बुटवल, जेठ १३ । रुपन्देही व्यापार संघको सातौं नियमित बैठक स्याङ्जाको सिरुवारी गाउँमा सम्पन्न भएको छ । दक्षिण एसियाकै पहिलो ग्रामीण होमस्टेका रूपमा परिचित सिरुवारीमा संघले वार्षिक कार्यक्रमअन्तर्गत बैठक आयोजना गरेको हो ।
बैठकसँगै संघले विभिन्न संघसंस्थासँग भेटघाट तथा परिचयात्मक कार्यक्रम समेत सम्पन्न गरेको संघका महासचिव एवं कार्यक्रम संयोजक प्रकाशराज पौडेलले जानकारी दिए । यस क्रममा संघले गल्याङ चेम्बर अफ कमर्स तथा स्याङ्जा चेम्बर अफ कमर्ससँग भेटघाट गर्दै संस्थाबीच आपसी सम्बन्ध विस्तार तथा व्यावसायिक एकतामा जोड दिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले संस्थाहरूबीचको आपसी सहकार्य र भेटघाटले व्यावसायिक तथा पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले व्यवसायीका साझा समस्या समाधानका लागि सबै संस्था एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
त्यसैगरी संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले पछिल्लो समय व्यवसायीहरूले भोगिरहेका समस्याको समाधानका लागि व्यावसायिक संघसंस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताए । संघका पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठले विभिन्न संस्थाबीच अनुभव आदानप्रदान तथा गतिविधिको साझेदारीले संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे । कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
संघको नियमित कार्यसमिति बैठकले समसामयिक विषयमा छलफल गर्दै ७ बुँदे विशेष निर्णय सार्वजनिक गरेको छ । संघले खुला सिमाना, बैंक तथा वित्तीय क्षेत्र, घरभाडा, कर नीति, एमआरपी अनुगमन, स्थानीय तहको भूमिका तथा पर्यटन प्रवद्र्धनलगायत विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । बैठकले खुला सिमानाका कारण शान्ति सुरक्षा, आन्तरिक व्यवस्था तथा व्यवसाय क्षेत्रमा गम्भीर असर परेको निष्कर्ष निकाल्दै चोरी पैठारी नियन्त्रणका लागि भन्सार महशुल दर घटाउन माग गरेको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई बैंकिङ कारोबारका नीति तथा नियम स्पष्ट जानकारी गराएर मात्र हस्ताक्षर गराउनुपर्ने निर्णय गरिएको छ । नगद कारोबारका क्रममा नोटमा ट्याग लगाउने, हस्ताक्षर तथा मोबाइल नम्बर लेखाउने कार्यले ह्याकरबाट असुरक्षा बढाएको भन्दै त्यस्तो अभ्यास रोक्न आवश्यक निर्देशन जारी गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । साथै वैदेशिक कारोबारका क्रममा सम्बन्धित देशको मुद्रामा एलसी।टीटी पठाउन सकिने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई अपिल गर्ने निर्णय पनि गरिएको छ ।

संघले मुख्य बजार क्षेत्रमा अत्यधिक घरभाडाका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको उल्लेख गर्दै घरभाडा नबढाउन घरधनीलाई आग्रह गरेको छ । सरकारी तथा गैरसरकारी संस्थामा टेण्डर प्रक्रियाका लागि स्पष्ट मापदण्ड बनाउन र न्यूनतम २० वर्षको समयावधि सहित बोलपत्र आह्वान गर्न स्थानीयदेखि केन्द्रीय सरकारसम्म माग गर्ने निर्णय गरिएको छ ।
कर नीतिका सम्बन्धमा संघले करको दरभन्दा दायरा विस्तार गर्नुपर्ने, कर दाखिलाको आधारमा नागरिकलाई सुरक्षित तथा प्रोत्साहनमुखी नीति अवलम्बन गर्नुपर्ने तथा एकद्वार कर प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ । लगानीमैत्री वातावरण र नीति निर्माणमा समेत सरकारले ध्यान दिनुपर्ने संघको भनाइ छ ।
नेपाल सरकारको शासकीय सुधार २०८२ को बुँदा नम्बर ८३ अनुसार एमआरपीको सघन अनुगमन गर्ने विषयमा व्यवसायी त्रसित बनेको भन्दै संघले हालसम्म राज्यबाट एमआरपी निर्धारणको स्पष्ट आधिकारिक मापदण्ड नआएको अवस्थामा अनुगमनका नाममा व्यवसायीलाई दुःख नदिन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
बैठकले स्थानीय तहलाई अतिक्रमण हटाउने नाममा व्यवसायीलाई त्रासपूर्ण वातावरण सिर्जना नगर्न, व्यवसायी राहत कोष स्थापना गरी कार्यविधि बनाउन तथा घरभाडा र सुरक्षा सम्बन्धी स्पष्ट मापदण्ड लागू गर्न अनुरोध गरेको छ । साथै बुटवल उपमहानगरपालिकाभित्र ‘एक वडा, एक बजार’ नीति लागू गरी व्यवसायीको अभिभावकत्व गर्न आग्रह गरिएको छ ।
सार्वजनिक तथा हाटबजार क्षेत्रमा सुविधायुक्त शौचालय, पिउने पानी, प्रतिक्षालय, व्यवस्थित पार्किङ, सिसिटिभी क्यामेरा, ट्राफिक लाइटको प्रभावकारी प्रयोग, स्पष्ट जेब्राक्रसिङ र बस विसौनी व्यवस्थापनका लागि आवश्यक काम अघि बढाउन पनि संघले माग गरेको छ ।
पर्यटन प्रवद्र्धनतर्फ स्याङ्जाको सिरुवारी गाउँ र रुपन्देहीको व्यापारिक तथा धार्मिक पर्यटनलाई संयुक्त रूपमा प्रवद्र्धन गर्दै पहाडदेखि तराईसम्म पर्यटन सर्किट निर्माण गर्ने निष्कर्ष बैठकले निकालेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सिरुवारीको सांस्कृतिक होमस्टे, प्राकृतिक सौन्दर्यता तथा रुपन्देहीका लुम्बिनीलगायत पर्यटकीय स्थल, व्यापारिक केन्द्र र सांस्कृतिक गतिविधिसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
संघले संयुक्त पर्यटन प्याकेज, होटल–यातायात–होमस्टे समन्वय तथा निजी क्षेत्रबीच सहकार्य विस्तारमार्फत दुवै क्षेत्रको आर्थिक तथा पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बैठक संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा तथा महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
