भ्रुण हत्या अन्त्यसम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम

मेचीकाली संवाददाता

९ मंसिर २०७९, शुक्रबार
259 shares

पार्वती आचार्य
कपिलवस्तु । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा १ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाको आयोजनामा लिंग पहिचान गरी भ्रुण हत्या अन्त्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरु र विभिन्न सरोकारवालाहरु बिच सचेतनामूलक अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेलले लिंग पहिचान गरी भ्रुण हत्या किन गरिन्छ भन्ने बिषयमा सहजीकरण गरेका थिए । । समाजमा पितृसतात्मक सोंचको कारण छोराको चाहनामा भ्रुणको पहिचान गरी छोरीलाई गर्भमा नै हत्या गर्ने परिपाटी रहेको बताए ।

पछिल्लो समयमा भ्रुण हत्याले गर्दा महिलाहरुको संख्या घट्दै गइरहेको छ जुन यस तथ्यांकले स्पष्ट देखाउँछ । सन् २०१९ को डाटाअनुसार २० बर्ष माथि उमेर समूहमा महिलाहरुको अनुपात बढी रहेको छ भने उमेर समूहमा १० देखि १९ बर्ष सम्मको अनुपातमा बराबर रहेको तथ्यांकले देखाउँछ । ९ बर्ष मुनिका उमेर समूहमा पुरुषको अनुपात बढी देखिएको छ । कानुनमा गर्भपतन गराउने अधिकार भएपनि लिंग पहिचान गरेपछि भु्रण हत्या गर्न पाउने कानुनी प्रावधान नभएको पौडेलले बताए ।
यसैगरी स्टाफनर्स दुर्गा पोख्रेलका अनुसार गर्भपतनको बिषयमा जानकारी दिँदै बिश्वभरिमा बर्षेनी ७३ लाख गर्भपतन भैरहेको छ भने नेपालमा सन् २०१४ मा ३ लाख २३ हजारले गर्भपतन गराएको तथ्यांक पाइएको बताइन् । नेपालमा मातृमृत्यु दर घटाउनका लागि सन् २००२ मा गर्भपतनलाई कानुनी प्रावधान दिएको थियो ।

सुरक्षित गर्भपनको बिषयमा ४४ प्रतिशत महिलाहरुलाई मात्र जानकारी रहेको हुँदा ४२ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा सुरक्षित गर्भपतन गराएको तथ्यांक रहेको बिषयमा पोख्रेलले सहजी करण गरेकी थिइन् । यसैगरी गर्भवती महिलाले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न पाउने कानुनी प्रावधान रहेको छ । जबर्जस्ती करणी, हाडनाता करणी र गर्भको कारणले आमा वा बच्चाको स्वास्थ्यमा कुनै किसिमको समस्या आउन सक्छ भने २८ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न सकिने कानुनी प्रावधान रहेको स्टाफनर्स पोख्रेलले जानकारी दिइन् ।

यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा शाखाका प्रमुख शुसिला पन्तले कुरीति, कुप्रथा र लैंगिक हिंसाको बिषयमा सहजी करण गरिन् । कार्यक्रममा सम्बन्धित सहजीकरण गरिएका बिषयहरुमा सहभागिहरुले आफूलाई लागेको जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नगरका महिला स्वास्थ्य स्वयंम सेविकाहरु, नागरिक समाजका अध्यक्ष डोलखबहादुर पछाई, इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य, बुद्धदर्पण राष्ट्रिय दैनिकका सम्पादक पार्वती पाण्डे, मेचीमहाकली संयुक्त बुहारी आवाजका चन्द्रा अर्याल, ओरेक नेपालका प्रतिनिधि पार्वती चौधरी, नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा १६ दिने लैगिंक हिंसाको पहिलो दिन उक्त कार्यक्रम गरिएको हो ।

बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका सहायक महिला विकास निरीक्षक भगवती आचार्यको स्वागत तथा शाखाका प्रमुख शुसिला पन्थको सञ्चालनमा सम्पन्न गरिएको सहायक महिला बिकास निरीक्षक हरिना गाहाले जानकारी दिइन् । १६ दिनसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र अन्तिम १० डिसेम्बरमा अभियानको समापन गरिने छ ।