ज्ञानगंगा पाठशालामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२० असार २०८३, शनिबार
33 shares

तिलोत्तमा । विद्यार्थीहरूको सर्वाङ्गीण विकास, विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ प्रभावकारी, उत्तरदायी तथा संस्थागत बनाउने उद्देश्यले ज्ञानगंगा पाठशाला, तिलोत्तमा–४, रुपन्देहीले शनिबारअभिभावक छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यालयले अंगीकार गरेको शैक्षिक नीति, विद्यार्थीको सिकाइ प्रक्रिया, अनुशासन, चरित्र निर्माण तथा विद्यालय र अभिभावकबीचको नियमित समन्वयको आवश्यकताबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र अधिकारी प्रमुख वक्ता तथा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । उनले बालबालिकाको समग्र विकासमा घर र विद्यालय दुवैको समान जिम्मेवारी रहने उल्लेख गर्दै अभिभावकको सक्रिय सहभागिता नै गुणस्तरीय शिक्षाको आधार भएको बताए ।

उनले कार्यक्रममा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली सम्बन्धी विस्तृत अभिमुखीकरण पनि प्रदान गरे । उनले ऋब्क् अन्तर्गत विद्यार्थीको दैनिक सिकाइ, कक्षाकोठामा सहभागिता, गृहकार्य, परियोजना कार्य, व्यवहार, सिर्जनात्मकता तथा नियमित मूल्याङ्कनका आधारमा विद्यार्थीको समग्र प्रगति मूल्याङ्कन गरिने जानकारी दिए । यस प्रणालीले विद्यार्थीलाई परीक्षामुखी मात्र नभई सिकाइमुखी बनाउन सहयोग पुग्ने तथा अभिभावकको नियमित सहयोग र अनुगमन अत्यन्त आवश्यक रहने उनले स्ष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक युवराज न्यौपानेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउन विद्यालयले अभिभावक संघ गठन गर्ने तयारी गरिरहेको घोषणा गरे । उनका अनुसार अभिभावक संघले विद्यालय र अभिभावकबीचको सहकार्यलाई संस्थागत बनाउनुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नेछ। यसले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रम, मूल्याङ्कन प्रणाली तथा अभिभावक सहभागितालाई प्राथमिकता दिएकोप्रति प्रशंसा व्यक्त गर्दै यस्ता अन्तरक्रियामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीच आपसी विश्वास, सहकार्य तथा उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै विद्यार्थीको शैक्षिक, नैतिक, सामाजिक र भावनात्मक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रम अभिभावकहरूको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ। पूर्व–प्राथमिक तह संयोजक सबिना जोशीको स्वागत तथा कुलचन्द्र पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।