बुटवल । बुटवलमा विगतमा करिब साढे दुई दशकदेखि व्यावसायिक यात्रा सुरु गरेको गणपति मिष्ठान्न भण्डारले आफ्नो ब्राण्ड दुरुपयोग भएको गुनासो गरेको छ । गणपतिका सञ्चालक राजेन्द्र गौतमले सोमबार पत्रकार सम्मेलन गरी विभिन्न व्यावसायीहरुले आफ्नो ब्राण्ड दुरुपयोग गर्दा बजारमा नकारात्मक सन्देश गएको उल्लेख गरे ।
वि.सं.२०५९ सालदेखि बुटवलको ट्राफिक चोकस्थित रात्री बस काउन्टरको नजिकैमा सञ्चालनमा आएको यो पसलको हाल बुटवल उपहानगरपालिका–१३ जितगढीमा समेत दुई ठाउँमा मात्रै पसल सञ्चालनमा रहे पनि अन्य व्यक्तिहरुले समेत गणपतिको नाममा पसल सञ्चालनमा ल्याएको सञ्चालक गौतमले बताए । बुटवल जितगढीमै उत्पादन उद्योग रहेको यस मिष्ठान्न भण्डारले गुणस्तरीय र स्वच्छतालाई विशेष ध्यान दिएको बताउँदै सञ्चालक गौतमले आफ्नो नाममा खोलिएका अन्य पसलहरुमा भेटिने कमजोरीहरुको समेत आलोचना सुन्नुपरेको गुनासो गरे । गौतमले सञ्चालन गरेको पसल तथा उद्योगबाट करिब २ दर्जन व्यक्तिहरुले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् ।
सञ्चालक गौतमले प्रतिलिपि अधिकार दुरुपयोग भएको गुनासोसहित बुटवल उपमहानगरको न्यायिक समितिमा उजुरी दिए पनि हालसम्म कुनै सुनुवाई नभएको बताए । घरेलु तथा साना उद्योग कार्यालय बुटवलमा दर्ता गरिएको पसलको लोगो तथा नामअनुसार नै अन्य व्यवसायीहरुले नक्कल गरी प्रतिलिपि अधिकार २०५९ विपरीत गरिएको उनको गुनासो छ । आफ्नो ब्राण्डको नक्कल गरेका कुनै पनि व्यवसायीहरुले हालसम्म आफूसँग अनुमती नलिएको बताउँदै उनले गणपतिको नाममा नक्कलीबाट सजग रहन ग्राहकहरुलाई आग्रह समेत गरे । प्रतिलिपि अधिकार २०५९ अनुसार कुनै पनि संस्था वा कम्पनीको लोगो, स्लोगन, नामलगायतका पहिचानहरु उस्तै–उस्तै लाग्ने गरी राख्न पाइँदैन ।
