लुम्बिनीमा सडक दुर्घटनाको ग्राफ बढ्दो

–एक वर्षमा ४७९७ सवारी दुर्घटना, ५८५ जनाको मृत्यु, ८ हजार घाइते

मेचीकाली संवाददाता

१२ श्रावण २०८३, मंगलवार
5 shares

रमेश पराजुली

बुटवल । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा अघिल्ला आर्थिक वर्षको तुलनामा सडक दुर्घटनासँगै मृतक र घाइते हुनेको संख्या पनि बढेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । दुर्घटनाको संख्या बढ्नुका पछाडि सवारी साधनको तीव्र वृद्धि, ग्रामीण तथा जोखिमयुक्त सडकमा सवारी पहुँच विस्तार, चालकको लापरबाही, ट्राफिक जनशक्तिको अभाव, सडक सुरक्षा पूर्वाधारको कमी तथा प्राविधिक रूपमा कमजोर सवारी साधन प्रमुख कारण रहेको प्रहरीकको निष्कर्ष छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले लुम्बिनी प्रदेशका १२ जिल्लामा गत आवमा सानाठुला गरी कुल ४ हजार ७९७ वटा सवारी दुर्घटना भएको जानकारी दिए । उनका अनुसार यी दुर्घटनामा परी ५८५ जना नागरिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा महिलाभन्दा पुरुष धेरै छन् । यस अवधिमा सवारी दुर्घटनामा परी ८ हजार ५८ जना घाइते भएका छन् । जसमध्ये १ हजार ७९९ जना गम्भीर घाइते भएका छन् । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो ।

लुम्बिनी प्रदेशमा अघिल्लो आव २०८१/०८२ को एक वर्षको अवधिमा ३ हजार ४७९ सवारी दुर्घटनामा परी ५०६ जना नागरिकले ज्यान गुमाएका थिए भने ५ हजार ६९१ जना घाइते भएका थिए । यस्तै, आव ०८०/०८१ मा १ हजार १२० वटा सवारी दुर्घटना हुँदा ४९६ जना नागरिकले ज्यान गुमाएका थिए भने १ हजार ६९३ जना घाइते भएका थिए । आव ०७९/८० मा ८९२ वटा सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको थियो ।

गत आर्थिक वर्षदेखि दुर्घटनामा परेका सबै सवारी र घाइतेहरूको संख्या रेकर्डमा राख्दा दुर्घटनामा परेका सवारी, घाइते र मृतकको संख्या बढेको प्रहरी उपरीक्षक थापाले बताए । उनले भने,‘अघिल्ला आर्थिक वर्षमा मध्यम र गम्भीर घाइतेहरूको मात्र रेकर्ड राख्ने गरिएको थियो । तर, गत वर्षदेखि दुर्घटनामा परेका सबै सवारी र घाइतेहरूको संख्या रेकर्डमा राख्ने गरेका छौँ, जसले गर्दा अघिल्ला वर्षमा भन्दा गत आवमा दुर्घटनाग्रस्त सवारी र मृतक र घाइतेको संख्या बढेको छ ।’ अघिल्लो आर्थिक वर्षको तुलनामा प्रदेशमा सवारी दर्ता करिब ५.५८ प्रतिशतले बढेकाले पनि दुर्घटनाको जोखिम बढेको प्रहरी उपरीक्षक थापाले बताए । एक वर्षमा दर्ता भएका कुल १७ लाख ५ हजार ४९ सवारीमध्ये सबैभन्दा बढी ८५.८१ प्रतिशत् अर्थात् १४ लाख ६३ हजार २०५ वटा निजि मोटरसाइकल दर्ता भएको तथ्यांक छ ।

रुपन्देहीमा सबैभन्दा धेरै सवारी दुर्घटना
ट्राफिक प्रहरीको तथ्यांकअनुसार प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् भने सबैभन्दा कम रुकुम पूर्वमा भएका छन् । रुपन्देहीमा गत आवमा १ हजार ४४८ वटा सवारी दुर्घटना हुँदा १४५ जनाको मृत्यु भएको छ भने २ हजार २५५ जना घाइते भएका छन् । रुपन्देहीमा राष्ट्रिय राजमार्ग, व्यापारिक गतिविधि, तीव्र सहरीकरण र सवारी चाप उच्च भएकाले दुर्घटना बढी भएको विश्लेषण गरिएको छ ।

यस्तै, नवलपरासी पश्चिममा ४३३ वटा सवारी दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ भने, ७१८ जना घाइते भएका छन् । कपिलवस्तुमा ६८५ वटा सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ भने १ हजार २११ जना घाइते भएका छन् । पाल्पामा १४८ वटा सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने २५२ जना घाइते भएका छन् । गुल्मीमा ७५ वटा सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् ।

यस्तैगरी, अर्घाखाँचीमा एक वर्षको अवधिमा ५५ वटा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने १६० जना घाइते भएका छन् । दाङमा ३४७ वटा सवारी दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको छ भने ६१६ जना घाइते भएका छन् । बाँकेमा ८१३ वटा सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ भने १ हजार २८७ जना घाइते भएका छन् । बर्दियामा ५६३ वटा सवारी दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ भने ९९६ जना घाइते भएका छन् । यस्तैगरी, प्युठानमा १०३ वटा सवारी दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ भने २१३ जना घाइते भएका छन् । रोल्पामा १०७ वटा सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ भने २१५ जना घाइते भएका छन् । रुकुम पूर्वमा २० वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

दुर्घटनाको प्रमुख कारण तीव्र गति
प्रहरीका अनुसार दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गति सबैभन्दा ठुलो चुनौतीका रूपमा देखिएको छ । कुल दुर्घटनामध्ये करिब ६९ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएका छन् । त्यसपछि अन्य कारणमा मादक पदार्थ सेवन, चालकको असक्षमता, ब्रेक फेल, यान्त्रिक समस्या, ओभरटेक तथा मौसमजन्य कारणले दुर्घटना भएको तथ्यांक छ । चालकको लापरबाही, मोबाइल फोनको प्रयोग, लेन अनुशासन उल्लंघनलगायत ट्राफिक नियमको पालना नगर्नु, राजमार्गमा छाडा चौपायाको समस्या र ओभरलोड पनि दुर्घटनाका प्रमुख कारण रहेको प्रहरीको भनाई छ ।

सबैभन्दा धेरै दुईपांग्रे सवारी दुर्घटना
सवारी साधनका आधारमा हेर्दा मोटरसाइकल सबैभन्दा बढी दुर्घटनामा संलग्न देखिएको छ । आर्थिक वर्ष ०८२/०८३ मा भएका दुर्घटनामध्ये करिब ६३ प्रतिशतमा मोटरसाइकल संलग्न रहेको प्रहरीको तथ्यांकमा छ । जसमा धेरै युवापुस्ता (जेन–जी) समूहले ज्यान गुमाएका छन् । त्यसपछि जिप, कार, अटो, टेम्पो, शारीरिक शक्तिबाट चल्ने सवारी, बस, ट्रक/ट्यांकर, ट्याक्टर, माइक्रो बस, टिप्पर तथा अन्य सवारी साधनको संलग्नता रहेको छ । दुईपांग्रे सवारीको अत्यधिक प्रयोग, असुरक्षित यात्रा, चालकको अनुभवको कमी तथा मोबाइल फोन प्रयोग गर्दै वा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिका कारण मोटरसाइकल दुर्घटना बढी भएको प्रहरीको भनाइ छ ।

एक लाख २० हजार सवारी कारबाहीमा, १३ करोड ५८ लाख राजस्व संकलन
ट्राफिक कारबाहीतर्फ भने आव २०८२/०८३ मा कारबाही संख्या र राजस्व दुवै घटेका छन् । एक वर्षको अवधिमा १ लाख २० हजार ४८ सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट १३ करोड ५८ लाख ६ हजार ६३ रुपैयाँ राजस्व संकलन भएको छ । कारबाहीमा पर्ने सवारीमा पनि सबैभन्दा धेरै मोटरसाइकल (५ लाख ६२ हजार १३५ वटा) रहेका छन् । त्यसपछि क्रमशः कार/जिप, बस/मिनिबस, टेम्पो/ई–रिक्सा छन् ।

ट्राफिक नियम पालनामा सुधार, ई–चलान प्रणालीको कार्यान्वयन, जनचेतनामूलक कार्यक्रमको प्रभावकारिता तथा ट्राफिक प्रहरीको सक्रियताले सुधारको संकेत देखिएको प्रहरी उपरीक्षक थापाले बताए । उनका अनुसार सबै जिल्लामा सवारी नियम उल्लघंन, नक्कली चालक अनुमति पत्र, गलत नम्बर प्लेट, ओभर लोड, मादकपदार्थ र लागुऔषध सेवन, स्वरूप परिवर्तन गरिएका सवारीलगायत मुद्दामा कडा निगरानी गर्ने गरिएको छ ।

ट्राफिक नियम पालना र लेन अनुशासनमा कडाई गरिएको प्रहरी उपरीक्षक थापाले बताए । ‘राजस्व संकलन गर्नेभन्दा पनि नियम पालना र दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिएर काम गरीरहेका छौँ तर नियम नमान्ने र उल्लंघन गर्नेलाई भने कानुनी दायरामा ल्याएर जरिवाना पनि गर्छौँ ।’ प्रहरी उपरीक्षक थापाले भने, ‘तीव्र गतिमा सवारी हाँक्ने, ट्राफिक नियम तथा लेन अनुशासन उल्लंघन गर्ने, स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने, सवारीको क्षमताभन्दा बढी (ओभर लोड) यात्रु वा समान बोक्ने, मापसे/लापसे गरी सवारी चलाउने तथा गलत स्थानमा पार्किङ गर्ने सवारीलाई कारबाही तीव्र बनाएका छौँ ।’

यसका साथै ट्राफिक प्रहरीले अतिरिक्त सिट, हुट, कालो सिसा र स्टिकर हटाउने, प्रयोजनविपरीत प्रयोग भएका निजी सवारीमाथि कारबाही गर्ने, राडर गनमार्फत गति मापन, मादक पदार्थ तथा लागूपदार्थ सेवन परीक्षण, चालक अनुमति पत्र परीक्षार्थीलाई ट्राफिक शिक्षा, सवारी साधनको यान्त्रिक परीक्षण, चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, ट्राफिक लाइट तथा रोड मार्किङ, अटोमेटिक नम्बर प्लेट रिड (एनपीआर), ट्राफिक लाइट र सिसिटिभी जडान गरेर व्यवस्थित सवारी चालकलाई प्रोत्साहन, छाडा चौपाया व्यवस्थापन तथा हराएका सवारी साधन, मोबाइल उपकरण र अन्य समान खोजतलास गरी सम्बन्धित धनीलाई फिर्ता दिने तथा सडक सुरक्षासम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

निरन्तर ट्राफिक सचेतना अभियान
जेन–जी आन्दोलनपछि केही समय सुस्ताएको ट्राफिक गतिविधिलाई पछिल्लो समय तीव्रता दिइएको कार्यलयका प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानुप्रसाद पाण्डेले बताए । उनका अनुसार जनचेतना अभिवृद्धिका लागि प्रदेशभर १० हजार ६६२ वटा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रमबाट ५ लाख ५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । यस्तै विद्यालय, सार्वजनिक यातायात, चालक तथा सहचालक, व्यवसायी, पैदलयात्री, संघसंस्था र समुदायलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रमसँगै पर्चा/पम्पेलेट बाँड्ने तथा स्टिकर टाँस्ने पनि निरन्तर सञ्चालन भइरहेका छन् ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विभिन्न सुधारात्मक अभियान सञ्चालन गरेको जनाएको छ । पटकपटक सवारी दुर्घटना भइरहने प्रदेशका ५३ स्थानलाई अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पट) घोषणा गरी दुर्घटना न्यूनीकरण कार्यक्रमअन्तर्गत १३० वटा उपकरण तथा चेतनामूलक बोर्ड राखिएको प्रहरी वरिष्ठ नायब निरीक्षक पाण्डेले बताए । सीमित जनशक्ति र बढ्दो सवारी चापका बिच पनि दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकमा सडक सुरक्षा सचेतना अभिवृद्धि गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशमा हालसम्म १५ हजार ७०६ किलोमिटर सडक सञ्जाल बिस्तार भएको छ ।