बुटवल । बडादसैँको अवसरमा बुटवलमा ‘टीभीएस दसैँ महा एक्सचेन्ज इभेन्ट’ आयोजना हुने भएको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरका ग्राहकलाई लक्षित गरी असोज २२ देखि २८ गतेसम्म सात दिने मेला आयोजना गर्न लागिएको हो । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको बुटवलस्थित आधिकारिक डिलर बालाजी अटोमोबाइल्सले मेला आयोजना गर्न बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेला भाटभटेनी बुटवलको छेउमा दक्षिणतर्फ सञ्चालन हुनेछ ।
मेलामा ग्राहकले टीभीएसका विभिन्न मोडल खरिद गर्दा एक्सचेन्ज, फाइनान्स, नगद छुट, उपहार तथा टेस्ट राइड लगायतका विशेष सुविधा प्राप्त गर्नेछन । बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालका अनुसार मेला अवधिभर टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुटसहित विभिन्न आकर्षक स्किम प्राप्त गर्न सक्नेछन । त्यस्तै, निश्चित उपहार योजनाअन्तर्गत ‘गोल्डेन की’ वा शत प्रतिशत क्यासब्याकको अवसरसमेत राखिएको छ । “चाडपर्वको खुसीलाई थप उत्साहजनक बनाउन बुटवलवासी ग्राहकका लागि विशेष मेला आयोजना गरेका हौँ,” जैसवालले भने ।
मेलामा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न चाहने ग्राहकलाई उच्चतम मूल्यांकनको सुविधा उपलब्ध गराइनेछ । साथै, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा सहज फाइनान्स सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको धनिराम भुसालले जानकारी दिए । स्कुटर खरिद गर्ने ग्राहकले निःशुल्क एसेसोरिज प्राप्त गर्नुका साथै लक्की ड्रमार्फत प्रत्येक दिन एक जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने अवसरसमेत प्राप्त गर्ने उनले बताए । त्यस्तै, टीभीएसका इलेक्ट्रिक स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध गराइनेछ । इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकबीच हुने साप्ताहिक लक्की ड्रमार्फत प्रत्येक हप्ता एक जना भाग्यमानी ग्राहकले २।५ ग्रामको सुनको सिक्का जित्ने अवसर पाउनेछन ।
मेलामा नयाँ सवारी खरिद गर्न नचाहने ग्राहकले पनि टेस्ट राइड गरेर आकर्षक उपहार प्राप्त गर्न सक्ने बालाजी अटोमोबाइल्सका प्रतिनिधि शिव शर्मा पौडेलले बताए । बुटवलमा टीभीएसको विद्युतीय स्कुटरअन्तर्गत टीभीएस आइक्युब ३।० र ३।५ भेरियन्टसँगै टीभीएस अर्बिटर इलेक्ट्रिक स्कुटरसमेत उपलब्ध रहेको बालाजी अटोमोबाइलका डाइरेक्टर अविनव थापाले बताए । दसैँको अवसरमा आयोजना हुने सातदिने मेलाले बुटवल तथा आसपासका ग्राहकलाई नयाँ पुस्ताका पेट्रोल तथा विद्युतीय सवारीसाधन अवलोकन, टेस्ट राइड तथा विशेष अफरमा खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
