बुटवल। कक्षाकोठाको ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै बुटवल उपमहानगरपालिकाले ‘पढाइसँगै रोजगार’ कार्यक्रम सञ्चालन गरेको छ । युवालाई स्वदेशमै अवसर सिर्जना गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रममा यस वर्ष दुई सय विद्यार्थीलाई एक महिनाका लागि रोजगारी प्रदान गरिएको छ ।
उपमहानगरका श्रम तथा रोजगार शाखा प्रमुख अर्विन्द पाण्डेका अनुसार कार्यक्रमअन्तर्गत एक सय विद्यार्थी ट्राफिक व्यवस्थापन र थप एक सय विद्यार्थी राजस्व संकलन कार्यमा खटिनेछन् । राजस्व संकलनमा खटिने विद्यार्थीहरूलाई दुई दिने अभिमुखीकरण सम्पन्न गरी कार्यक्षेत्रमा पठाइसकिएको छ भने ट्राफिक व्यवस्थापनको काममा खटिने विद्यार्थीहरूलाई सडक र ट्राफिक नियमबारे अभिमुखीकरण प्रदान गरिएको छ । शनिबार र आइतबार सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय बुटवलका वरिष्ठ प्रहरी सहायक निरीक्षक ज्ञानु पाण्डेले ट्राफिक व्यवस्थापन, सडक अनुशासन तथा नागरिक जिम्मेवारीका विषयमा प्रशिक्षण दिएका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सोमबारदेखि विद्यार्थीहरूलाई बुटवलका विभिन्न व्यस्त चोक तथा सडक क्षेत्रमा परिचालन गरिने जानकारी दिए । उनका अनुसार बुटवल तथा बाहिरी जिल्लाबाट आएर यहाँका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी क्याम्पसको सिफारिसका आधारमा पढाइसँगै रोजगार कार्यक्रममा सहभागी गराइएको हो ।
नगरप्रमुख पाण्डेयले यस्तो कार्यक्रमले विद्यार्थीलाई आर्थिक सहयोग पुग्नुका साथै स्थानीय सरकारको कामकाज, सेवा प्रवाह र नगर व्यवस्थापनबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी वर्षहरूमा कार्यक्रमलाई अझ विस्तार गर्दै बढी विद्यार्थीलाई सहभागी गराउने योजना रहेको समेत बताए ।
नगरप्रमुख पाण्डेले यो कार्यक्रम अन द जब ट्रेनिङको रूपमा सञ्चालन गरिएको भए पनि विद्यार्थीलाई पारिश्रमिक उपलब्ध गराइने बताए । राजस्व संकलन र ट्राफिक व्यवस्थापनका लागि खटिने विद्यार्थीहरूलाई दैनिक जनही ४२८ रुपैयाँ उपलब्ध गराइने छ भने उनीहरूले दैनिक चार घण्टा तोकिएको क्षेत्रमा काम गर्नुपर्ने छ ।
राजस्व संकलनका लागि बुटवलका १८ वटा वडामा ५÷५ जनाको दरले खटिने छन् भने भौगोलिक तथा जनसंख्याको हिसाबले समेत ठुलो रहेकोले वडा नं. ११ मा १० जना विद्यार्थी खटिने छन् । उनीहरूले वडा वडामा पुगेर व्यवसाय दर्ता, नवीकरण तथा राजस्व संकलनमा सहजीकरण गर्ने छन् । यस प्रकारको कार्यक्रममार्फत विद्यार्थीहरूले स्थानीय सरकारको राजस्व प्रणाली, कर प्रशासन तथा सेवा प्रवाह एवं बुटवलको सडक र ट्राफिक व्यवस्थापनको बारेमा व्यवहारिक रूपमै अनुभव हासिल गर्ने नगर उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
जसबाट विद्यार्थीहरूलाई अध्ययनसँगै सार्वजनिक प्रशासनको अनुभव प्राप्त हुने, आत्मविश्वास बढ्ने र भविष्यमा रोजगारीको लागि सीप विकासमा सघाउन पुग्ने विश्वास गरिएको छ । यसरी खटिने विद्यार्थीहरूलाई एक महिनापछि उपमहानगरपालिकाले अन द जब ट्रेनिङको प्रमाणपत्र उपलब्ध गराउने छ । नगर उपप्रमुख अर्यालले स्थानीय सरकार र शैक्षिक संस्थाबिचको सहकार्यले विद्यार्थीको क्षमता अभिवृद्धि तथा भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरीन् ।
सिप र अनुभवले पढाइ पूरा गरेपछि रोजगारीमा लाग्दा सहज हुने भएकोले कार्यक्रममा आबद्ध भएको विद्यार्थीहरूको भनाइ छ । नमिता गैरे लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिए एलएलबी आठौं सेमेस्टरकी विद्यार्थी हुन् । उनी पनि बुटवलले सञ्चालन गरेको पढाइसँगै रोजगार कार्यक्रममा आबद्ध भएकी छन् । क्याम्पसमा सैद्धान्तिक ज्ञान मात्र मिल्ने भएकोले प्रयोगात्मक ज्ञानका लागि यो कार्यक्रममा आबद्ध भएको उनले बताइन् । ‘हाम्रो दिनचर्या बिहान कलेज जाने र दिउँसो फर्किएपछि त्यतिकै घरमा बस्ने मात्र छ । यस्तो कार्यक्रममा जोडिएपछि थोरै भए पनि पकेट खर्च मिल्ने र समाजसँग जोडिएर समाजका समस्याहरू बुझ्न सकिन्छ ।’ उनले भनिन् ।
समाजका मानिसहरूसँग जोडिनु भनेकै सिकाइको एउटा प्रक्रिया भएको र अर्को कुरा आफू कानुनको विद्यार्थी भएकोले सवारी ज्यानका मुद्दाहरु कसरी निरूपण गरिन्छ भनेर बुझ्न पनि ट्राफिक व्यवस्थापन कार्यक्रममा जोडिएको उनले बताइन्
बुटवल बहुमुखी क्याम्पसमा बिएस्सी प्रथम वर्षमा अध्ययनरत सम्राट खनाल पनि पढाइसँगै रोजगार कार्यक्रममा आबद्ध भएका छन् । यो कार्यक्रममार्फत सडक, सवारी र ट्राफिक नियमको बारेमा जानकारी लिएर थोरै भए पनि सडक दुर्घटना कम गर्न सघाउ पु¥याउनु आफ्नो उद्देश्य रहेको उनले बताए ।
