तुलसीराम पौडेल
सियारी । वातावरण संरक्षण र स्वच्छ खानेपानीको दिगो व्यवस्थापनलाई एकसाथ जोड्दै रुपन्देहीको सियारी–७ स्थित पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सोमबार वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको आफ्नै कार्यालय परिसरमा आयोजित विरुवा वितरण कार्यक्रममा सयौंको संख्यामा उपभोक्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपभोक्ताहरुलाई घर–घरमा रोप्न मिल्ने विभिन्न उपयोगी विरुवा निःशुल्क वितरण गरिएको थियो । संस्थाले अमला, टिक, जामुन, बास, बेलौती, मसला, तेजपत्ता लगायतका प्रजातिका फलफूल, जडिबुटी र बहुउपयोगी विरुवाहरु वितरण गरिएको हो ।
विरुवा वितरणसँगै संस्थाका पदाधिकारी, कर्मचारी र उपभोक्ताहरुको संयुक्त सहभागितामा कार्यालय परिसर र आसपासको क्षेत्रमा सामूहिक वृक्षारोपण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले वातावरण र पानीको गहिरो सम्बन्ध रहेको बताए । ‘स्वच्छ पानी र विरुवाको सम्बन्ध धेरै नजिकको हुन्छ । जंगल र हरियाली नभएसम्म मुहान सुक्छ, पानी फोहोर हुन्छ । त्यसैले हामीले पानीको स्रोत जोगाउन, वायु प्रदूषण कम गर्न र आउँदो पुस्ताका लागि हरियाली विरासत दिन यो अभियान सुरु गरेका हौं ।’, उनले भने ‘हामीले वितरण गरेका विरुवालाई उपभोक्ताहरुले आफ्नो घरको आँगन, बारी र सार्वजनिक स्थानमा रोपेर हुर्काउनु पर्छ । खानेपानी संस्थाले अब हरेक वर्ष यस्तो अभियानलाई निरन्तरता दिनेछ ।’
कार्यक्रममा सहभागी उपभोक्ताहरुले संस्थाको यो पहलप्रति खुसी व्यक्त गरेका थिए । विरुवा पाएपछि एकजना उपभोक्ताले भने, ‘पहिले पानीको लागि मात्र थियो, अब संस्थाले वातावरणको लागि पनि काम गर्यो । यो धेरै राम्रो सुरुवात हो ।’ संस्थाले यसलाई वार्षिक अभियानको रुपमा लैजाने र हरेक वर्ष वर्षातको समयमा वृक्षारोपण तथा सचेतना कार्यक्रम गर्ने योजना बनाएको छ । संस्थाले विद्यालय र सार्वजनिक स्थानमा पनि विरुवा रोप्ने प्रतिबद्धता जनाएको छ ।
