सिमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गछौँ: प्रजिअ अर्याल

मेचीकाली संवाददाता

१४ जेष्ठ २०८३, बिहीबार
126 shares

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सिमानाकाबाट हुने चोरी पैठारीलाई थप प्रभावकारी रूपमा नियन्त्रण गरिने बताएका छन् । रुपन्देही व्यापार संघले बिहीबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले भन्सार विन्दुबाट हुने चोरी पैठारीसँगै गैरभन्सार विन्दुबाट भइरहेका अवैध गतिविधिमाथि पनि कडाइ गरिने बताए । प्रमुख जिल्ला अधिकारी अर्यालले उचित मूल्य र गुणस्तरबाट उपभोक्ता ठगिन नहुने उल्लेख गर्दै नियमनकारी निकाय र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जिल्लाको शान्ति सुरक्षा र नागरिक सुरक्षाका लागि प्रहरीले सक्दो भूमिका निर्वाह गरिरहेको बताए । उनले पछिल्लो समय बढ्दो साइबर अपराध तथा ह्याकिङका घटनाप्रति सबै सचेत रहन आग्रह गरे ।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले प्रमुख जिल्ला अधिकारी अर्याललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रशासन र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय बढ्दो चोरी, पैठारी र तस्करीका कारण व्यवसायीहरू प्रभावित भएको तथा राज्यको राजस्वमा समेत असर परेको भन्दै सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराए ।

संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले कृषिजन्य वस्तुमा देखिएको विषादी नियन्त्रणका लागि खाद्य गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए । उनले जिल्लाको शान्ति सुरक्षाका विषयमा व्यापार संघले सदैव सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद अधिकारी, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । संघका महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।