डी.आर.घिमिरे
कपिलवस्तु जिल्ला कुनैबेला नेकपा एमालेका लागि गणनामा आउँदैनथ्यो । पूर्वी उत्तर क्षेत्रबाट एक सिटका लागि नेपाली कांग्रेससँग कडा प्रतिस्पर्धा हुन्थ्यो । यहाँ प्रायः जितनै हासिल हुन्थ्यो । नभए पनि निकटतम प्रतिद्वन्द्वी पक्का हुन्थ्यो । नेपाली कांग्रेसले पनि सो ठाउँबाट आशा गर्दथ्यो किनकि सो क्षेत्रमा दीपकुमार उपाध्यायजस्ता सबैका मन जित्न सक्ने तुलनात्मक रुपमा जनताका सेवक, मिलनसार व्यक्ति थिए । दक्षिण र पश्चिम क्षेत्र मधेस बाहुल्य भएका कारण तरल मत हुन्थ्यो । विभिन्न ढंगले प्रभावित हुन्थ्यो । कम्युनिष्ट पार्टीले जित हासिल गर्ने कुरा असम्भवनै हुन्थ्यो ।
यो पंक्तिकार स्वयं कपिलवस्तुको स्थायी बासिन्दा थियो कुनैबेला । पञ्चायतकालको कुरा हो, हाल बिजयनगर गाउँपालिका साविक पत्थरदेइया गाविसको भुवनेश्वरी निमावि पछि माविमा शिक्षण पेशा गरिरहँदा मैले बुझेको कपिलवस्तुको राजनीति भनेको शाह परिवार, रजौरिया परिवार, भगवानदास गुप्ता र दीपकुमार उपाध्यायमा केन्द्रीत हुन्थ्यो । कृष्णनगरमा अर्घाखाँचीवाट गएका बेल्वासे परिवारको पनि रजगज थियो । राजनीति यिनीहरुकै वरिपरि घुम्थ्यो । सवैका आ–आफ्ना गुण र विशेषता थिए । कुनैन कुनैलाई सहारा नलिई वाँच्न सकिँदैनथ्यो ।
पूर्वी कपिलवस्तु हाल वाणगंगा नगरपालिकाअन्तर्गत पर्ने क्षेत्रबाट सो स्थानमा स्थानान्तरण गरिएको थियो । खासगरी चौवाहा (परिवर्तित नाम डालपुर), बेतनी (विजयनगर), उप्टाहा–४ नं.(प्रेमनगर) बगाहालगायतका स्थानबाट सुकुम्वासीलाई स्थायी बसोबासको व्यवस्था मिलाउन पत्थरदेइया र खुरहुरियाको ठूलो जंगल क्षेत्रमा लगिएको थियो । कम्युनिष्ट भनेपछि बोल्न पनि डर लाग्ने अवस्था थियो । मैले त्यतिबेलै हो, अहिले नेकपा एमालेको १ नं. क्षेत्रका उम्मेदवार बलराम अधिकारीलाई चिनेको र जानेको । राजनीति बुझेका, शिक्षण पेशाको माध्यमबाट संगठन विस्तार गर्न खोज्ने अधिकारी मिलनसार थिए । मलाई त्यस्तो ठाउँमा उनी भेट्दा खुशी लाग्यो । राम्रै सद्भाव भयो । उनले पनि सुन्दरी डाँडामा विद्यालय खोलेर अध्यापन गर्न थाले ।
सुकुम्वासीका नेता थिए, बलबहादुर थापा । उनको रजौरियासँग राम्रो सम्बन्ध थियो । एकआध पटक उनकै कारण म पनि रजौरियाको घरमा पुगेको थिएँ । खासगरी गुरुप्रसाद रजौरिया हँसिला, गोरा, दाडी पालेका जतिबेला पनि चिटिक्क परेर हिँड्थे । अहिले तिनै बलबहादुर थापाको छोरा गोपाल थापा नेकपा एमालेको तर्फबाट सिंगो विजयनगर पालिकाको अध्यक्ष भएर दोस्रोपटक नेतृत्व सम्हालेका छन् । केही दिन अघि समाचार पढ्दै थिएँ सो पालिका पूरै एमालेमय बनाएछन् । यो भनेको कपिलवस्तुको हकमा पश्चिमबाट सूर्य उदाएको हो ।
उनले त्यत्तिकै सूर्य उदाउने अवस्थामा पु¥याएका हैनन् । आफ्नो कर्मले नै हो । चन्द्रौटाबाट हिँडेर जानुपर्ने ठाउँमा शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमार्फत पहुँच मार्गको रुपमा आरटिओ रोडसम्म पक्की सडक बनाएर सहज बनाएका छन् । सुराई खोलामा पक्की पुल बनेपछि सुराई पारिका दुर्गम क्षेत्र सुगममा परिणत भएका छन् । यसमा प्रदेश सभासद विष्णु पन्थी र तत्कालिन संविधानसभा सदस्य बलराम अधिकारीको उल्लेख्य भूमिका रहेको छ ।
शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फबाट नेत्र अधिकारी नेतृत्वको टिम आएपछि पाँच वर्षमा १ सय किलोमिटर सडक पिच भयो । ५ वटा झोलुंगे पुल बने । आधारभूत अस्पताल बन्यो । शिक्षाको विकासका लागि नयाँ शिक्षक भर्ना गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा आमुल परिवर्तन भयो । जसका कारढा बसाइसराइमै ब्यापक फेरवदल भयो । अर्घाखाँची, प्युठान र रोल्पाबाट यसबीचमा १५ हजारजति मानिस थपिए । शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारले प्रदेशस्तरीय ५० शैयाको नसर्ने रोगको अस्पताल बनाउने क्रममा ५० करोडको टेण्डर प्रक्रियामा गएको छ । रिफ्रेस सेन्टर पूरा भइसकेको छ । खेल मैदान बनिरहेको छ ।
उता भगवानपुरतिर जाने सडक सहज वनाउन बेलौतेदेखि बानिया पहाडमा पुल बनेको छ । चनौटा–हल्लानगर–त्रिपालनगर सडक पूरा हुने क्रममा छ । हुलाकी सडकको रुपमा कृष्णनगरदेखि पश्चिमबाट सिर्सिहवा–गुगौली–लोहोरौला–भगवानपुर सडक पहाडको फेदीसम्म पुगेको छ । न्याउगञ्ज गुगौली पश्चिमबाट जौवाराट जाने पुल बनिनै सक्यो । थरौली जाने झोलुंगे पुल तयारनै भयो । यस क्षेत्रका लागि यी आयोजनाहरु गेमचेन्जर हुन् भन्दा फरक पर्दैन । वषौंदेखि असाध्यै दुःख पाएर बसेका यस क्षेत्रका नागरिकको मुहारमा चमक ल्याउने काम एमालेलेनै ग¥यो ।
त्यसो त अहिले रुपन्देहीका कतिपय ब्यक्तिहरु सडक पुल किन चाहियो ? मानवीय विकास खै भनेर सामाजिक सञ्जालमा चिच्याएको पाइन्छ । तर, उनीहरुलाई के थाहा ? बिरामी भएर अस्पतालमा जानका लागि गाडी नहिँड्दा कुन आपत पर्छ ? वर्षामा पुल नहुँदा रातभरि खोला घट्ला र तरौंला भनेर कुरेर वस्नुको पीडा कस्तो हुन्छ ? खोला तर्न नसकेर बिरामीको उपचार गर्न नपाई मृत्युवरण गर्दाको पिडा कस्तो हुन्छ ? बिहान विद्यालय गएको बच्चा साँझ खोला तर्न नसकेर नदीको किनारमा बस्स्नुको पिडा कस्तो हुन्छ ? त्यसैले मानौं वा नमानौं पूर्वाधारको विकास अनिवार्य आवश्यकता हो । यसैले त अहिले कपिलवस्तुको पश्चिमबाट सूर्य उदाएको छ ।
चुनाव उम्मेदवारको व्यक्तित्वले प्रभावित हुन्छ नै । त्यसबाहेक स्थानीय तहबाट हुन सक्ने सहयोग गर्न सकियो भनेपनि निर्वाचन प्रभावित हुन्छ । जनताको सुखदुःखमा साथ सहयोग दिने, क्षेत्रको विकासमा योगदान गर्नसक्ने उम्मेदवार नै जितको नगिच हुने गर्छन् । बिजयनगर गाउँपालिका र शिवराज नगरपालिकाले गरेका काम पनि पश्चिमबाट सूर्य उदाउनुको अर्को प्रमुख कारण हो ।
यो पटक कपिलवस्तुका उम्मेदवारको ब्यक्तित्वले पनि विजयको संकेत दिएका छन् । खासगरी बलराम अधिकारी राजनीतिमा निरन्तरताको पर्याय हो भने सो क्षेत्रमा प्रदेश सांसदका उम्मेदवार बिष्णु पन्थी परीक्षामा उत्तीर्ण भइसकेका व्यक्ति हुन् । जनतासँग असाध्यै मिल्नसक्ने, सबैका काममा हातेमालो गर्न सक्ने, आवश्यकताको पहिचान गर्नसक्ने पन्थी विपक्षले पनि रुचाइएका ब्यक्ति हुन् ।
उता २ नं. क्षेत्रका उममेदवार बृजेष गुप्ता सबैभन्दा कम उमेरमा राजनीतिमा आएर सफल भएका व्यक्ति हुन् । उनी पेशाले इन्जिनियर पनि हुन् । यसको अर्थ प्राविधिक रुपले जानकार छन् । कपिलवस्तुमा भगवानदास गुप्ता जनताको नजरमा असाध्यै प्रिय व्यक्ति हुन् । उनी जतिन्जेल जीवित रहे त्यतिञ्जेल राजनीतिकै माध्यमबाट जनताको सेवा गरे । पञ्चायतकालमा पनि कांग्रेस कम्युनिष्ट सबैले प्रशंसा गर्ने एउटा पात्र उनै थिए ।
उनको सरलता, प्रस्तुति, जनतासँगको सामिप्यता गजवको थियो । उनकै उत्तराधिकारका रुपम बृजेश उदाए । जुनसुकै पार्टीबाट उम्मेदवार भएपनि जित हासिल गर्नसक्ने ब्यक्तित्व बनेको छ बृजेशको । यस अघि स्वतन्त्र तर, सूर्य चुनाव चिन्हबाट विजयी गुप्ता यो पटक एमालेमै प्रवेश गरे । आफ्नै बलवुताले चुनाव जित्न सक्ने बृजेशलाई एमालेजस्तो सर्वाधिक जनआधारित पार्टीले बोकेपछि उनले पनि जित हासिल गर्नसक्ने कुरामा शंका छैन ।
जहाँसम्म क्षेत्र नं. ३ को कुरा हो, मंगलप्रसाद गुप्ता उमेरले अलि वृद्ध छन् । शाह परिवारबाट अभिषेक प्रताप शाह उनका प्रतिस्पर्धी हुन् । स्थानीय निर्वाचनका हिसाबले उनकै पारिवारिक सदस्य कृष्णनगर नगरपालिकाको प्रमुख छन् । त्यस अर्थमा उनलाई अलि बढी चुनौती देखिन्छ । तथापि बिजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा रहेको एमालेको संगठन प्रभाव उनले जित्न सक्ने पहिलो आधार हो भने उनी स्वयंले नेकपा एमालेमा जे जति प्रवेश गराएका छन् त्यस आधारमा जित्न सक्ने दोस्रो आधार हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वहादुरगञ्जमा १० हजार मानिस पार्टी प्रवेश गरेको घोषणा गर्दा म स्वयं उपस्थित थिएँ । त्यतिबेलाको प्रवेश यदि साँचो हो भने चुनाव नजित्ने कुनै सम्भावना हुँदैन ।
यसबाहेक रजौरिया परिवारबाट राप्रपाका युवा उम्मेदवार प्रकाश रजौरियाले राम्रो भोट काट्ने छन् । जिल्लामा राम्रै व्यक्तित्वको रुपमा स्थापित प्रगतिशील जनता पार्टीका उम्मेदवार ईश्वरदयाल मिश्रले पनि परम्परागत भोट काट्ने सम्भावना छ । यी सबै पस्थितिले सधैँभरि चुनावमा उठेर पराजित हात पारेका गुप्तालाई सहानुभूतिको कारणले पनि जितको नजिक पु¥याएको पाइन्छ । लुम्बिनी प्रदेशमा विभिन्न पार्टीबाट एमालेमा आउनेको संख्या हेर्दा कपिलवस्तु पहिलो नम्वरमा आउँछ । यसरी हेर्दा कुनैबेला गणनामा नआउने कपिलवस्तु अहिले सरकार बनाउनका लागि महत्वपूर्ण सारथी बन्न सक्ने देखिन्छ । पूर्वी कपिलवस्तु त्यसै पनि सुरक्षित छ भने योपटक पश्चिम कपिलवस्तुबाटै सूर्य उदाउने पर्याप्त आधार तयार हुँदै गएका छन् ।