मुक्ति न्यौपाने
वालिङ । हरिशयनी एकादशीको अवसरमा स्याङ्जाको वालिङ नगरपालिका वडा नं ८ स्थित कुम्स्वरामा बृहत् तुलसी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वालिङ नगरपालिका र आयुर्वेद शाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ।
पर्यावरणीय सुधार तथा बहुउपयोगी जडीबुटीको संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीय कुम्स्वरा क्षेत्रमा एक हजार थान तुलसीका बिरुवा रोपिएको छ।
कार्यक्रममा वालिङ नगरपालिकाकी उपमेयर, वडा अध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू, आयुर्वेद शाखाका कर्मचारीहरू, स्थानीय आमा समूहका प्रतिनिधिहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
वृक्षारोपण कार्यक्रमका क्रममा आयुर्वेद शाखा प्रमुख हरि अर्यालले तुलसी धार्मिक दृष्टिकोणले मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण जडीबुटी भएको बताए । उनले तुलसीलाई दैनिक जीवनमा विभिन्न रोगको औषधिको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारे ।
सहभागीहरूले एकादशीको अवसरमा गरिएको यो कार्यले धार्मिक आस्थाको जगेर्नाका साथै जडीबुटीको प्रयोग र स्वास्थ्य चेतना फैलाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
