प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनकः गगन थापा

मेचीकाली संवाददाता

१८ जेष्ठ २०८३, सोमबार
17 shares

बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसद्बाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा संबोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसद्बाटै माफी माग्न आग्रह गरे ।

‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई लज्जित गराउने अनैतिक र अराजनीतिक कदमको कांग्रेसले विरोध गर्छ,’सभापति थापाले भने, ‘संसद्को रोस्टममा मैले नजानेर गल्ती बोले भनेर माफी माग्नुस् । त्यसमा कांग्रेसले कुनै अवरोध गर्ने छैन ।’ प्रधानमन्त्री नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए खतरनाक रहेको उनको भनाइ छ । संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही नभएको सभापतिको धारणा छ ।

थापाले सत्तापक्षले आइतबार पेलेर नियमावली बनाउनु कालो दिन भएको बताए । संसद् सञ्चालन गर्न बनाएको कानुन जबर्जस्ती गलत भएको बताए । ‘हिजो संसद्को शक्तिको चरम दुरुपयोग भयो, कांग्रेसले प्रतिरोध र विरोध गरेको छ । यो जबर्जस्ती पारित गरे पनि टुंगिएको छैन ।’ कांग्रेस हिजोको जस्तो छैन नयाँ ट्रयाकमा गइसकेको बताए । मतदाताले पार्टीमा जनता र मतदाताले देखेको फोहोर फाल्नुपर्ने बताएका छन् । पार्टीलाई विश्वास नगरेका दश लाख मतदाताको मन फर्काउन उनीहरुले देखेको फोहोर फाल्न तयार हुनुपर्ने बताए ।

उनले सभामुखलाई संसद्भित्र आउने व्यक्तिका अधिकारको अन्तिम व्याख्याता बनाइएको उक्त नियमावलीको प्रावधान असंवैधानिक रहेको बताए । सभापति थापाले कार्यपालिका वा व्यवस्थापिकाले संविधान तथा कानुनले तोकेको सीमा मिच्दा न्यायपालिकाले सच्याउनुपर्ने भनाइ राखे । थापाले रास्वपाका सांसदहरूको टेबल ठोक्ने व्यवहारलाई यसअघि नेकपा सांसदहरूको व्यवहारसँग जोड्दै संख्याको उन्मादको रुपमा व्याख्या गरे । ‘संख्याले कहिलेकाहीँ उन्माद चढ्छ, सरकार बरालिन्छ र आफ्नो जिम्मेवारी बिर्सन्छ,’ उनले भने, ‘जुन यसअघि नेकपाको सरकारले पनि गरेको थियो ।’

कांग्रेसले संसद्मा विरोध र प्रतिरोध गरे पनि नियमावली जबर्जस्ती पारित गरिएको उल्लेख गर्दै उनले यो विषयलाई घरघरमा नागरिकसम्म पु¥याउने जिम्मेवारी पार्टी कार्यकर्ताको रहेको बताए ।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको बताउँदै सबैले सबैलाई विश्वास गर्ने बातावरण बनाउन आवश्यक रहेको बताए । उनले एक अर्कामा अविश्वास मेटाउनुपर्ने र अन्तै भोट हाल्ने कांग्रेसलाई क्रियाशील बनाइरहन आवश्यक नरहेको भनाइ राखे । उनले त्यसका लागि पनि क्रियाशील सदस्यता अध्यावधिक गर्न आवश्यक रहेको बताए । उनले पनि आइतबार संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले देशको राष्ट्रियतामा खलल पु¥याएको बताउँदै आपत्ति व्यक्त गरे ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे अगली बार गगन सरकार भन्दै उद्घोष गरेका छन् । घिमिरे आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशकै पहिलो पार्टी बनाउने लक्ष्यका साथ सम्पूर्ण शक्ति एकीकृत गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । पार्टीको लक्ष्य पूरा गर्न सक्रिय रूपमा जुट्न आग्रहसहित घिमिरेले भने,‘पार्टीलाई हिँडाएर मात्र पुग्दैन दौडाउनु छ । दौडन सक्ने अरुलाई निर्वाचनमा पराजित गर्न सक्ने प्रयत्नका निम्ति हामीले कांग्रेसलाई अघि बढाएका छौँ ।’

प्रदेश उपसभापति तथा प्रशिक्षण विभागका संयोजक भुवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महामन्त्री गुरु घिमिरे, सहमहामन्त्री गोविन्द चौधरी, पार्टीका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका उपसभापति मधु आचार्य, प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणलगायतले भनाइ राखेका थिए ।