बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाएर राखिएका ४५३ जना नेपालीलाई सकुशल उद्दार गरी नेपाल ल्याइएको छ ।
भारतीय प्रहरीसँगको सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोली गएराति कुशीनगर पुगेको थियो । संयुक्त सुरक्षा अभियान सञ्चालन गरी त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले ८ वटा भारतीय बसमार्फत बेलहिया नाका हुँदै नेपाल ल्याइएको जानकारी दिए । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए ।

आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर एक गिरोहले उनीहरुलाई उत्तर प्रदेशको कुशीनगर पु¥याएको सूचना पाएपछि प्रहरीले बिशेष अपरेशन सुरु गरेको थियो । ‘प्रहरीले पाएको सूचनाका आधारमा पिछा गरेर बन्धक बनाएर राखिएको स्थल पत्ता लागेपछि भारतीय प्रहरीको सहयोगमा उद्दार गरिएको हो’ प्रहरी उपरीक्षक शाहीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पु¥याइएका उनीहरुबाट प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेखि १ लाखसम्म रकम असुल गरेर सदस्यता बिस्तार गर्दै नेटवर्किंङ व्यवसायको शैलीमा सदस्यता बिस्तार गर्दै लैजाने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । उनीहरूलाई भारत पु¥याउने समूह तथा घटनामा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
