बुटवल । भदौ १० गते बिहान ८ः५० बजेतिर बुटवलका अन्श गिरीले बाबा सविरामसँग फोनमा घरको हालखबर सोधे । तीन मिनेट कुराकानीपछि काममा जाने बेला भयो भन्दै फोन राखे । बेलुकी फेरि कुरा गर्ने वाचासहित उनी छुट्टिए । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित राजपुरका १९ वर्षीय गिरी तीन दिनअघि मात्रै काम गर्न रसुवाको त्रिशूली थ्री बी जलविद्युत् आयोजनामा पुगेका थिए । फोनमा कुरा गरेको ४५ मिनेटपछि रसुवाको भोटेकोशीमा ठुलो बाढी आएको खबर आयो ।
फेसबुकमा बाढीका फोटो र भिडियो देखेपछि सविरामको मनमा चिसो पसिहालेको थियो । बाढीले कान्छोलाई कतै अप्ठ्यारोमा त पारेन ? उनले छोरालाई फोन लगाए, सुरुमै सम्पर्क हुन सकेन भन्यो । पटकपटक दोहो¥याएर कल गरे तर फोन लागेन । त्यसपछि बाढीका भयानक फोटो र भिडियो आउन थाले । ११ बजेपछि मोबाइल स्विच अफ भन्यो । सविरामको मनमा डर बढ्दै गयो । त्यसपछि उनले छोरालाई सोमबार बिहानसम्म पनि निरन्तर फोन गरिरहे, कतै चमत्कार भएजस्तै छोराको फोन लाग्छ कि भनेर । तर, मोबाइलमा स्विच अफ मात्रै दोहोरिरह्यो । सविराम भन्छन्,‘कान्छोलाई भदौ १० गतेदेखि आजसम्म पनि कतै फोन लाग्छ कि भनेर रातदिन गरी दश हजारपटक हानेँहुँला, अब त कान्छो आउँदैन होला भन्ने लाग्न थाल्यो । घण्टी पनि जाँदैन । पहिलो घण्टीमै कल उठाएर बाबा दर्शन गरे भन्ने मिठो स्वर पनि सुनिँदैन होला ।’
अन्श सम्पर्कविहीन भएपछि आमा सरस्वती पनि विक्षिप्त छिन् । १३ दिनदेखि सरस्वतीका आँखाबाट आँसु बगिरहेका छन् । ‘अन्शलाई दुःख गरेर पढाएकी थिएँ,’ सरस्वती भन्छिन्, ‘म देशमै केही गरेर तपाईहरूलाई सुखका साथ पाल्छु भन्थ्यो । ऊ हराएपछि भोकनिद्रा सबै हराएको छ । अझै सकुशल फर्कियोस् भन्दै भगवानसँग प्रार्थना गरेकी छु ।’
गत फागुन २८ गते रसुवामा काम गर्न गएका अन्श चिलिमे जलविद्युत् आयोजनामा काम गरेर साउन २८ गते घर आएका थिए । एक साता घर बसेपछि चिलिमेपछि त्रिशूली थ्री बीमा काम गर्न भदौ ७ गते मात्र उनी घरबाट त्यहाँ पुगेका थिए । त्यहाँ पुगेको तीन दिनपछि आएको बाढीमा परेर उनी सम्पर्कविहीन छन् । बाबा सविराम भन्छन्,‘दशैँमा आउँछु भनेर गएको छोरा अब फर्किने आशा कम छ । बाढी आएपछिका १३ दिन १३ वर्षभन्दा लामा भए । देशमै काम सिकेर घरपरिवारको भविष्य बदल्छु भनेर निस्किएको छोरा आउने आशा कम भयो ।’
अन्श सबैसँग मिलनसार थिए । छिमेकी तथा साथी अनुज पुनसँग उनी हाइड्रोपावरमा सिक्दै काम गर्न त्रिशूली पुगेका थिए । अनुज पनि सोही बाढीमा परेर सम्पर्कविहीन छन् । सानैदेखि लगनशील र देशमै केही गर्छु भन्ने अन्श रम्भादेवी टेक्निकल कलेजबाट प्लस टु होटल म्यानेजमेन्ट (एचएम) पूरा गरेर बुटवलको कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआइटी) बाट तीन महिने वेल्डिङ तालिम लिएपछि हाइड्रोमा काम गर्न गएका थिए ।
बेपत्ता भएपछि उनको खोजीमा काका खेमु गिरी र मामा शिवु गिरी काठमाडौं हुँदै बेत्रावतीसम्म पुगे पनि केही पत्ता लागेन । पोखरा, चितवन, काठमाडौं, नवलपरासीदेखि बुटवलसम्म सबै अस्पतालमा सास कि लास भए पनि पाउन सकिन्छ भनेर भौतारिए तर अन्शको कुनै पत्ता लागेन । अहिले परिवार आशा मारेजस्तै अवस्थामा पुगेको छ । आमा सरस्वती भन्छिन्,‘जन्म दिएको आमा हुँ, छोरा छैन होला भन्ने मनले मान्दैन । अझै पनि आउला भन्ने आशा मारेकी छैन ।’ अन्शका मामा भन्छन्,‘खोजीका लागि नेपाली सेनादेखि सबै क्षेत्रलाई अनुरोध गरियो । आफैँ खोज्न र बेत्रावतीमाथि जान नपाएपछि फर्किएर आएका छौं । शव नदेखिँदासम्म त आशा कसले मार्न सक्ला र ? तर, फर्किने सम्भावना निकै कम छ । के गर्ने, यस्तो विपत्ति कहिल्यै नआओस् भन्ने कामना गर्नुको विकल्प भएन ।’
