बुटवल । लुम्बिनी प्रदेशका विद्यालयहरूमा अंग्रेजी शिक्षकहरूको कक्षाकोठा अभ्यास क्रमशः सुधार हुँदै गएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयअन्तर्गत अनुसन्धान समन्वय तथा विकास परिषद् (आरसीडीसी) को वित्तीय सहयोगमा सञ्चालन गरिएको राष्ट्रिय प्राथमिकता प्राप्त अनुसन्धान परियोजनाअन्तर्गत गरिएको ‘लुम्बिनी प्रदेशमा अंग्रेजी शिक्षकहरूको कक्षाकोठा अभ्यासको मूल्याङ्कन’ शीर्षकको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । यद्यपि, शिक्षक तालिमलाई अझ प्रभावकारी बनाउन आवश्यकतामा आधारित बनाइनुपर्ने, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सीपलाई तालिममा समावेश गर्नुपर्ने सुझाव अध्ययनले दिएको छ ।
बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.अरुण कुमार क्षेत्री प्रमुख अनुसन्धानकर्ता तथा क्याम्पसका प्रा.डा. तिलक भुसाल सह–अनुसन्धानकर्ता रहेको टोलीले लुम्बिनी प्रदेशका ४ जिल्लाका १६ विद्यालयमा अध्ययन गरेको थियो । शुक्रबार आयोजना गरीएको अनुसन्धान निष्कर्ष प्रसार कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता क्षेत्रीले अध्ययनमा कक्षा ११ र १२ मा अध्ययनरत ४०० विद्यार्थी, १६ जना अंग्रेजी शिक्षक, १६ जना प्रधानाध्यापक, चार जना शिक्षक प्रशिक्षक तथा केन्द्रित समूह छलफल र कक्षा अवलोकनमा सहभागी करिब ३० जना शिक्षक, भाषा शिक्षण विज्ञहरुको सहभागिता रहेको जानकारी दिए । २०७९ चैतमा अनुसन्धान सम्झौता भई ०८२ मंसिरसम्म सञ्चालन भएको उनले बताए ।
अध्ययनअनुसार अंग्रेजी शिक्षकहरूमा पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तन देखिएको छ । शिक्षकहरूले पाठ योजना बनाएर कक्षामा प्रवेश गर्ने, शिक्षण सामग्री तथा सूचना–सञ्चार प्रविधिको प्रयोग गर्ने र कतिपय विद्यालयमा पावरपोइन्ट प्रोजेक्टरमार्फत पढाउने अभ्यास बढेको पाइएको उनले बताए । शिक्षकहरू आफैंले आफ्नो शिक्षण सीपको मूल्याङ्कन गर्ने, तालिम, गोष्ठी, कार्यशाला तथा सम्मेलनमा सहभागी हुने र नयाँ शिक्षण विधि सिक्ने प्रवृत्ति पनि बढेको अध्ययनले देखाएको छ ।
अनुसन्धानले शिक्षक तालिमले उनीहरूलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति सचेत बनाउनुका साथै आत्मविश्वास, प्रतिबद्धता र उत्प्रेरणा बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेको छ । तालिमपछि शिक्षकहरूको शिक्षण–सिकाइप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको र नयाँ प्रविधि तथा विधि अपनाउने अभ्यास विस्तार भइरहेको अध्ययनको निष्कर्ष छ ।
तर, सबै शिक्षकमा तालिमको प्रभाव समान रूपमा नदेखिएको अध्ययनले जनाएको छ । केही शिक्षकले विद्यालयको वातावरणलाई कारण देखाउँदै तालिममा सिकेका सीप व्यवहारमा लागू गर्न नसकेको वा गर्न नचाहेको पाइएको प्रमुख अनुसन्धानकर्ता क्षेत्रीले बताए । तालिममा सिकेका ज्ञान र सीपलाई वास्तविक कक्षाकोठामा प्रयोग गर्ने वातावरण सबै विद्यालयमा अनुकूल नहुँदा त्यसको प्रभाव दीर्घकालीन बन्न नसकेको उनको भनाई छ ।
यस्तै सह–अनुसन्धानकर्ता भुसालले समग्रमा अंग्रेजी भाषा शिक्षणका गतिविधि र कक्षाकोठा अभ्यासमा सुधार भइरहेको उल्लेख गर्दै भविष्यमा नेपालमा अंग्रेजी भाषा शिक्षणको अवस्था अझै राम्रो बन्न सक्ने विश्वास व्यक्त गरे । अनुसन्धान टोलीले शिक्षक तालिमको वर्तमान प्रणालीमा सुधार आवश्यक रहेको जनाएको छ । अहिले शिक्षकलाई तालिममा पठाउँदा उनीहरूको आवश्यकता वा क्षमता भन्दा पनि वरिष्ठता वा प्रधानाध्यापकको सिफारिसलाई आधार बनाइने भएकाले यो प्रणाली प्रभावकारी नभएको अध्ययनले उल्लेख गरेको छ । समान आवश्यकता भएका शिक्षकलाई छनोट गरी आवश्यकतामा आधारित तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ ।
त्यस्तै, शिक्षक तालिमका मोडेल परिमार्जन गरी सबै अंग्रेजी शिक्षकमा आधारभूत सञ्चार क्षमता विकास गर्नुपर्ने, सूचना तथा सञ्चार प्रविधिसँगै अंग्रेजी शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगसम्बन्धी सीपलाई पनि तालिममा समावेश गर्नुपर्ने अध्ययनको सुझाव छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अनुसन्धान निर्देशक डा. इश्वरी कोइरालाले अनुसन्धानबिनाको पढाईले मात्र नपुग्ने भन्दै शिक्षकले हरेक दिन अनुसन्धान गर्न जरुरी रहेको बताए । अनुसन्धान विशेषज्ञ प्रो.डा. ऋषि रिजालले प्रविधिको विकाससँगै सूचनाका स्रोतहरु पनि नयाँनयाँ हुँदै गएको बताउँदै कक्षाकोठालाई पनि समयअनुसार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । शिक्षकहरुलाई आवश्यकताअनुसारको तालिम प्रदान गर्न नसक्दा शिक्षामा सुधार हुन नसकेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै रिसर्च म्यानेजमेन्ट सेलका निर्देशक डा. शालिकराम पौडेल, प्रो.डा. भोजराज कडेरिया, डा.दुर्गा भुसाल, उपप्राध्यापक कमला केसी, प्राध्यापक प्रकाश पौडेल लगायतले यो अनुसन्धानको निष्कर्ष तथा सुझाव नीति निर्माता, पाठ्यक्रम विकासकर्ता, शिक्षक तथा अनुसन्धानकर्ताका लागि नेपालको अंग्रेजी भाषा शिक्षण प्रणाली सुधार गर्न उपयोगी आधार बन्न सक्ने विश्वास व्यक्त गरे । अनुसन्धानको तथ्यांक संकलनमा प्राध्यापकद्वय बाबुराम गैरै र कृष्णप्रसाद भट्टराईले समेत सहयोग गरेका थिए ।
