दिपेश पछाई
भैरहवा, जेठ १३ । लुम्बिनी विकास कोषको रिक्त ९ पदमा नयाँ अनुहारको व्यक्ति छनौट गरी पठाउन सरकारसंग स्थानीयले माग गरेका छन् । लुम्बिनी विकास कोषको रिक्त उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र योजना प्रमुख पदमा योग्य, विवादरहित र ऊर्जावान् व्यक्ति छनौट गरी पठाउन लुम्बिनीबासीले माग गरेका छन् ।
‘वर्तमान सरकारले कोषको रिक्त पदमा पदपूर्तिका लागि आवेदन माग गरेकोमा अधिकांश पुराना व्यक्तिहरुले आवेदन भरेको जानकारी आएकाले सरकारले यसअघि नै लुम्बिनी बिकास कोषसंग जोडिएर आर्थिक लाभ लिइसकेका व्यक्तिहरुलाई नियुक्ति प्रकृयामा समावेश नगरी नयाँ अनुहारको छनौट गरी पठाउन सरकारसंग माग गरेका छौँ ।’ लुम्बिनी बचाउ महाअभियानका सदस्य रामविकास चौधरीले भने ।
संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि आवेद भरेकाको रोष्टर सार्वजनिक गरेको छ । जस्मा ४ सय ६५ जनाले इच्छा जनाएका छन् । ‘लुम्बिनी विकास कोषभित्रको अनियमिताका बिषयमा हामीपटक पटक सरकार संग छलफलमा पनि बसेका छौँ, हामी लुम्बिनीमा नयाँ अनुहार देख्न चाहन्छौँ ।’ चौधरीले भने । लुम्बिनीमा एकपटक पसिसकेको व्यक्ति पुनः नियुक्ति भए लुम्बिनी बासीलाई सैह्य नहुने उनले बताए ।
‘ यसअघि लुम्बिनीलाई कसरी लुटिएको थियो, हामीले नजिकबाट नियालिरहेका छौँ लुम्बिनीलाई लुट्ने तिनै पुनः लुम्बिनीमा आउने आँट नगर्दा हुन्छ ।’ अभियानकर्मी चौधरीले भने । लुम्बिनी विकास कोषको गुरुयोजना कार्यान्वयन गर्न सक्ने सक्षम पदाधिकारी लुम्बिनीलाई आबस्यक रहेको स्थानीयको माग छ । लुम्बिनीमा काम गर्नेभन्दा पनि कसरी आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने धेय राखेर पदाधिकारीहरु आउने गरेको लुम्बिनी बिकास कोषका एक कर्मचारी बताउँछन् । यहाँ आइसकेपछि पदाधिकारीहरुले कोषलाई बलियो बनाउनुभन्दा पनि कुन गुम्बासंग कसरी लाभ लिने, वैदेशिक भ्रमण कसरी गर्ने, आर्थिक लाभ कसरी लिने भन्ने मात्र सोच राख्दा ४५ वर्षसम्म पनि लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेको ती कर्मचारीको भनाइ छ ।
धेरैले लुम्बिनीका नाममा कमाइ खाने भाँडो बनाएको, लुम्बिनी नाम जोडेर धेरैतिरबाट बेथिति निम्त्याउने गरेको पनि गुनासो छ । यस्ता विषयमा पारदर्शी र तथ्यपरक छानबिनको माग पनि उठेको छ ।
