‘पार्टीलाई बलियो बनाउन नेतृत्व र नीति पुनर्गठन गरौँ’

मेचीकाली संवाददाता

२० श्रावण २०८३, बुधबार
1 shares

बुटवल । नेकपा (एमाले) रुपन्देहीले ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसहित मंगलबार बुटवलमा विस्तारित बैठक तथा अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठन गर्न नसके सदस्यता नवीकरणसमेत चुनौतीपूर्ण बन्ने धारणा राखेका छन् ।

बैठकमा बोल्दै जिल्ला सदस्य नरबहादुर घर्तीले पार्टी जनताका मुद्दा उठाउन नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्दै केन्द्रदेखि वडा तहसम्म संगठनात्मक पुनर्गठन आवश्यक रहेको बताए । ‘अहिले पनि ५५ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका छन् र उनीहरू पनि सन्तुष्ट छैनन् । वर्गीय पक्षधरता हरायो । नेतालाई रिझाउने मात्रै सुरक्षित भए । जनताले होइन कार्यकर्ताले नेता भेट्न मुस्किल भयो । यसरी कसरी पार्टी चल्ला ?’, घर्तीले भने । नीति र नेतृत्व पुनर्गठन गरेर गए पुनः सम्हालिएर जान सकिने उनको भनाइ थियो । ‘अहिलेको हावा धेरै दिन टिक्न सक्दैन, तर एमालेमा नेता नै सुध्रेर जनतासँग, कार्यकर्तासँग जान नसके अझै ध्वस्त हुने अवस्था आउन सक्छ,’ उनले थपे ।
कार्यक्रममा पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज खिमलाल भट्टराई, पूर्वमुख्यमन्त्री लिला गिरी, नेता दधिराम न्यौपाने, रुपन्देही जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरेसहितका पदाधिकारीसहित प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

बैठकमा आगामी दिनमा पार्टीको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने तथा स्थानीय तहसम्म पार्टीलाई अझ सक्रिय बनाउने विषयमा छलफल केन्द्रित भएको थियो । क्षेत्रगत रूपमा राखेको प्रतिवेदनमा सदस्यता नवीकरण नभएको समस्या उठान भएको थियो । सबै क्षेत्रबाट करिब ५५ प्रतिशत मात्रै सदस्यता नवीकरण भएको रिपोर्ट उनीहरूले राखेका थिए । क्षेत्र नं ४ मर्चवारमा क्षेत्रीय संयोजक रहेका मुस्लिम खानले नेताहरू फिल्डमा नै नगएकाले कार्यकर्ताको नवीकरण गराउन समस्या भएको बताए ।
क्षेत्र नं ५ का संयोजक खड्क कुँवरले संसदीय निर्वाचनमा जनताले दिएको मतलाई बुझेर नयाँ योजना बनाउन नसके अझै कमजोर बन्ने टिप्पणी गरे । ‘अब पुनःगठन गरेर नगए निराश कार्यकर्ता र जनतालाई के जवाफ दिने ? तर सबै एमालेलाई मात्रै दोष दिनेहरू विरुद्ध एकताबद्ध भएर जानुको विकल्प छैन,’ कुँवरले भने । क्षेत्र नं ३ का सुरेन्द्र श्रीले नेता उही, नेतृत्व उही, शैली उही रहेर यो अवस्था आउँदा पनि चेत खुल्न नसके कसरी पार्टी बन्नसक्छ भनेर नेताहरूलाई प्रश्न गरे ।

क्षेत्र नं. २ का संयोजक ऋषिराम पाण्डेले पनि अब पुनःगठन गरेर जान नसके पार्टीले गति लिन नसक्ने बताए । जिल्ला अध्यक्ष गैरेले जिल्ला कमिटीको विस्तारित बैठक तथा मिसन पार्टी जागरण अभियानको अभिमुखीकरण भएकाले पनि धेरै जिम्मेवारीमा रहेकाहरूको सहभागिता भएको उल्लेख गरे । एमालेले केन्द्र, प्रदेश तहबाटै संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार र समृद्ध नेपालको आधार बनाएर कार्यक्रम अघि बढाउन निर्देशन गरेको थियो ।

पार्टी केन्द्रीय सचिव छविलाल विश्वकर्माले जनताका बीचमा नियमित पुग्ने, सरकारका गतिविधिको निगरानी र पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउने एवं विपक्षीले उठाएका भ्रमको तथ्यका आधारमा जवाफ दिने रणनीतिबारे सबै नेताहरू तयार हुनुपर्ने बताए । ‘पार्टीभित्र कसैको कमजोरीको आलोचना गर्न डराउनुपर्दैन, निर्धक्क भएर बोल्नुपर्छ । तर अहिले सरकार र रास्वपाका सबै मान्छे तथा अन्य दल एमालेलाई नै दोष लगाएर बसेको अवस्था छ । त्यसैले उसका कमजोरीका विषयमा पनि चुप बस्नु मिल्दैन,’ विश्वकर्माले भने ।

एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज खिमलाल भट्टराईले पार्टी केन्द्रबाटै पुनःगठनको अभियानको टीम नै बनेर देशव्यापी सुझाव संकलन गरेको र जागरण अभियानलाई पनि पुनः देशव्यापीरुपमा अघि बढाएकाले सबै तहमा आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गरे ।