मिलन गाहा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। तर वर्षको एक दिन मात्र उहाँलाई सम्झने र बाँकी दिन उहाँले देखाएको समानतामूलक समाज निर्माणको विचारलाई बिर्सने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठिरहेको छ।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दलहरूले हरेक वर्ष साउन ७ गते पुष्पलालको स्मृतिमा कार्यक्रम आयोजना गर्छन्। तर फोटोमा माला अर्पण गरेर मात्र श्रद्धाञ्जलि दिने कि उहाँका विचारलाई व्यवहारमा पनि उतार्ने भन्ने प्रश्न समयले कम्युनिस्ट आन्दोलनसमक्ष तेर्स्याएको छ।
वि।सं। १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल श्रेष्ठ र माता तुलसीकुमारी श्रेष्ठका माहिला पुत्रका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा रहेर नेपाल कम्युनिस्ट पार्टीको संगठन विस्तार र वैचारिक आन्दोलनलाई अगाडि बढाएका थिए। वि।सं। २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा उहाँको निधन भएको थियो। त्यसयता हरेक वर्ष यही दिन उहाँको स्मरण गरिन्छ।
तर प्रश्न उठ्छ—के आजका कम्युनिस्ट दलहरू पुष्पलालले देखाएको मार्गमा हिँडिरहेका छन् ?
विश्वव्यापी रूपमा बजार अर्थतन्त्र र भूमण्डलीकरणको प्रभाव बढ्दै गयो। केही कम्युनिस्ट सरकारहरू आर्थिक नीति र मानवअधिकारका विषयमा आलोचित भए। धेरै वामपन्थी दलहरूले सशस्त्र क्रान्तिको सट्टा संसदीय लोकतन्त्रमार्फत परिवर्तनको बाटो रोजे।
पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ुकम्युनिस्ट मेनिफेस्टोु नेपाली भाषामा अनुवाद गरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गरेका थिए। उहाँले नेपाली समाजको वर्गीय विश्लेषण गर्दै अनेकौं लेख, दस्तावेज र पुस्तकमार्फत समाज रूपान्तरणको दृष्टिकोण प्रस्तुत गर्नुभयो।
वि.सं २००६ वैशाख १० गते निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो। त्यसले नेपालमा संगठित कम्युनिस्ट आन्दोलनको सुरुआत गरायो।
राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै राजनीतिक परिवर्तनका लागि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँको विचारमा समाजवाद स्थापना गर्नुअघि राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र र जनअधिकारलाई सुदृढ बनाउनु आवश्यक थियो। उहाँले वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता पनि निरन्तर औँल्याउनुभयो।
पुष्पलालको राजनीतिक दर्शनको केन्द्रमा सामन्तवादको अन्त्य, शोषणमुक्त समाज निर्माण, किसान–मजदुरको अधिकार, लोकतान्त्रिक स्वतन्त्रताको संरक्षण, राष्ट्रिय स्वाधीनता तथा समाजवादतर्फको राजनीतिक रूपान्तरण रहेका थिए। उहाँका लेख, भाषण र घोषणापत्रहरू आज पनि नेपाली वाम आन्दोलनका महत्वपूर्ण वैचारिक दस्तावेज मानिन्छन्।
आज नेपालका अधिकांश कम्युनिस्ट दलहरूले पुष्पलाललाई आफ्ना वैचारिक प्रेरणास्रोतका रूपमा सम्मान गर्छन्। असार १५ मा उहाँको जन्मजयन्ती र साउन ७ मा स्मृति दिवस मनाइन्छ। तर उहाँका विचारको व्यवहारिक कार्यान्वयन भने अझै चुनौतीपूर्ण देखिन्छ।
आजको कम्युनिस्ट आन्दोलन
आज विश्वमा कम्युनिस्ट आन्दोलन २०औँ शताब्दीको जस्तो व्यापक प्रभावमा छैन। यद्यपि चीन, भियतनाम, क्युबा र लाओसजस्ता देशमा कम्युनिस्ट पार्टी सत्तामा छन्। चीनले समाजवादी राजनीतिक प्रणालीसँगै बजारमुखी आर्थिक नीति अपनाएर विश्व अर्थतन्त्रमा प्रभावशाली स्थान बनाएको छ। भियतनामले पनि आर्थिक सुधारमार्फत उल्लेखनीय विकास हासिल गरेको छ।
भारत, नेपाल तथा युरोपका धेरै देशमा कम्युनिस्ट वा वामपन्थी दलहरू लोकतान्त्रिक निर्वाचनमार्फत सक्रिय छन्। तर सोभियत संघको विघटनपछि विश्वव्यापी कम्युनिस्ट आन्दोलनको प्रभाव घटेको विश्लेषकहरूको निष्कर्ष छ।
नेपालमा भने कम्युनिस्ट दलहरू अझै प्रमुख राजनीतिक शक्तिका रूपमा छन्। तर उनीहरू पटक–पटक विभाजन र एकीकरणको चक्रमा फसेका छन्। नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० लगायतका दलहरूले सत्ता सञ्चालन गरेका छन्। तर पुष्पलालले कल्पना गरेको वैचारिक एकता, जनमुखी शासन र समानतामूलक समाज निर्माणको लक्ष्य अझै पूरा हुन सकेको छैन।
नेकपा ९एमाले० अहिले नेतृत्व, संगठन पुनर्गठन र पुस्तान्तरणको बहसमा छ। लोकतन्त्र स्थापनापछिको करिब साढे तीन दशकमा एमालेले पटक–पटक सरकारको नेतृत्व गर्दै पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना, सडक, सुरुङमार्ग, स्वास्थ्य र अन्य भौतिक संरचना निर्माणमा योगदान दिएको छ। तर सुशासन, सेवा प्रवाह, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा जनअपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकेको आलोचना पनि उत्तिकै छ।
सत्ता बाहिर हुँदा एउटा व्यवहार र सत्तामा पुगेपछि अर्को व्यवहार देखाउने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको विश्वसनीयतामा प्रश्न उठाएको छ। जनताको पक्षमा बोल्ने मात्र होइन, व्यवहारमै परिवर्तन देखाउन सकिए मात्र कम्युनिस्ट आन्दोलनप्रति विश्वास पुनः स्थापित हुन सक्छ।
पुष्पलालको स्मरण केवल औपचारिक कार्यक्रम, माल्यार्पण र भाषणमा सीमित हुनु हुँदैन। उहाँले देखाएको समानता, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र जनमुखी शासनको मार्ग व्यवहारमा उतार्न सकिए मात्र उहाँप्रतिको सच्चा सम्मान हुनेछ। अन्यथा स्मृति दिवस वर्षमा एक दिनको औपचारिकतामा सीमित रहनेछ।
आजको आवश्यकता पुष्पलाललाई सम्झने होइन, उहाँका विचारलाई व्यवहारमा लागू गर्ने हो। त्यही नै नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा दिने र जनविश्वास पुनः स्थापित गर्ने सबैभन्दा प्रभावकारी आधार बन्न सक्छ।
