विष्णु गौतम
युद्ध सुरु हुनुअघि नै मनमा द्वेष जन्मिन्छ, भाषामा घृणा आउँछ र व्यवहारमा हिंसा देखिन थाल्छ । त्यसैले युद्ध युद्धभूमिमा होइन, मानिसको मनबाट सुरु हुन्छ । एक्काइसौँ शताब्दीमा विज्ञान, प्रविधि, शिक्षा र कृत्रिम बुद्धिमत्ताले अभूतपूर्व प्रगति गरे पनि विश्व अझै युद्ध, हिंसा र मानव पीडाबाट मुक्त हुन सकेको छैन । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, सुडानको गृहयुद्ध तथा म्यानमारको आन्तरिक द्वन्द्वजस्ता घटनाले लाखौँ मानिसलाई मृत्यु, विस्थापन, भोकमरी, मानसिक आघात र भविष्यप्रतिको अनिश्चिततामा धकेलेका छन् । यसले एउटा गम्भीर प्रश्न उठाउँछः के युद्धले वास्तवमै समस्या समाधान गर्छ, वा यसले केवल नयाँ पीडा, घृणा र प्रतिशोधको चक्रलाई अझ गहिरो बनाउँछ ?
बौद्ध दर्शनले हिंसालाई केवल शारीरिक आक्रमणमा सीमित गर्दैन; घृणाले भरिएका विचार, कठोर वचन, प्रतिशोधको भावना तथा लोभ, द्वेष र मोहबाट उत्पन्न मानसिकता पनि हिंसाकै रूप हुन् । जब समाजमा संवाद, सहिष्णुता र करुणाको स्थान घृणा र असहिष्णुताले लिन थाल्छ, तब हिंसा बिस्तारै युद्धमा परिणत हुन्छ । बुद्धको सम्पूर्ण शिक्षा मानव दुःख, त्यसका कारण, त्यसको निरोध र त्यसतर्फ जाने मार्गमा आधारित भएकाले युद्धलाई मानव पीडाको सबैभन्दा ठुलो स्रोतका रूपमा हेर्छ ।
अन्तर्राष्ट्रिय कानुनले नागरिकको सुरक्षा र मानवीय मूल्यको संरक्षणमा जोड दिए पनि इतिहास र वर्तमान दुवैले देखाएका छन् कि युद्धको वास्तविक विजेता कोही हुँदैन । अन्ततः युद्धले मानिसको जीवन, सम्बन्ध, नैतिकता र भविष्यलाई गहिरो घाउ दिन्छ । त्यसैले बौद्ध दृष्टिकोणले स्थायी शान्तिको आधार हतियारलाई होइन, करुणा, मैत्री, संवाद र अहिंसामय चेतनाको विकासलाई मान्दछ ।
युद्धको वास्तविक सुरुआत ः मनभित्रको हिंसा
युद्ध हिंसाको चरम परिणाम हो तर युद्ध एक्कासि युद्धभूमिमा सुरु हुँदैन । जब मानिसको मनमा लोभ, द्वेष र मोहले स्थान लिन थाल्छ, तब त्यसको प्रभाव उसको सोच, बोली र व्यवहारमा देखिन थाल्छ । यही कारण बुद्धले हिंसालाई केवल हत्या वा शारीरिक आक्रमणमा मात्र सीमित गर्नुभएको छैन; कठोर वचन, घृणा, अपमान, विभेद, प्रतिशोध र मानसिक हिंसा पनि हिंसाकै रूप हुन् भन्नुभएको छ । आज सामाजिक सञ्जालमा फैलिने घृणायुक्त भाषा, जातीय तथा धार्मिक विभेद, घरेलु हिंसा र असहिष्णुताले यही कुरालाई पुष्टि गरिरहेका छन् । यदि हिंसाको बिउ मानिसको मनमै उम्रिन्छ भने, युद्धलाई केवल बन्दुक रोक्दैमा शान्ति सम्भव हुन्छ त ? वास्तवमा हिंसाको यही बिउ बिस्तारै समाज, समूह र राज्यको तहमा पुग्दा युद्धको रूप लिन्छ ।
युद्धका कारण
हिंसा युद्धमा परिणत भएपछि त्यसका कारण शक्ति, भूभाग, धर्म, राजनीतिक स्वार्थ तथा आर्थिक स्वार्थजस्ता पक्षहरू अझ तीव्र बन्छन् । शक्ति सन्तुलनको प्रतिस्पर्धा, सीमा विवाद, प्राकृतिक स्रोतसाधनमाथिको नियन्त्रण, चरम राष्ट्रवाद, धार्मिक तथा जातीय विभाजन र राजनीतिक प्रभुत्वको चाहनाले युद्धलाई अझ जटिल बनाउँछन् । जब स्वार्थले मानवता र विवेकमाथि विजय प्राप्त गर्न थाल्छ, तब युद्ध विकराल बन्छ ।
समकालीन युद्धका वास्तविक उदाहरण
यसको स्पष्ट उदाहरण रुस–युक्रेन युद्ध (२०२२–हालसम्म), इजरायल–हमास द्वन्द्व (२०२३–हालसम्म), सुडानको गृहयुद्ध (२०२३–हालसम्म) तथा म्यानमारको आन्तरिक द्वन्द्व हुन् । यी युद्धहरूले लाखौँ मानिसलाई मृत्यु, विस्थापन, भोकमरी, मानसिक आघात र आधारभूत सेवाको अभावमा बाँच्न बाध्य बनाएका छन् । करोडौँ नागरिक आफ्नै देशभित्र वा अन्य मुलुकमा शरणार्थी बनेका छन् । विद्यालय, अस्पताल, घर तथा सार्वजनिक पूर्वाधारहरू ध्वस्त भएका छन् । यी घटनाले युद्धले कसैलाई स्थायी विजय नदिई सम्पूर्ण मानव समाजलाई नै गहिरो पीडा दिने तथ्य स्पष्ट रूपमा देखाउँछन् । युद्धको सबैभन्दा ठुलो मूल्य निर्दोष नागरिकहरूले चुकाउनुपर्छ ।
अन्तर्राष्ट्रिय कानुन र युद्ध नियन्त्रणका प्रयास
युद्धका विभीषिकालाई सीमित गर्न अन्तर्राष्ट्रिय कानुनले महत्वपूर्ण भूमिका खेल्छ । विशेषगरी जेनेभा महासन्धि, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय मानवीय कानुन तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्धका समयमा नागरिकको सुरक्षा, युद्धबन्दीको अधिकार, मानवअधिकारको संरक्षण तथा युद्ध अपराधको कारबाहीका लागि कानुनी आधार प्रदान गरेका छन् । तर यति धेरै कानुनी व्यवस्था हुँदाहुँदै पनि आज संसारका विभिन्न भागमा युद्ध रोकिएको छैन । यसको कारण केवल कानुनको कमजोरी होइन, मानिसको चेतनामा परिवर्तनको अभाव पनि हो । कानुनले व्यवहारलाई नियन्त्रण गर्न सक्छ, तर लोभ, द्वेष, मोह र प्रतिशोधलाई समाप्त गर्न सक्दैन । त्यसैले बाह्य कानुनी व्यवस्थासँगै आन्तरिक नैतिक रूपान्तरण पनि अपरिहार्य छ ।
बौद्ध धर्मको शान्तिवादी सन्देश
बुद्धको शान्तिवादी सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । युद्ध बन्दुकबाट सुरु हुँदैन; युद्ध त्यसअघि नै मानिसको मन, भाषा र व्यवहारमा सुरु भइसकेको हुन्छ । त्यसैले बुद्धले हिंसाको जराका रूपमा रहेका लोभ, द्वेष र मोहलाई अन्त्य गर्न तथा करुणा, मैत्री, क्षमा र संवादको मार्ग अपनाउन शिक्षा दिनुभएको हो । आज सामाजिक सञ्जालमा फैलिने घृणा, गलत सूचना, चरम राष्ट्रवाद, धार्मिक असहिष्णुता तथा ‘म’ र ‘मेरा’ भन्ने अहंकारले द्वन्द्वलाई अझ बढाइरहेको वर्तमान अवस्थामा बुद्धको शिक्षा केवल धार्मिक उपदेश मात्र होइन, दिगो शान्ति स्थापना गर्ने व्यावहारिक मार्ग पनि हो । यदि युद्ध मानिसको मनबाट सुरु हुन्छ भने, शान्ति पनि मानिसकै मनबाट सुरु हुनुपर्छ; यही बुद्धको शान्तिवादी सन्देशको सार हो ।
मानव पीडाको मुक्ति नै बौद्ध दर्शनको केन्द्रबिन्दु
मानव पीडा नै बौद्ध दर्शनको केन्द्रबिन्दु हो । युद्ध, हिंसा र मानव पीडाले केवल वर्तमानमा मात्र क्षति पु¥याउँदैन, यसले भविष्यका पुस्तासम्म पनि पीडा, प्रतिशोध र विभाजनको बीउ रोपिदिन्छ । शक्ति, परिवर्तन वा न्यायका नाममा गरिएका युद्ध हुन् वा ‘म’ र ‘मेरो’ भन्ने अहंकार, रिस र द्वेषबाट जन्मिएका हिंसात्मक व्यवहार यी सबैले अन्ततः मानव जीवन, समाज र मानवतामै गहिरो घाउ छोड्छन् । यसको अर्थ अन्यायलाई स्वीकार गरेर बस्ने वा आफू पनि अत्याचारको बाटो रोज्ने भन्ने होइन । बरु अन्याय र अत्याचारको सामना गर्दा पनि द्वेषलाई आफ्नो चरित्रमाथि हावी हुन नदिनु, करुणा, विवेक र शान्तिको मार्गलाई अँगाल्नु नै बौद्ध धर्मको वास्तविक सन्देश हो ।
धम्मपदमा भनिएको छ–
‘न हि वेरेन वेरानि सम्मन्तीध कुदाचन ।
अवेरेन च सम्मन्ति, एस धम्मो सनन्तनो ।।’
अर्थात्, द्वेष कहिल्यै द्वेषबाट समाप्त हुँदैन; द्वेषको अन्त केवल अद्वेष, अर्थात् प्रेम, मैत्री र करुणाबाट मात्र हुन्छ । यही नै बुद्धको शान्तिवादी सन्देश हो, र आज युद्ध, हिंसा र मानव पीडाले ग्रस्त विश्वका लागि यही सन्देश सबैभन्दा सान्दर्भिक र आवश्यक देखिन्छ । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा बि.ए.एलएल्.बि. दोस्रो सेमेष्टरमा अध्ययनरत छात्रा हुन् ।)
