अमृत गिरी
बुटवल । १३ वर्षको उमेरमै आफ्नो सुमधुर स्वर र आत्मविश्वासपूर्ण प्रस्तुतिबाट लाखौं नेपाली दर्शकको मन जितिरहेका छन्, गुल्मीका अबिनभ पौडेल । तीन वर्षअघि मात्र औपचारिक रूपमा गीत–संगीत सिक्न थालेका उनी अहिले नेपालको चर्चित सांगीतिक रियालिटी शो ‘द भोइस किड्स नेपाल’ सिजन–५ (२०२६) का बलिया प्रतिस्पर्धीका रूपमा स्थापित भएका छन् । उनको प्रस्तुति हेर्दा लाग्छ उनी भविष्यमा एक होनहार संगीतकार बन्नेछन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, रानीबासका अबिनभ अहिले बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् । बाबुआमाले छोराहरु पढाउन भन्दै डेरा लिएर बसेका छन् र सानोतिनो भाडाकै सटरमा कपडाको व्यापार गर्छन् ।
अबिनभले पढाइसँगै उनले अतिरिक्त समयमा बुटवलकै प्रतिष्ठित संगीत विद्यालय रागश्री संगीतालयमा संगीतको प्रशिक्षण लिइरहेका छन् । प्रतिष्ठित संगीत गुरु सरेश सेञ्चुरीको मार्गदर्शनमा उनले आफ्नो गायन यात्रालाई निरन्तर परिष्कृत गरिरहेका छन् ।
सुरुमा नृत्यप्रति विशेष रुचि राख्ने अबिनभ पछिल्लो तीन वर्षयता गीत–संगीतमा केन्द्रित भएका हुन् । विद्यालयस्तरका विभिन्न गायन प्रतियोगिताबाट आफ्नो प्रतिभा निखार्दै आएका उनी आज देशकै प्रतिष्ठित सांगीतिक मञ्चमा आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन् र धेरैको मन जितिरहेका छन् ।
‘द भोइस किड्स नेपाल’ को पाँचौ सिजनको ब्लाइन्ड अडिसनमा उनले उदित नारायण झा र आदित्य नारायण झाको चर्चित गीत ‘यो गाउँको ठिटो म…’ प्रस्तुत गर्दा निर्णायकहरू मात्र होइन, दर्शकसमेत मन्त्रमुग्ध बनेका थिए । उक्त प्रस्तुतीले अहिले युट्युबहरुमा भ्यूज बढाइरहेको छ । उनको सुरिलो स्वर, आत्मविश्वास र प्रस्तुति देखेर कोचहरूबिच उनलाई आफ्नो टोलीमा भित्र्याउने प्रतिस्पर्धा नै चल्यो । अन्ततः उनले ‘टिम अर्जुन’ रोजे ।
ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड सफलतापूर्वक पार गरिसकेका अबिनभ अहिले शीर्ष २४ मा पुगेका छन् । ती प्रतिस्पर्धीसँगै लाइभ शोमा प्रवेश गरेका छन् । यो सो भनेको दर्शकले गीत संगीतको प्रस्तुति हेरेर भोट दिने चरण हो । यसमा जजहरुको भन्दा निर्णायक रोल दर्शक र मतदाताहरुको हुन्छ ।
उनी यस सिजनका सबैभन्दा आशालाग्दा बालप्रतिभामध्ये एकका रूपमा हेरिन थालेको उनको सो हेरिरहने बुटवल देवीनगरकी गृहिणी खगिश्वरा गाहा मगरको भनाइ छ । शो हरेक शुक्रबार र शनिबार बेलुका ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
उनका संगीत गुरु सेञ्चुरी अबिनभमा असाधारण सम्भावना देख्छन् । सानो उमेरमै सुर, ताल र भावलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सक्ने क्षमता भएकाले भविष्यमा उनी उत्कृष्ट गायक बन्ने विश्वास गुरु सेञ्चुरीको छ ।
अबिनभका पिता युवराज पौडेलका अनुसार छोराले गीत–संगीतप्रति गहिरो रुचि देखाएपछि गाउँबाट बुटवल ल्याएर विद्यालयमा भर्ना गराउनुका साथै संगीत सिक्ने वातावरण मिलाइएको हो । परिवारले उनको प्रतिभालाई पहिचान गरेर निरन्तर साथ दिँदा उनी आज राष्ट्रिय मञ्चसम्म पुग्न सफल भएका छन् ।
संगीतमा जति अब्बल छन्, पढाइमा पनि उत्तिकै मेहनती छन् अबिनभ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार उनी सधैं विद्यालयको उत्कृष्ट विद्यार्थीमध्ये पर्छन् र शैक्षिक उपलब्धि पनि निरन्तर उत्कृष्ट रहँदै आएको छ ।
अबिनभका एक भाइ छन् । टेलिभिजन कार्यक्रमका विभिन्न चरणमा उनकी आमा गोमा ज्ञवाली सधैं साथमा रहने गर्छिन् । प्रतियोगिताका मुख्य चरणहरूमा परिवारका अन्य सदस्य र आफन्तसमेत उत्साहपूर्वक सहभागी हुने गरेका छन् ।
विगत दुई महिनादेखि उनी ‘द भोइस किड्स’को प्रतिस्पर्धाका लागि बुटवल–काठमाडौं आवतजावत गरिरहेका छन् भने प्रतिस्पर्धाका क्रममा काठमाडौंमै बस्दै आएका छन् ।
गाउँबाट उठेको एउटा सानो सपना आज राष्ट्रिय मञ्चमा गुञ्जिरहेको छ । निरन्तर अभ्यास, परिवारको साथ, गुरुको मार्गदर्शन र आफ्नै मेहनतका कारण अबिनभ पौडेल धेरै बालबालिकाका लागि प्रेरणाको स्रोत बनेको युवराजका सहपाठी र अबिनभका प्रशंसक विष्णु गिरीले बताए । ‘द भोइस किड्स’को यात्रा अझै बाँकी रहे पनि उनले आफ्नो प्रतिभाले नेपाली संगीत क्षेत्रमा उज्ज्वल भविष्यको संकेत भने दिइसकेको गिरीको भनाइ छ ।
