन सङकटमा परेको छ । अहिले उनीहरुको जीवन जोगाउने अभियान तम्घासमा चलिहरेको छ । बुधबार राधा माधव समिति, रेसुङ्गा सत्सङ गुल्मीले घाँस र दाना सहयोग ग¥यो । अरु संस्थाहरुले पनि बजारमा अभियान चलाएका छन् । वैशाखको पहिलो साता गौशाला क्षेत्रमा लागेको डढेलोले चरन र रुखको घाँस जलेपछि गौशालामा रहेका १६० गाईको संरक्षण गर्न कठिन भएको रेसुङ्गा संरक्षण समितिले जनाएको छ । राधा माधव समितिले गौ सेवा कार्यक्रम मार्फत खर, पराल, ढुटो, दाना लगायतका सामग्री गौशाला लगेर हस्तान्तरण गरेको राधामाधव समिति, रेसुङ्गा सत्सङ गुल्मीका उपाध्यक्ष मोति खनालले जानकारी दिनुभयो ।

२०६७ सालमा स्थापना भएको राधा माधव समितिले बर्षेनी गौशालामा सहयोग, बिद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री वितरण, विपन्नलाई खाद्यान्य वितरण र सार्वजनिक स्थानमा सरसफाई लगायतका अभियानहरु स्वतस्र्फूत रुपमा गर्दै आएको खनालले बताउनुभयो । रेसुङ्गा नगरपालिकाले गौशालाका गाईहरुको जीवन जोगाउन अपिल गरेको छ । चरन क्षेत्र नभएपछि बाँधेर दैनिक ठूलो मात्रामा घाँस खुवाउन सक्ने सार्मथ्य संरक्षण समितिसँग छैन् । दाना र घाँस खोजेर खुवाउन सक्ने क्षमता नभएपछि संरक्षण समितिले रेसुङ्गा नगरपालिकाका सहयोग मागेको थियो ।

अहिले गौशालामा १६० गाईहरु रहेका छन् । रेसुङ्गा संरक्षण समितिका सचीव गोपाल पन्थीका अनुसार वन डढेलोका कारण रेसुङ्गा गौशालामा रहेका गाइहरुको जीवन रक्षाको लागि घाँस, दाना, पराल लगायत पशु आहार सहयोग गर्न नगरपालिका मार्फत आग्रह गरिएको छ । चरन क्षेत्र पूर्ण रुपमा प्रभावित भएको र गौशालामा सञ्चित सुख्खा घाँस तथा दाना समेत अभाव भई गाईबस्तुहरुको जीवनयापनमा गम्भीर समस्या उत्पन्न भएकोले सहयोग गर्न सम्पूर्ण वडा, स्थानीय संघसंस्था र भक्तजनहरुलाई आग्रह गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।

२०४२ सालबाट योगी नरहरी नाथले रेसुङ्गा यज्ञशालामा कोटी होमको माध्यमबाट सङ्कलन भएका २६ वटा गाइका बाच्छिहरुबाट गौशाला सुरु गरिएको थियो । अहिले लक्ष्मी जातका १६० गाईहरु रहेका छन् । केही समय गौशालाबाट गो मुत्र अर्थात गहुँत संकलन, प्रसोधन र बजारिकरणको काम थालिएको थियो ।