वर्षैपिच्छे तिहारमा टल्किएको मेरो खाली निधार !

मेचीकाली संवाददाता

६ कार्तिक २०७९, आईतवार
348 shares

दिलप्रसाद पौडेल
भाइटिकामा दिदीबहिनी र भाइ बनेर हाम्रो भेट कहिल्यै हुन पाएन । परिस्थितिको अनगिन्ती जंघार अनि बेकसुर अल्मलिएका भाग्यका नजानिदा रेखाहरु बटारिएपछी थाकेर म बिदेशिएको वषौँ बितेछ । रहर त मलाई पनि स्वदेशमा नै सानो तिनो ईलम गरेर बस्ने थियो तर देशको अस्थिरता कोरोना र महङ्गीको हिमचुली दिनदिनै अग्लिएपछी बाध्य भएर अरब भासिनु परेको छ ।

आजभोलि मेरो भाग्य भन्दा पनि, हामीजस्तो लाखौं युवाहरुलाई देशमै रहन सक्ने वातावरणको सिर्जना गर्न नसक्ने नेताहरु देख्दा निकै रिस उठ्छ । यदि हामिले हाम्रै देशमा रोजगारी पाउने थियौं भने, यसरी अरबमा ५५ डिग्रीको गर्मीमा काम गर्नु पर्ने थिएन होला । आउनत हरेक बर्ष आउँछ दशैं र तिहार, मेरो कानमा बेस्सरी चिच्याउदै आउँछ तर म भने सुनेको नसुनै गरेर टारिरहेको हुन्छु किनकी यो मेरो रहर नभएर बाध्यता थियो । त्यो बेलाको अविस्मरणीय सम्झनाहरु आजभोलि मेरो मनभरी छरपष्ट छन ।

सबैका दिदीबहिनीले दाजुभाईलाई टीका र माला लगाउदै गर्दा म अरब को तातो घाममा बगैंचा मा पानी हालिरहेको हुनेछु । अझै पनि निकै गर्मी छ यहाँ तर के गर्नु सबैका निधारमा सप्तरङ्गी टिकाको लाईन हुदा मेरो निधारभरी पसिनाका थोपाले तप्प तप्प सिंचाईरहने छ । ती कुराहरु सम्झदा मात्र पनि निकै नमज्जा लाग्नेछ म सानो हुदाको तिहार कति रमाइलो हुन्थ्यो, भाइटिकाको दिन सबैका दिदीबहिनीले कलस र दीयोको पुजा गरेर बिमोरो अगाडि राखेको देख्दा निधारभरी सप्तरङी टीका लगाइदिदा र मखमली, सयपत्री र दुबोको माला पहि¥याईदिदा । उनै दाजुभाईहरुको दीर्घायु र सु–स्वास्थ्यको कामना गर्छन र भन्छन होला मखमली फूल कहिल्यै नओइलाओस, सयपत्रीको रङ्ग कहिल्यै उडेर नजाओस र दुबो सधैं हरियौ रहिरहोस । र यमराजसंग बाचा गर्दा मखमली नओइलिए सम्म, सयपत्रीको रंग नउडेसम्म, र दुबो हरियो रहिरहे सम्म मेरो दाजुभाइलाई लिन आउन पाउदैनन भनेर दैलोमा ओखर फुटाल्छन होला ।

अरबको गर्मी सायाद स्वदेशमा हुनेहरुलाई थाह नै हुदैन । यहाँ निधारको पसिना पुछ्दा– पुछ्दै कतिको त भाग्य रेखा नै मेटिसकेको हुन्छ र रातो बाकसमा घर फर्कन बाध्य हुन्छन् । यसको जिम्मेवारी हामी जस्तो युवाहरुलाई स्वदेशमै रोजगारिको वातावरण सिर्जना गर्न नसक्नेहरुले लिनुपर्थ्यो तर लिदैनन् । यो समस्या हामीले दैनिक भोगिरहन बाध्य बनेका छौं । म अरब आएदेखी कहिल्यै मेरो मनको बगैंचामा सयपत्री फुलेनन्, मखमली फुलेनन् र मेरो गलामा दुबोको माला पहिरिन कहिल्यै जुरेन कहिले काहीँ दिदी बनाएर पुराना याद मेटाउनकसैलाई आग्रह गरिएहोला आज तिनै यादहरु भुमरिजस्तै भएर आइरहन्छ मनभरी । सम्झदा सास रोकिन्छ कि झै हुन्छ । ती दुर्लब यादहरुले मनभरी सम्झनाको जेउरो बाटिरहन्छ र उकुसमुकुसको गांठो पारिरहन्छ । अनि सम्झनाको कुहिरोले ढाकीएको बेला आँखामा हिउँ पग्लिएर परेलाहरु भिजेका हुन्छन । अब भने मलाई समय छैन । बगैचा मा पानी हाल्दा हाल्दै कति शब्दहरु त पसिना र आँसुले भिजेर अस्पष्ट बने होलान ।

म खजुरको बोट्मुनी हिडिरहेको छु । एउटा मात्र बोट म¥यो भने पनि, मेरो जिन्दगी बर्वाद हुन्छ । त्यसैले पनि म खजुरको बोट्मुनी बसिरहनु पर्छ । चलचित्रमा देखाइने रङीन दृश्य र नाटकीय प्रहसन मात्र भाईटिका होइन रहेछ मरुभूमिमा पानी हाल्दा हाल्दै छुर्पीजस्तो खबुस टोकेर पसिना बगाउदै घरको सम्झनामा दिन बिताउनु पनि जिन्दगी रहेछ जुन मैले भोगिरहेको छु रहरले होइन बिबशताले । घरमा देउसी र भैलो खेल्न आएकाहरु देख्दा र तिहारमा मेरो अनुपस्थितिले कसैको चित्त दुख्नु नौलो कुरा भएन । अनुहारमा उदासिनताको बाक्लो बादल छ तर मन बुझाएर बसेको छु ।म जस्तै लाखौं दिदीबहिनी बिनाका टुहुरा भाइहरु बिदेशमा छन । मुस्कुराउन पो धेरै बहानाहरु चाहिन्छ रोइदिन तिनै बिगतका केही पलहरुको याद नै काफी हुदोरहेछ ।

म अरब आएदेखी हरेक दशैं र तिहारमा घर जान पाउ भनेर बिदाको लागि कामना गर्छु अप्सोच फैसलाहरु कहिल्यै मेरो भागमा परेनन् । त्यसैले पनि कालो वादलले ढाकिरहेको मनमा जूनको उज्यालो कहिल्यै फुलेन । त्यसैले कहिलेकाही सपना बाट बिउझिंदा वा कल्पना गर्दा बर्बराउने गरेको छु । न त दशैंमा आशिर्वाद दिने बाउ आमा छन न तिहारमा दिदीबहिनी । यसपाली पनि मेरो तिहार अधुरै रह्यो आशा छ आगामी बर्षमा दिदी जहाँ भएपनी आउने छिन र त्यहिबेला बेस्सरी अंगालो बेरेर रोईदिनेछु । जदौ ।।
जैमिनी, १० बागलुङ
हाल कुवेत