गुल्मी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गुल्मीको आयोजना एवं वेदान्त पब्लिकेशनको सहयोगमा गणित शिक्षकको क्षमता विकास तालीम तम्घासमा सुरु भएको छ । जिल्लाका निजि तथा सामुदायिक विद्यालयमा अध्यापन गराउने गणित शिक्षक तालीममा सहभागी छन् । समग्रमा गणित बिषयको नतिजा कम्जोर भएकाले सुधारका लागि प्याब्सनले बर्सेनि शिक्षकहरुलाई तालीम प्रदान गर्दै आएको छ ।
तालिमको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाशिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले रेसुङ्गा नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षकहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै फलदायी हुने बताउनुभयो। उहाँले सामुदायिक र संस्थागत विद्यालयबीचको सहकार्यले समग्र शैक्षिक सुधारमा टेवा पुग्ने धारणा राख्दै तालीम उपलब्धिमुलक बनाउन आग्रह गर्नुभयो ।
प्रमुख प्रशिक्षक लेखक हुकुम प्रसाद दाहालले प्रशिक्षण अवधिभर गणित विषयलाई सरल, रुचिकर र व्यवहारिक ढङ्गबाट सिकाउने नवीनतम विधि, प्रविधि तथा अभ्यासहरू सहभागी शिक्षकहरूलाई अभ्यास गराउने बताउनुभयो। उहाँले गणित शिक्षणलाई जीवनोपयोगी, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउन शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्याब्सन गुल्मीका सदस्य सन्तोष थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन गुल्मीका सचिव देवीराम पाण्डेले गर्नुभएको थियो।
