लुम्बिनीका ठुला भन्सारले भेटेनन् राजस्व लक्ष्य, सानाको बढी

मेचीकाली संवाददाता

७ श्रावण २०८३, बिहीबार
6 shares

रमेश पराजुली

बुटवल। मुलुकका प्रमुख भन्सार नाकामध्ये पर्ने लुम्बिनी प्रदेशका भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/०८३ मा समग्र राजस्व संकलनमा सुधार गरेका छन् । तर, प्रदेशका साना भन्सार कार्यालयले वार्षिक राजस्व लक्ष्य पूरा गर्दा ठुलो राजस्व उठाउने प्रमुख भन्सार नाकाहरू भने निर्धारित लक्ष्य हासिल गर्न चुकेका छन् । लुम्बिनी प्रदेशमा मुलुककै दोस्रो ठुलो भैरहवा (बेलहिया) भन्सार, चौथो ठुलो नेपालगञ्ज भन्सार तथा पाँचौं र छैटौं ठुलो कृष्णनगर र सुठौली भन्सार सञ्चालनमा छन् । नेपालमा अहिले चल्तीका ४० वटा भन्सार कार्यालयमध्ये लुम्बिनी प्रदेशमा मात्रै ८ वटा रहेका छन् ।

भैरहवा भन्सार कार्यालयले गत आवमा १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाका अनुसार कार्यालयलाई १ खर्ब १३ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । त्यसमध्ये ९२.४० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब २ करोड ४८ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको हो । भैरहवा भन्सारले लक्ष्य भने पूरा गर्न नसके पनि अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा राजस्व असुलीमा उल्लेखनीय सुधार गरेको छ । अघिल्लो आवमा कार्यालयले वार्षिक लक्ष्यको ८७.०७ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । यसले लक्ष्य प्राप्तिको अनुपातमा ५.३३ प्रतिशत बिन्दुले सुधार भएको देखाउँछ ।

विभिन्न समस्या र चुनौतीका बिच शतप्रतिशत लक्ष्य भेटाउन नसके पनि गत आवमा राजस्व संकलन उल्लेखनीय मात्रामा वृद्धि भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘भैरहवा नाकामा हुने अत्याधिक जाम र ओभरलोड जरीवानालगायतका समस्याका कारण यसको विकल्प खोज्दै कैयन् मालवाहक गाडीहरूले नाका नै परिवर्तन गरेका थिए ।’, कार्यालय प्रमुख पौडेलले भने,‘यस्ता समस्या र चुनौतीका बावजुद पनि समग्रतामा अघिल्लो आवमा भएको असुलीको तुलनामा गत आवमा राजस्व संकलनमा धेरै सुधार भएको छ । अहिलेको अबस्थामा १ खर्ब ५ अर्ब भन्दा बढी राजस्व संकलन हुनुलाई राम्रो मान्नुपर्छ ।’ पछिल्लो समय राजस्व चुहावट नियन्त्रण भएको र गत भदौमा ‘जेनजी आन्दोलन’ का कारण केही समय भन्सार गतिविधि प्रभावित भए पनि पछिल्लो समय आयात–निर्यातसँग सम्बन्धित व्यापारिक गतिविधि पुनः बढ्दै गएको उनको भनाइ छ ।

आयात परिमाणका हिसाबले भैरहवा वीरगञ्जपछिको दोस्रो ठुलो भन्सार नाका हो । जेनजी आन्दोलनका क्रममा भैरहवा भन्सार कार्यालयमा पनि क्षति पुगेको थियो । आगलागिले भवन र अन्य संरचनासँगै विभिन्न उपकरणमा क्षति पुगेपछि केही समय पाल टाँगेर भन्सारको काम गरिएको थियो । अहिले भने पुरानै भवनबाट नियमित काम भइरहेको कार्यालय प्रमुख पौडेलले बताए । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई चालू आव २०८३/०८४ मा १ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको जिम्मेवारी दिएको छ । यो विभागको कुल लक्ष्यमध्ये १९.४ प्रतिशत हो ।

कुन महिनामा कति राजस्व संकलन ?
भन्सार कार्यालयका सूचना अधिकारी ढुंगानाका अनुसार गत आवको साउन र चैत महिनामा मात्रै लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको छ । पहिलो महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको भन्सारले त्यसपछिका ७ महिनामा लक्ष्य भेटाउन सकेको थिएन । साउनमा ९ अर्ब २९ करोड ४३ लाख ४ हजार (१०२.०५ प्रतिशत) राजस्व संकलन भएको थियो । भदौमा ९ अर्ब ४३ करोड ९२ लाख २४ हजार (९७.२५ प्रतिशत), असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार (९२.७१ प्रतिशत), कात्तिकमा ७ अर्ब ८९ करोड ९६ लाख ३९ हजार (८२.२७ प्रतिशत), मंसिरमा ८ अर्ब १४ करोड ५५ लाख ९ हजार (९३.३३ प्रतिशत) राजस्व संकलन भएको सूचना अधिकारी ढुंगानाले जानकारी दिए ।

त्यस्तैगरी पुस महिनामा ७ अर्ब २० करोड ५९ लाख ९७ हजार (८२.१० प्रतिशत), माघमा ८ अर्ब ६७ करोड १३ लाख ८८ हजार (९९.०७ प्रतिशत), फागुनमा ८ अर्ब २६ करोड ७५ लाख २० हजार (९३.२० प्रतिशत), चैतमा १० अर्ब ६७ करोड ९३ लाख ६६ हजार (१०९.७३ प्रतिशत), वैशाखमा ८ अर्ब ८६ करोड ८४ लाख ७२ हजार (९०.६० प्रतिशत), जेठमा ८ अर्ब ५३ करोड ४० लाख ७५ हजार (७५.४४ प्रतिशत) र असारमा ९ अर्ब १२ करोड ७१ लाख ४२ हजार (९४.४१ प्रतिशत) राजस्व संकलन भएको छ ।

भैरहवा भन्सारको राजस्व संकलनमा सबैभन्दा ठुलो हिस्सा अटोमोवाइल्स (सवारी साधन) को आयातले ओगटेको छ । बेलहिया नाकाबाट सबैभन्दा बढी मोटरसाइकल (सबै प्रकारका), जीप, कार, भ्यान, पेट्रोल, सिंगल÷डबल क्याप पिकप गाडी, विद्युतीय जीप, कार, भ्यान, शुद्ध फलाम (स्पोन्ज/फेरेस आइरन), एम.एस विलेट, खाना पकाउने (एलपी) ग्यास, सुपारी, मोबाइल, चकलेट, खाद्यान्न र अन्य व्यापारिक वस्तुको वस्तुको आयात हुने गरेको छ । यस्तै यहाँबाट भटमासको प्रशोधित तेल, सेन्थेटिक ¥यान, आल्मोनियमका तार, सिमेन्ट खैरो, खयर कत्था, चाउचाउ, नुडल्स, पास्ता, फलाम वा स्टिलका भाँडा, सूर्यमुखीको प्रशोधित तेल, प्लाइउड, जडीबुटी, खोटो रोजिन, र अन्य वनस्पतीजन्य उत्पादनहरु निर्यात हुने गर्दछन् । साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थ आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झण्डै २५ प्रतिशत योगदान रहने गरेको छ ।

नेपालगञ्जमा झण्डै ८२ प्रतिशत राजस्व संकलन
लुम्बिनी प्रदेशको दोस्रो ठुलो बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले गत आवमा २० अर्ब ९ करोड ४८ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन कुल लक्ष्यको ८१.८७ प्रतिशत हो । भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार भन्सार विभागले चालू आवका लागि २४ अर्ब ५४ करोड ५७ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । अघिल्लो आवमा कुल लक्ष्यको ७४.६३ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयले गत आवका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न सकेको छैन । सूचना अधिकारी खड्काका अनुसार साउनमा १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार (७४.१३ प्रतिशत), भदौमा १ अर्ब ४३ करोड २० लाख १९ हजार (७३.९५ प्रतिशत), असोजमा १ अर्ब ६६ करोड ५ लाख ९५ हजार (८३.७३ प्रतिशत), कात्तिकमा १ अर्ब ५३ करोड ७० लाख ८२ हजार (७२.२९ प्रतिशत), मंसिरमा १ अर्ब ६३ करोड ८५ लाख १० हजार (८३.४४ प्रतिशत), पुसमा १ अर्ब ६९ करोड ४१ लाख ३२ हजार (८३.२६ प्रतिशत) राजस्व संकलन भएको छ ।
यस्तैगरी माघमा १ अर्ब ७० करोड ४ लाख ६७ हजार (८८.२४ प्रतिशत), फागुनमा १ अर्ब ७० करोड ७७ लाख ९५ हजार (८८.३१ प्रतिशत) र चैतमा २ अर्ब १४ करोड २५ लाख ५४ हजार (९८.३६ प्रतिशत), वैशाखमा १ अर्ब ८२ करोड ८१ लाख ३७ हजार (८४.६९ प्रतिशत), जेठमा १ अर्ब ८२ करोड ४१ लाख ५१ हजार (८०.८४ प्रतिशत) र असारमा १ अर्ब ५४ करोड ५६ लाख ४९ हजार (७१.१८ प्रतिशत) राजस्व संकलन भएको छ ।

कृष्णनगर भन्सारमा झण्डै ९३ प्रतिशत राजस्व संकलन
यस्तै, कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले गत आव २०८२/०८३ मा लक्ष्यभन्दा ७.२० प्रतिशत कम राजस्व उठाएको छ । भन्सार कार्यालयका सूचना अधिकारी मयंककुमार कर्णका अनुसार ५ अर्ब ४४ करोड ५८ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । जुन कुल लक्ष्यको ९२.८० प्रतिशत हो । भन्सार विभागले गत आवका लागि ५ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । अघिल्लो आवमा यहाँबाट ९८.२५ प्रतिशत राजस्व संकलन भएको थियो ।

कृष्णनगर भन्सार कार्यालयले गत आवको चैत र वैशाख महिनामा मात्र लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । सूचना अधिकारी कर्णका अनुसार साउनमा ३९ करोड ९९ लाख २ हजार (८२.६४ प्रतिशत), भदौमा ४२ करोड ६० लाख ८१ हजार (८५.२९ प्रतिशत), असोजमा ४१ करोड १९ लाख (८३.३६ प्रतिशत), कात्तिकमा ४१ करोड ७१ लाख १४ हजार (८३.३५ प्रतिशत), मंसिरमा ४२ करोड ६४ लाख ७६ हजार (९१.९४ प्रतिशत), पुसमा ४३ करोड ४४ लाख ८५ हजार (९०.९९ प्रतिशत) राजस्व संकलन भएको छ ।

यस्तैगरी माघमा ४० करोड २१ लाख ३६ हजार (८६.४२ प्रतिशत), फागुनमा ४३ करोड ८३ लाख ४० हजार (९६.३७ प्रतिशत) र चैतमा ५६ करोड ५ लाख ३४ हजार (११३.०३ प्रतिशत), वैशाखमा ५८ करोड ९१ लाख ५८ हजार (११६.६२ प्रतिशत), जेठमा ४५ करोड ७० लाख ५९ हजार (८५.३४ प्रतिशत) र असारमा ४८ करोड २६ लाख ४५ हजार (९८.१३ प्रतिशत) राजस्व संकलन भएको छ ।

सुठौली भन्सारमा १४० प्रतिशत राजस्व संकलन
कपिलवस्तुको सुठौली भन्सार कार्यालयले गत आवमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले चालू आवका लागि १ अर्ब १० करोड ५२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा १ अर्ब ५५ करोड ७ लाख ५१ हजार रुपैयाँ संकलन भएको भन्सार कार्यालयका प्रमुख किरण बिष्टले जानकारी दिए ।

सुठौली भन्सार कार्यालयले गत आवको साउन र भदौबाहेक अन्य सबै महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । प्रमुख बिष्टका अनुसार साउनमा ८ करोड ८८ लाख ६० हजार (९७.४७ प्रतिशत), भदौमा ९ करोड ४१ लाख १९ हजार (९८.६७ प्रतिशत), असोजमा १४ करोड ६१ लाख ४६ हजार (१५९.२८ प्रतिशत), कात्तिकमा ९ करोड ३२ लाख ५२ हजार (१००.४९ प्रतिशत), मंसिरमा १२ करोड ६८ लाख ११ हजार (१३६.१४ प्रतिशत), पुसमा १२ करोड ८२ लाख ६२ हजार (१३५.३१ प्रतिशत), माघमा १२ करोड २५ लाख २० हजार (१३७.४५ प्रतिशत), फागुनमा १० करोड २१ लाख ५९ हजार (११६.७५ प्रतिशत) र चैतमा १६ करोड ५५ लाख ५५ हजार (१८०.११ प्रतिशत), वैशाखमा १४ करोड १९ लाख (१४६.८५ प्रतिशत), जेठमा १८ करोड ८७ लाख ३५ हजार (२०२ प्रतिशत) र असारमा १५ करोड १० लाख ९५ हजार (१७२.९ प्रतिशत) राजस्व संकलन भएको छ । कपिलवस्तुका अन्य छोटी भन्सार चल्न सकेका छैनन् ।

महेशपुर भन्सारमा १०९ प्रतिशत राजस्व संकलन
पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले पनि गत आवमा लक्ष्यभन्दा ९ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भण्डारीका अनुसार एक वर्षको अवधिमा १९ करोड २ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २० करोड ३७ लाख राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको १०९ प्रतिशत हो । २०७५ सालमा महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो ।

राजापुर भन्सारमा ११५ प्रतिशत राजस्व संकलन
यस्तै बर्दियाको राजापुर भन्सार कार्यालयले गत आवमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले ३ करोड १६ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा ३ करोड ४८ लाख ५२ हजार रुपैयाँ संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी प्रमोद कुशवाहाले जानकारी दिए । जुन कुल लक्ष्यको ११५.५४ प्रतिशत हो ।

उनका अनुसार साउनमा ११ लाख ७१ हजार (४९.७७ प्रतिशत), भदौमा २० लाख ९६ हजार (८१.०८ प्रतिशत), असोजमा २८ लाख ७८ हजार (११७.४० प्रतिशत), कात्तिकमा १३ लाख ५५ हजार (५२.१६ प्रतिशत), मंसिरमा १२ लाख २१ हजार (५१.१२ प्रतिशत), पुसमा १० लाख ७९ हजार (४६.५४ प्रतिशत) राजस्व संकलन भएको छ । यस्तै, माघमा ५४ लाख ९० हजार (२३५.९६ प्रतिशत), फागुनमा ३८ लाख ८८ हजार (१५६.५३ प्रतिशत), चैतमा ५८ लाख (२२८.८३ प्रतिशत), वैशाखमा १७ लाख ७१ हजार (६७.५७ प्रतिशत), जेठमा ४१ लाख ६७ हजार (१४५.२६ प्रतिशत) र असारमा ३९ लाख ३० हजार (१४९.५० प्रतिशत) राजस्व संकलन भएको छ ।

यस्तैगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा यहाँस्थित भन्सार कार्यालय राजस्व असुलीमा कमजोर देखिएको छ । उता, दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले पनि न्यून राजस्व संकलन गर्दै आएको छ । कुनैबेला चल्तीको यो भन्सार नाका अहिले भने सुनसान छ । खुला सीमा नाकाबाट हुने चोरी तस्करी नियन्त्रण हुन नसक्दा राजस्वको लक्ष्य भेट्न नसकेको कतिपयको बुझाइ छ । प्रहरीले वर्षेनी विभिन्न नाका हुँदै भन्सार छलेर भारतबाट भित्राइएका करोडौँ मुल्य बराबरका सामान बरामद गर्दै आएको छ । खुला सीमाका कारण राजस्वमा समेत असर पर्ने गरेको छ ।