सुनचाँदी व्यवसायी महासंघको साधारणसभा भोलि बुटवलमा, ७०० प्रतिनिधि सहभागी हुने

मेचीकाली संवाददाता

१५ श्रावण २०८३, शुक्रबार
7 shares

बुटवल । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३औँ र १४औँ वार्षिक साधारणसभा भोलि (शनिबार) बुटवलमा हुने भएको छ।

साधारणसभामा देशभरका जिल्ला र नगर संघ, १ वस्तुगत संघ तथा एसोसिएट सदस्यहरूका ७ सयभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरूले सहभागिता जनाउने भएका छन्।

साधारणसभाबारे शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष अर्जुन रसाइलीले साधारणसभाले सुनचाँदी व्यवसायलाई अझै मर्यादित, प्रतिस्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने उद्देश्यका साथ विभिन्न एजेन्डाहरूलाई समेटेर बुटवल घोषणापत्र जारी हुने बताए।

विक्रम संवत् २०६९ मा विधिवत् रूपमा दर्ता भएको महासंघले देशभरका सुनचाँदीका व्यवसायीहरूको हकहित र अधिकार प्राप्तिका लागि मात्र नभई गुणस्तरीय गरगहनाहरूको उत्पादन, व्यावसायिक इमानदारिता, उपभोक्तामुखी सेवा र सामाजिक उत्तरदायित्वका साथ देशको आर्थिक समृद्धिमा योगदान गर्दै आएको अध्यक्ष रसाइलीले बताए।

संघका महासचिव किरणभाइ बज्राचार्यले सुनचाँदी व्यवसायमा ८० प्रतिशत विदेशी कालिगढहरू रहेको बताए। उनले नेपाली युवालाई प्रदेशस्तरबाट दक्ष तालिम दिएर यहीँ सुनचाँदी व्यवसायको क्षेत्रमा लगाउन सके राम्रो आम्दानीसमेत गर्न सकिने बताए।

नेपाली युवाहरूलाई सुनचाँदीको क्षेत्रमा आकर्षित गर्नुपर्ने उनको भनाइ छ। नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ तयार गरेको छ। सोहीअनुसार नेपालमा वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न सक्छन्।