भोटेकोशी बाढीमा मृतकको संख्या हजार नाघ्यो

–खोज तथा उद्धार तीव्र, बेपत्ताको संख्या पनि बढ्दो

मेचीकाली संवाददाता

१६ भाद्र २०८३, मंगलवार
7 shares

बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो ।

विभिन्न जिल्लाबाट प्राप्त तथ्यांकअनुसार बाढीका कारण हालसम्म चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । यसमा विभिन्न मानव अङ्गहरूसमेत समावेश छन् । विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन् । घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेनामार्फत २ हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको छ ।

बाढीका कारण हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ । बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, क्वारेन्टाइन कार्यालयका ३ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी रहेका छन् । प्राधिकरणका अनुसार रसुवाबाट करिब ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत् आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिकसमेत रहेका छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालित छन् । यसमा नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी सक्रिय छन् । हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र ३ हजार ५०९ नेपाली गरी कुल ३ हजार ७८२ जनाको हवाई उद्धार गरेको छ । निजी क्षेत्रबाट काठमाडौँबाट २९ वटा उडान सञ्चालन भएका छन् । हाल नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

सरकारले प्रभावित जिल्लाहरूमा नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ भने प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । राहत सामग्रीतर्फ ३७ वटा ट्रक र ३७ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । सशस्त्र प्रहरीले ७७ पटक हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ । बुधवार मात्रै नुवाकोटमा १६ र रसुवामा ११ वटा उडानमार्फत राहत पु¥याइएको छ ।

प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सुचारु राख्न ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ । सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सुचारु भइसकेका छन् । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण ३५ वटा पुल क्षतिग्रस्त
भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रमा ३५ वटा पुलमा क्षति पुगेपछि धादिङ, नुवाकोट र रसुवाको सडक सञ्जाल यतिबेला नराम्ररी प्रभावित भएको छ । देशका अन्य भागसमेत गरी देशभरका ४१ पुलमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । र सरकारले अबरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल खुलाउन आपत्कालीन पुनर्निर्माण र बेलिब्रिज व्यवस्थापनको काम तीव्र पारेको छ ।
बाढीले क्षति पु¥याएका सबै पुलहरू एकैपटक स्थायी रूपमा पुनर्निर्माण गर्न लामो समय र ठुलो बजेट लाग्ने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि बेलिब्रिज जडान गरेर अस्थायी रूपमा सडक सञ्जाल जोड्ने रणनीति तय गरेको छ । सोहीअनुसार काम गर्न सडक विभागलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सुशीलबाबु ढकालका अनुसार राष्ट्रिय राजमार्ग र मुख्य सडकहरूको सम्पर्क चाँडोभन्दा चाँडो पुनःस्थापित गर्नु अहिलेको पहिलो प्राथमिकता हो । उनका अनुसार देशभरका मुख्य सडक सञ्चालन गर्न तत्काल कम्तीमा ५ देखि ६ वटा ठुला बेलिब्रिज आवश्यक देखिएको छ ।
हाल सरकारी निकायहरूसँग भएका बेलिब्रिजको संख्याभन्दा पनि आवश्यक लम्बाइ (स्पान) मिल्ने बेलिब्रिजको उपलब्धता मुख्य चुनौती बनेको सचिव ढकाल बताउँछन् । ‘हामीसँग भएका बेलिब्रिजको संख्याको मात्र अर्थ हुँदैन, कुन ठाउँमा कति लम्बाइको पुल चाहिन्छ भन्ने प्राविधिक पक्ष महत्वपूर्ण हुन्छ,’ सचिव ढकालले भने,‘१० वा २० मिटरका र ७०–८० मिटरका बेलिब्रिजको संरचना फरक हुन्छ । हामीसँग ७० मिटर, ८० मिटर वा १०० मिटर लामा बेलिब्रिज पर्याप्त छैनन् । त्यसैले यस्ता लामो प्रकृतिका बेलिब्रिज उपलब्ध गराउन छिमेकी मुलुकहरू चीन, भारत तथा अन्य अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग निरन्तर संवाद भइरहेको छ ।’

सचिव ढकालका अनुसार विपद्को यस अवस्थामा औपचारिकतामा मात्र अल्झिनुभन्दा जहाँबाट चाँडो सहयोग उपलब्ध हुन्छ, त्यहाँबाट सामग्री ल्याएर प्राथमिकताका आधारमा जडान गर्दै जाने नीति सरकारले लिएको छ ।

क्षतिग्रस्त पुल १० देखि २०० मिटरसम्मः सोही लम्बाइका बेलिब्रिज जुटाउन सकस
बाढीले त्रिशूली र भोटेकोशी नदी करिडोरमा क्षति पु¥याएका ३५ वटा पुलहरूको लम्बाइ न्यूनतम १० मिटरदेखि अधिकतम २०० मिटरसम्म रहेको छ । क्षति पुगेका स्थानमा तत्काल यातायात सुचारु गर्न पुलको लम्बाइ (स्पान) अनुसारकै बेलिब्रिज आवश्यक पर्ने भएपछि प्राविधिक व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । सडक विभागको विवरणअनुसार बगेका तथा क्षतिग्रस्त पुलहरूमध्ये अधिकांश ५० मिटरभन्दा लामा छन् । विभागसँग ५० मिटरसम्मका १० वटा र सेनासँग ७३ मिटरका ३ वटा बेलिब्रिज मौज्दात भए पनि ७० मिटरभन्दा लामा स्पानका लागि उपयुक्त बेलिब्रिजको अभाव छ ।

कुन पुल कति लम्बाइका ?
क्षतिग्रस्त पुलमध्ये १०० देखि २०० मिटरसम्मका लामा पुल, ११ वटा, ५० देखि ८६ मिटर लम्बाइका मध्यम पुल ९ वटा, १० देखि ४० मिटरसम्मका साना पुल १५ वटा रहेका छन् । सबैभन्दा लामा पुलहरूमा धादिङको घाटबेँसी (२०० मिटर) र नुवाकोटको केउरिनी–फोस्रेटार (२०० मिटर) रहेका छन् ।

यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गत देवीघाट नजिकको पुल (१९० मिटर), खड्गभञ्ज्याङ–श्रीखली (१८० मिटर), रातमाटे (१५० मिटर), बैरेनी–स्यालटार (१५० मिटर), बुद्धसिंहघाट (१४० मिटर), मस्टार (१४० मिटर), जरेबगैँचा (१२० मिटर), फुर्के खोला (११८ मिटर), तुप्चे (१०० मिटर) र सिमचौर (१०० मिटर) लामा पुलहरू बगेका छन् । यी लामा स्पानमा तत्काल साना बेलिब्रिज राख्न सम्भव हुँदैन । स्याफ्रुबेंसी (८६ मिटर), चिलिमे खोला (७५ मिटर), बेत्रावती पुरानो र नयाँ (७०÷७० मिटर), त्रिशूली बजार पुरानो र नयाँ (६०/६० मिटर), मैलुङ चिप्लेटी (६० मिटर), तादी खोला देवीघाट पुरानो र नयाँ (५५/५५ मिटर) तथा खल्ते नयाँ पुल (५० मिटर) रहेका छन् ।

घट्टे खोला (४० मिटर), बिमली खोला (४० मिटर), कोल्पु खोला पुरानो र नयाँ (४०/४० मिटर), हाकु खोला (३५ मिटर), त्रिशूली ३–ए ड्याम–२ (३० मिटर), फेनलुङ (३० मिटर), बाहुबली झरना पुल (२५ मिटर), कुलुङ (२० मिटर), ठुलो खोला (२० मिटर), त्रिशूली ३–ए ड्याम–३ (१५ मिटर) र क्रसिङ पुल (१० मिटर) रहेका छन् । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बेलिब्रिजको संख्या हुनु मात्र पर्याप्त हुँदैन, पुलको चौडाइ र लम्बाइअनुसारको लोड धान्न सक्ने प्राविधिक क्षमता हुनुपर्छ । साना तथा मध्यम स्पान (५० मिटरसम्म) का पुलहरूमा तत्काल आन्तरिक स्रोत र मौज्दातबाट बेलिब्रिज जडान प्रक्रिया अघि बढाइए पनि ७० मिटरभन्दा लामा संरचनाका लागि सोही साइजका बेलिब्रिज व्यवस्थापन गर्न भारत, चीन तथा दातृ निकायहरूसँग पहल भइरहेको छ ।