तिहार: सम्बन्ध, प्रकृति र समृद्धिको सांस्कृतिक उत्सव

मेचीकाली संवाददाता

२२ कार्तिक २०८३, शनिबार
1 shares

घनश्याम कोइराला

तिहार आयो । सनातन पर्वहरू आउनासाथ केही न केही विवादास्पद विषय अघि आइहाल्छ । यो तिहार पनि यसबाट अछुतो हुन कसरी सक्छ र ? चाडर्वहरू यत्तिकै बनेका हुँदैनन् । मानिसले निर्धारण गरेका तिथि मितिअनुसार नै आउँछन् । खास सन्दर्भबाट पर्वहरू बनेका हुन्छन् । ती सन्दर्भ मिचियो भने पर्व त हुन्छ तर त्यसको सार रहँदैन । त्यसैले पर्वबारे बुझ्दा आधार र सन्दर्भसहित बुझ्नुपर्दछ । हो, मनाउने विषय त देश, काल, परिस्थिति अनुसार घटाउन वा बढाउन सकिएला । तर, अर्थको अनर्थ हुने गरी घटाउनु वा बढाउनु उचित हुँदैन ।

हाम्रो महान् चाड तिहार (यमपञ्चक) आइसकेको छ । पाँच दिनसम्म उल्लासपूर्वक मनाइने यो पर्वलाई कतिपय मानिसहरूले गहिरो अर्थ र सांस्कृतिक आयाम नबुझी केवल ‘दीपावली’का रूपमा र कतिपयले ‘भाइटीका’ को रूपमा मात्र बुझ्ने गरेको पाइन्छ । वास्तवमा यो पर्व एकदुई दिनको झिलिमिली पर्वको रूपमा मात्र सीमित पर्व होइन ।
‘भाइटीका’ भन्नाले दाजुभाइ–दिदीबहिनीबीच टीका लगाइने पर्व भन्ने बुझिन्छ र यो यस पर्वको एउटा प्रमुख कर्म हो । तर, शास्त्र र परम्पराअनुसार यो पर्व केवल एक दिनको नभई ‘यमपञ्चक’ अर्थात् पाँच दिनको एक विस्तृत शृंखला हो । तिहार र यसका पूजनीय पक्षहरूलाई उज्यालो बनाउन सुरुदेखि नै दीप प्रज्वलन गर्नुपर्ने भएकाले यी दिनहरूलाई केवल एक दिनको सीमामा बाँध्नु यसको बृहत् सांस्कृतिक स्वरूपप्रतिको अन्याय हुन जान्छ ।

सांस्कृतिक हिसाबले तिहारको नामकरण र यसको समग्र स्वरूपलाई अझ गहिरो रूपमा बुझ्न आवश्यक छ । पौराणिक हिसाबले यो पर्व ‘यमपञ्चक’ हो भने नेपाली विशिष्टतामा यो ‘तिहार’ हो । क्रियाकलापको हिसाबले मनोरञ्जनका लागि तास खेल्ने (यद्यपि जुवा खेल्नु राम्रो होइन, गैरकानुनी विषय पनि हो), दीपावली गर्ने, सेलरोटी पकाउने, मीठो खानेजस्ता गतिविधि यसैभित्र पर्दछन् । यस लेखमार्फत हामी तिहारको बहुआयामिक पाटोमाथि गहिरो चर्चा गर्नेछौँ ।

तिहारको साङ्गोपाङ्गो परिचय र पौराणिक मान्यता
हामी नेपालीहरू तिहारलाई पाँच दिनसम्म धुमधामका साथ मनाउँछौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल प्रतिपदा (द्वितीया) सम्म मनाइने यस पर्वको दार्शनिक स्वरूपलाई शास्त्रमा ‘यमपञ्चक’ भनिएको छ । हामी अधिकांश नेपालीहरू यसलाई ‘तिहार’ भन्दै र मान्दै आएका छौँ ।

भाषिक हिसाबले ‘तृतीया’ शब्दबाट विकसित भएको मानिने ‘तिहार’ नेपाली जनजीवनको प्रिय पर्व हो । यो कुनै एक दिवसीय औपचारिक उत्सव होइन, यो कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्मको अर्थपूर्ण र भव्य उत्सव हो ।

पौराणिक मान्यताअनुसार, यी पाँच दिन मृत्युका देवता ‘यम’ आफ्नी बहिनी ‘यमुना’ घरमा आएर बसेका थिए । व्यस्त र कर्तव्यनिष्ठ यमराजले आफ्नी बहिनीको घरमा बसेर विश्राम र पर्व मनाएकाले यमुना धेरै खुसी भइन् र सबैलाई यस्तै गर्न प्रेरित गरिन् । यो दाजुभाइ–दिदीबहिनीबीचको प्रेमको प्रतीक हो, जसबाट आजका दाजुभाइ–दिदीबहिनीले प्रेरणा लिनुपर्छ । यद्यपि, यमपञ्चकसँग यति मात्र सम्बन्ध छैन, यसका अन्य विविध आयामहरू पनि छन् । ऋग्वेदमा यसबारे थप विशेष उल्लेख पढ्न पाइन्छ ।

चाडपर्वको आर्थिक, व्यावसायिक र सामाजिक पाटो
चाडपर्वहरू आर्थिक तथा व्यावसायिक अवसर पनि हुन् । यस्ता अवसरमा बजार चलायमान हुन्छ, जसले गर्दा चाडपर्वको प्रभाव घरपरिवारमा मात्र सीमित नभई बजार र अर्थतन्त्रसम्मै विस्तृत हुन्छ । व्यापारीहरूले बिजुलीका बत्ती, तिहारका सामग्री, पटाका आदिका प्रसङ्गमा आकर्षक र बजारीकरणपूर्ण विज्ञापन गर्छन् । यस्ता विज्ञापनमा चाडपर्वको ‘शुभकामना’ जोडिएर आउनु स्वाभाविक हो ।

तर, शुभकामना दिने क्रममा केही विकृतिहरू पनि देखिन थालेका छन् । दिनको १८–२० घण्टा सामाजिक सञ्जालको दौडधूपमा व्यस्त रहनेहरूले तिहारमा आफै शुभकामना पठाउनुको सट्टा अरू कसैले बनाएका रेडीमेड शुभकामना सन्देशहरू जस्ताको तस्तै (कपी–पेस्ट गरी) पठाउने प्रवृत्ति बढेको छ । यसो गर्दा आफ्नै भावनाको मौलिकता हराएर जान्छ । आफैंले दुई–चार शब्द लेखेर पठाएको शुभकामनामा नै आत्मिक आनन्द र आत्मीयता हुन्छ । परम्परागत मौलिकतालाई जोगाउन कागजी वा डिजिटल सन्देशमा पनि आफ्नैपन झल्किनु आवश्यक छ ।

प्रकृतिका विभिन्न पाटा र तिहारको पूजापद्धति
कुनै पनि चाडपर्व माउने विषय मानिसको काम, पेसा, साधनस्रोत, समयको उपलब्धता, आवश्यकता र व्यवस्थापनमा आधारित हुन्छ । हिन्दू समुदायका सबैले तिहारमा समान रूपले सबै कर्म गरे पनि परम्परागत रूपमा व्यापारी वर्गले ‘धनतेरस’मा, किसान वर्गले गाई, कुकुर, गोरू (गोवद्र्धन) पूजामा र चिकित्सा क्षेत्रले धन्वन्तरि जयन्ति र स्वास्थ्यको महत्वमा विशेष ध्यान दिएको पाइन्छ ।

त्रयोदशी अर्थात् यमपञ्चकको पहिलो दिन–काग तिहार मनाइन्छ । काग–कौवालाई यमराजको सन्देशदाताको रूपमा मान्ने मान्यता रहिआएको छ । यस दिन चिकित्सा क्षेत्रका मानिसहरू प्राचीन चिकित्सा प्रणालीका प्रयोक्ता भगवान् धन्वन्तरिको जन्मोत्सव मनाउँछन् । यद्यपि, यो यमपञ्चकसँग सम्बन्धित भने होइन । विशेष गरी आयुर्वेदले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।
यमपञ्चकको दोस्रो दिन कुकुर तिहार अर्थात् नरक चतुर्दशीको पर्दछ । यस दिन कुकुरको पूजा गरिन्छ । ‘श्वान–कुकरबाट पाँच कुरा सिक्नू’ भन्ने शास्त्रोक्त मान्यता छ ।

गाई तिहार र लक्ष्मीपूजाः
कार्तिक कृष्ण अमावस्या (औँसी) का दिन गाईको पूजा गरिन्छ । गाईका दुध, मलमूत्र र कृषि उपजका लागि आवश्यक मलखादका कारण यसलाई समृद्धि र स्वास्थ्यसँग जोडेर हेर्न सकिन्छ । औँसीको रातमा अँध्यारोलाई पराजित गर्न दीपावली गरी प्रचुर मात्रामा बत्ती बालिन्छ । यसबाट मानवीय प्रयासले अँध्यारोलाई जित्न सकिन्छ भन्ने प्रेरणा पाइन्छ । खासगरी यही कारणले कसै कसैले यो सिङ्गो पाँच दिनको पर्वलाई दीपावलीमा खुम्च्याउने गर्दछन् ।

गोवद्र्धन पूजाः
प्रतिपदाको दिन गोरूको पूजा गरिन्छ । मानव जीवनका लागि आवश्यक अन्नबाली उत्पादनमा गोरूको भूमिकाको सम्मान नै गोवद्र्धन पूजाको अन्तर्य हो । नेवार समुदायमा यसै अवसरमा ‘म्हः पूजा’ (आत्मपूजा) गर्ने परम्परा छ, जसले व्यक्तिभित्रको आत्मालाई सम्मान गर्न सिकाउँछ, यो तिहारको अत्यन्त मौलिक र दार्शनिक पाटो हो । नेपाल र नेवार समुदायबाहेक अन्यले म्ह पूजा गरेको पाइँदैन ।

भाइटीकाः
यमपञ्चकको पाँचौँ दिन–अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीयालाई ‘भाइटीका’ (भातृ द्वितीया) भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्छन् भने दाजुभाइले पनि गच्छेअनुसार उपहार तथा दक्षिणा दिन्छन् । यो दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय र पवित्र सम्बन्धको पर्व हो । यसको सबैभन्दा ठूलो सार यसैमा छ ।

तिहार केवल पाँच दिनको रमाइलो वा एकदिने ‘दीपावली’ वा ‘भाइटीका’ मात्र होइन, यो जीवनलाई हेर्ने र बुझ्ने एउटा सुन्दर दृष्टिकोण हो । ‘यम’ भनेको अनुशासन वा पालना गरिने नियम हो (जस्तैः अस्तेय, अहिंसा, सत्य) हो भने नियम हो भने के गर्नु हुँदैन भन्ने विषय हो । यी चाडहरूले जीवनलाई अनुशासित र मर्यादित बनाउन सिकाउँछन् ।

त्यसैले, तिहारलाई केवल ‘दीपावली’, ‘भाइटीका’मा मात्र सीमित कर्ममा मात्र नबाँधौँ । काग, कुकुर, गाई, गोरू, प्रकृति, धन, स्वास्थ्य, दाजुभाइ तथा दिदीबहिनीको आपसी प्रेम र समग्र जीवनलाई उत्सवमय बनाउने महान् पर्व ‘तिहार’ लाई यसको पूर्ण मौलिकता, पाँच दिने अवधि र गहिराइमा बुझौँ । यमपञ्चक–सुन्दर तिहारको शुभकामना ! (लेखक कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)