ज्ञानमा आधारित अर्थतन्त्र

मेचीकाली संवाददाता

९ श्रावण २०८३, शनिबार
33 shares

ध्रुब ज्ञवाली

हाम्रो विकासको बहस प्रायः सडक, पुल, भवन, विमानस्थल र औद्योगिक पूर्वाधार वरिपरि केन्द्रित हुने गरेको छ । अवश्यपनि यी सबै विकासका महत्वपूर्ण आधार हुन् । तर अहिलेको विश्व अर्थतन्त्रले एउटा स्पष्ट सन्देश दिइसकेको छ । अब कुनै पनि देश वा प्रदेशको समृद्धि प्राकृतिक स्रोतभन्दा बढी ज्ञान, अनुसन्धान, नवप्रवर्तन र प्रविधिमा निर्भर हुनेछ ।

विश्व बैंकर संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले पनि पछिल्ला दुई दशकदेखि नलेज इकोनोमी अर्थात के–इकोनोमीलाई दिगो आर्थिक विकासको प्रमुख आधारका रूपमा व्याख्या गर्दै आएका छन् । के–इकोनोमी भन्नाले ज्ञान, शिक्षा, अनुसन्धान, नवप्रवर्तन, सूचना–प्रविधि र दक्ष मानव पूँजीलाई आर्थिक उत्पादनको मूल स्रोत बनाउने प्रणाली हो । आज दक्षिण कोरिया, सिङ्गापुर, फिनल्यान्ड, आयरल्यान्ड र मलेसिया जस्ता देशहरूले यही मोडेल अपनाएर विश्व अर्थतन्त्रमा आफ्नो प्रभावशाली उपस्थिति स्थापित गरेका छन् ।

केही वर्षअघि मलाई मलेसियाको मेलाका राज्यको के–इकोनोमी विकास टोलीसँग काम गर्ने अवसर प्राप्त भएको थियो । त्यहाँको अनुभवले मलाइ एउटा कुरा स्पष्ट बनायो त्यो हो समृद्धिको आधार केवल उद्योग वा पूर्वाधार होइन, ज्ञानलाई नीति, शिक्षा, उद्योग र प्रविधिसँग जोड्ने क्षमताहो ।  मेलाका राज्यले आफ्नो ऐतिहासिक सम्पदालाई पर्यटनसँग मात्र सीमित राखेन । विश्वविद्यालय, अनुसन्धान संस्था, उद्योग, सीप विकास केन्द्र, डिजिटल पूर्वाधार र सरकारी नीतिलाई एउटै विकास दृष्टिकोणमा जोड्यो । त्यसको परिणाम स्वरूप, परम्परागत पर्यटन शहरका रूपमा परिचित मेलाका आज डिजिटल अर्थतन्त्र, उन्नत उत्पादन, सीप विकास र नवप्रवर्तनको केन्द्रका रूपमा पनि विकसित हुँदै गएको छ । यस अनुभवको अधारमा मलाई लुम्बिनीले पनि यस्तै यात्रा सुरु गर्न सक्छ भन्ने लाग्छ ।

नेपालका ७ प्रदेश मध्ये लुम्बिनीसँग केही फरक विशेषताहरू छनः लुम्बिनीको पहिचान बुद्ध जन्मस्थलका रूपमा विश्वभर स्थापित छ । तर बुद्धसँग जोडिएको हाम्रो सम्पदाको आर्थिक उपयोग अझै पनि परम्परागत पर्यटनमा सीमित छ । यदि यही सम्पदालाई डिजिटल प्रविधि, अनुसन्धान र नवप्रवर्तनसँग जोड्न सकियो भने यसको दायरा धेरै गुणा बढ्न सक्छ ।
केही उदाहरणको रूपमा विश्वभरका बौद्धज्ञान सम्बन्धी अनुसन्धानकर्ताले प्रयोग गर्न सक्ने डिजिटल बौद्धज्ञान केन्द्र, कृत्रिम बुद्धिमता (एआइ) मा आधारित बहुभाषिक बौद्ध सूचना प्रणाली, भर्चुअल तीर्थयात्रा, डिजिटल संग्रहालय, अनुसन्धान डेटाबेस र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रहरू ज्ञानमा आधारित नयाँ अर्थतन्त्रका आधार हुनसक्छन । त्यसैगरी हाम्रो प्रदेशमा रहेका विश्वविद्यालयहरू र उच्च शिक्षण संस्थाहरूलाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्न सकियो भने प्रदेशको आर्थिक संरचनामा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ ।

हाम्रो प्रदेशको अर्को ठूलो अवसर हाम्रो युवा जनशक्ति हो । अहिले हजारौं युवा प्रत्येक वर्ष रोजगारीका लागि विदेशिन बाध्य छन् । यदि कृत्रिम बुद्धिमत्ता (एआइ), डेटा, साइबर सुरक्षा, रोबोटिक्स, सफ्टवेयर विकास, डिजिटल डिजाइन र नयाँ प्रविधिमा केन्द्रित सीप विकास कार्यक्रम सञ्चालन गरियो भने यही जनशक्ति विश्व बजारका लागि उच्च मूल्यको सेवा निर्यात गर्ने आधार बन्न सक्छन ।

कृषि र पर्यटनमा पनि ज्ञानको अर्थतन्त्र
के–इकोनोमी केवल सूचना प्रविधिसँग सम्बन्धित विषय होइन । यसको प्रभाव कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र उद्योग सबै क्षेत्रमा पर्छ । लुम्बिनी नेपालको प्रमुख कृषि क्षेत्रमध्ये एक हो । हाम्रो अधिकांश खेती अझै पनि परम्परागत विधिमा आधारित छ । यदि ड्रोन, सेन्सर, एआई आधारित मौसम पूर्वानुमान, माटो विश्लेषण, डेटा–आधारित खेती र स्मार्ट सिँचाइ प्रणाली प्रयोग गर्न सकियो भने उत्पादन र आम्दानी दुबै उल्लेखनीय रूपमा बढाउन सकिन्छ ।

पर्यटनमा पनि यही कुरा लागू हुन्छ । आजका पर्यटक स्थल अवलोकन साथसाथै ज्ञान, अनुभव र डिजिटल सुविधाखोजिरहेका हुन्छन् । कृत्रिम बुद्धिमता (एआइ) मा आधारित बहुभाषिक गाइड, डिजिटल टिकेटिङ, स्मार्ट रुट योजना, डिजिटल सांस्कृतिक सामग्री र व्यक्तिगत पर्यटन सेवाले लुम्बिनीलाई विश्वस्तरीय गन्तव्य बनाउन सक्छ ।

प्रदेश सरकारले गर्न सक्ने योजनाहरू
यदि लुम्बिनी प्रदेशले ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिने हो भने केही दीर्घकालीन योजनाहरू अवश्यक छन् ः सबैभन्दा पहिलो ‘लुम्बिनी के–इकोनमी भिजन’ तयार गर्न आवश्यक छ, जसले शिक्षा, अनुसन्धान, डिजिटल पूर्वाधार, उद्योग र नवप्रवर्तनलाई एउटै रणनीतिमा जोडोस् । दोस्रोमा विश्वविद्यालय, निजी क्षेत्र र प्रदेश सरकारको सहकार्यमा इन्नोभेसन फण्ड स्थापना गरी अनुसन्धान, स्टार्टअप र नयाँ प्रविधिमा लगानी गर्नुपर्छ ।
तेस्रोमा कृत्रिम बुद्धिमता, डिजिटल सुशासन, साइबर सुरक्षा, कृषि प्रविधि, रोबोटिक्स र बौद्ध अध्ययनका क्षेत्रमा सेन्टर अफ एक्सीलेन्स स्थापना गर्नुपर्छ ।

चौथोमा प्रदेशका सबै सरकारी सेवामा डेटामा आधारित निर्णय प्रणाली र एआईको क्रमिक प्रयोग सुरु गर्नुपर्छ । डिजिटल सरकार केवल सेवा प्रवाह सुधार्ने उपाय मात्र होइन, पारदर्शिता, दक्षता र जनविश्वास बढाउने माध्यम पनि हो ।  लुम्बिनी विश्वमा बुद्धको जन्मस्थलका रूपमा प्रसिद्ध छ । बुद्धका शिक्षा स्वयं ज्ञान, अनुसन्धान, तर्क, अनुभव र सत्यको खोजीमा आधारित छन् । त्यसैले ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने अवधारणा लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक पहिचानसँग पनि स्वाभाविक रूपमा मेल खान्छ ।

त्यसैले हामीले बुद्धको जन्मस्थललाई केवल धार्मिक तीर्थस्थलका रूपमा होइन, विश्वव्यापी ज्ञान, अनुसन्धान, शान्ति अध्ययन, कृत्रिम बुद्धिमत्ता र डिजिटल सांस्कृतिक सम्पदाको केन्द्रका रूपमा विकास गर्न सक्यौं भने लुम्बिनी प्रदेशले नेपालको अर्थतन्त्रमा नयाँ पहिचान बनाउन सक्ने सम्भावना छ । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयका आइटी तथा एआई विज्ञ हुन् ।)