मेचीकालीकर्मी प्रकाश आचार्य पुरस्कृत

मेचीकाली संवाददाता

२४ आश्विन २०८३, शनिबार
4 shares

बुटवल । मेचीकाली राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार प्रकाश आचार्य बुटवल उद्योग वाणिज्य संघबाट पुरस्कृत भएका छन् । संघले ७३ औँ साधारणसभा तथा २६ औँ अधिवेशनका अवसरमा बुटवलमा रहेर विगत लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका आचार्यलाई स्थानीय आर्थिक विकास लेखनवृति प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

आचार्यलाई नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, संघका अध्यक्ष हरिप्रसाद अर्याल, पुरस्कार छनौट समितिका संयोजक संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलगायतले नगदसहित दोसल्ला ओढाएर पुरस्कृत गरेका हुन् ।
यस्तै संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार स्व.डायलसन अधिकारी मरोपरान्त प्रदान गरिएको छ । भने संघले विधागत पत्रकारिता पुरस्कारबाट अन्य ५ जना पत्रकारलाई पनि सम्मान गरेको छ । महिला उद्यमी प्रर्वद्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकमा कार्यरत रेखा भुसाल, नवउद्यमी प्रवद्र्धन लेखन वृद्धि प्रोत्साहन पत्रकारिता पुरस्कारबाट हिमाल प्रेसमा कार्यरत विनोद परियार, औद्योगिक विकास प्रवद्र्धन लेखन वृद्धि प्रोत्साहन पत्रकारिता पुरस्कारबाट दैनिक पत्रमा कार्यरत तेजेन्द्र केसी, पर्यटन प्रवद्र्धन लेखनबृति प्रोत्साहन पत्रकारिता पुरस्काबाट बुद्ध परिपथमा कार्यरत सुदीप भण्डारी र वाणिज्य क्षेत्र प्रवद्र्धन लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट समतल अनलाइनमा कार्यरत सन्तकुमार श्रेष्ठ सम्मानित भएका हुन् । उनीहरुलाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसैगरी संघले विधागत रुपमा ५ जना उद्यमी तथा व्यवसायीलाई सम्मान गरेको छ । संघले उद्योगतर्फ फस्ट च्वाइस फुड्स पब्लिक लिमिटेडका कृष्णप्रसाद पौडेल, उत्कृष्ट व्यवसायी वाणिज्यतर्फ हैण्डलुम इन्टरप्राइजेजका अजहरुल हसैन, कृषितर्फ शाह ब्रदर्श मल्टिप्रपोज प्रालिका नुरुद्धिन शाह, महिलातर्फ सिद्धार्थ डेरी उद्योगकी गीता भट्टराई र सेवा क्षेत्रबाट महिमा टुर्स एण्ड ट्रावल्स प्रालिका अनिलमान श्रेष्ठलाई सम्मान गरेको छ ।