बुटवल । कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा सञ्चालित केही होटल तथा गेस्टहाउसमा अनैतिक तथा अवैध गतिविधि हुने गरेको भन्दै स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यस्ता गतिविधिले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै बजार क्षेत्रको प्रतिष्ठामा समेत असर पुगेको भन्दै प्रभावकारी नियन्त्रण र कडा कारबाहीको माग गरिएको छ ।
कृष्णनगर उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलन गरी कृष्णनगर क्षेत्रमा अनैतिक यौनजन्य गतिविधि बढ्दै गएको तथा नाबालिग स्कुले बालबालिकाहरुको समेत प्रयोग भइरहेको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष रितेश शर्माले पर्यटन, व्यापार तथा होटल व्यवसायजस्ता मर्यादित क्षेत्रलाई गैरकानुनी र सामाजिक रूपमा अस्वीकार्य गतिविधिको माध्यम बनाइनु निन्दनीय भएको बताए । उनका अनुसार शनिबार साँझ कृष्णनगर नगरपालिका–१ स्थित पुरानो बसपार्क नजिकै रहेको न्यू सेन्चुरी होटल रेस्टुरेन्ट एण्ड लजमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा केही महिला र पुरुष भेटिएका थिए ।
अनुगमनका क्रममा प्राप्त प्रमाण तथा सूचनाका आधारमा उक्त होटलमा सामाजिक मर्यादाविपरीत अवैध गतिविधि हुने गरेको पुष्टि भएको संघका अध्यक्ष शर्माको दाबी छ । ‘यस्ता गतिविधिले कृष्णनगरको व्यापारिक वातावरण, सामाजिक सद्भाव र समग्र प्रतिष्ठामा नकारात्मक असर पु¥याएको छ,’ उनले भने, ‘यसमा संलग्न व्यक्ति तथा होटल सञ्चालकमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । साथै होटल तथा लजहरूको नियमित अनुगमन बढाई व्यवसायलाई मर्यादित र व्यवस्थित बनाइनुपर्छ ।’
अध्यक्ष शर्माले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक जानकारी गराउँदा पनि प्रभावकारी अनुगमन तथा नियन्त्रणका लागि अपेक्षित चासो नदेखाइएको गुनासो गरे । उनले होटल व्यवसायीहरूलाई कानुनसम्मत, पारदर्शी र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवप्रसाद घिमिरेले केही होटलका कारण यस क्षेत्रमा सञ्चालनमा रहेका सबै होटलहरुमाथि प्रश्न चिन्ह उठेको र होटल व्यवसाय नै बदनाम भएको बताए । ‘हामीले सम्बन्धित व्यवसायीलाई पटकपटक सचेत गराएका छौँ,’ उनले भने, ‘यदि अझै पनि यस्ता गतिविधि दोहोरिए भने कानुनअनुसार कारबाहीका लागि कसैलाई पनि छुट हुँदैन ।’
यस्तै शान्ति पुनःस्थापना गृहका जिल्ला सुपरभाइजर दिनेश तिमिल्सेनाले सीमा क्षेत्रबाट भारततर्फ जाने महिला तथा बालबालिकाको नियमित निगरानी गरिरहेको जानकारी दिए । शंकास्पद अवस्थाका व्यक्तिलाई आवश्यक सोधपुछ गरी सीमा क्षेत्रबाटै फिर्ता पठाउने गरिएको उनले बताए । उनका अनुसार मासिक ३० देखि ४० जनासम्म महिला तथा बालबालिकाको उद्धार हुने गरेको छ । साना हात नेपालकी सीमा निगरानीकर्ता भीमा परियारले यसअघि पनि उक्त होटलबाट केही बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको बताइन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले कृष्णनगर क्षेत्रका होटलहरूमा अवैध गतिविधि भइरहेको गुनासो आएपछि निगरानी बढाइएको बताए । उनका अनुसार शनिबार साँझ छापा मारेर होटल सञ्चालकसहित दुईजना महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । ‘होटल सञ्चालकसहित दुई जना महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ ।,’ उनले भने, ‘दोषी प्रमाणित भए होटलको आवरणमा अवैध गतिविधि सञ्चालन गर्ने जोसुकैविरुद्ध पनि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्छ ।’
स्थानीय अगुवा सुदीप त्रिपाठीले केही समय यस्ता गतिविधि नियन्त्रणमा आए पनि पछिल्लो समय पुनः बढ्न थालेको बताए । उनले यस्ता गतिविधि नियन्त्रणका लागि नियमित अनुगमनसँगै सम्बन्धित निकायको सक्रियता अझ बढाउनुपर्नेमा जोड दिए ।
